+
+

‘झोलुङ्गे पुल त बन्यो पक्की पुल कहिले ?’  

रासस रासस
२०८० फागुन १२ गते २०:०१
कमला नदीको झोलुंगेपुल उद्घाटन कार्यक्रममा आएका सर्वसाधारण ।

१२ फागुन, जनकपुरधाम । धनुषा र सिरहा जोड्ने हुलाकी सडकअन्तर्गत कमला नदीमाथि मोटरेबल पुल निर्माण सुरु भएको १२ वर्ष बितिसक्दा पनि पूरा भएको छैन ।

तर सोही निर्माणाधीन पुल नजिकै नेपालकै सबैभन्दा लामो ‘कठाल मल्हनिया मल्टिस्पान’ झोलुङ्गे पुल सम्झौता अवधिभन्दा झण्डै छ महिनाअघि निर्माण पूरा भएको छ ।

धनुषाको जनकनन्दिनी गाउँपालिका-६ कठाल र सिरहा नगरपालिका-१३ मल्हनिया जोड्ने सो पुल निर्माण सक्नुपर्ने अवधि २०८१ साल असार ११ सम्म थियो ।

निर्माणको जिम्मा पाएको श्री सपना/उमा एण्ड कम्पनी र थानी जेभी बत्तिसपुतली काठमाडौँले समय अगावै अर्थात् गत माघ १८ गते नै पुल निर्माण पूरा गर्‍यो । सोही पुलको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शनिबार उद्घाटन गरे ।

त्यस अवसरमा प्रधानमन्त्री प्रचण्डलाई स्थानीय र जनप्रतिनिधिले अब कमला नदीमाथिको निर्माणाधीन मोटरेबल पुललाई छिटोभन्दा छिटो टुङ्ग्याउने गरी पहल गर्न आग्रह गरे ।

‘नदी तर्नका लागि त यो पुलले निकै सजिलो भएको छ तर मोटरगाडी नचल्ने भएकाले हाम्रा ठूला दुःख त बाँकी नै छन् । छिट्टै पुल निर्माण हुन्छ भन्ने आशा छ’, स्थानीय ८३ वर्षीय सत्यनारायण साहले भने ।

उनले नजिकैको पुल समय अगावै पूरा हुने र अर्को पुल १२ वर्षसम्म पनि पूरा नहुने भन्दै समस्या समाधान गर्न सरकारले ध्यान दिनुपर्नेमा जोड दिए ।

‘बजेट छैन भने सरकारले दिनुपर्‍यो । बजेट भएर पनि काम गरेको छैन भने ठेकेदारलाई छिटो गर्न भन्नुपर्‍यो’, उनले भने, ‘हामी झोलुङ्गे पुल बने पनि उताको दुःख कसरी बिर्सिन सक्छौँ ?’

स्थानीय राजुदेवी दासले पनि झोलुङ्गे पुलले केही राहत भए पनि वर्षौंदेखिको समस्याबाट मुक्तिका लागि उत्तम विकल्प मोटरेबल पुलको निर्माण नै भएको बताइन् । उनले प्रधानमन्त्री नै आएकाले अब मोटरेबल पुल चाँडो बन्ने आशा जागेको बताइन् ।

दासको जस्तै भनाइ छ स्थानीय सरस्वतीदेवी दासको पनि । कमला नदीमा पानी बढेकाबेला जोखिम मोलेर जानुभन्दा झोलुङ्गे पुलको प्रयोग गर्नु आफूहरूका लागि सुरक्षित भएको उनको भनाइ छ ।

‘यो पुल निर्माण भएकोमा सरकारलाई धन्यवाद छ । अब १२ वर्षसम्म बन्न नसकेको पुल पनि चाँडै बनोस भन्ने चाहना छ । प्रधानमन्त्री नै आउनुभएपछि केही आशा पलाएको छ’, उनले भनिन् ।

धनुषा निर्वाचन क्षेत्र नं २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य रामकृष्ण यादव र प्रदेश सरकारका भौतिक पूर्वाधार विकासमन्त्री कृष्णप्रसाद यादवले पनि प्रधानमन्त्री दाहाललाई हुलाकी सडकअन्तर्गतको मोटरेबल पुल चाँडो निर्माणका लागि पहल गर्न आग्रह गरे ।

पूर्वमन्त्री एवं प्रतिनिधिसभा सांसद यादवले हुलाकी सडकअन्तर्गत कमला नदीमाथि बनिरहेको पुल यथाशीघ्र निर्माणका लागि निर्देशन दिन आग्रह गरे ।

‘निर्माण सुरु भएको वर्षौसम्म पनि कमला नदीमाथि मोटरेबल पुल बन्न सकेको छैन । प्रधानमन्त्रीले त्यसबारे जानकारी लिइ तत्काल निर्माण सम्पन्न गर्न निर्देशन दिन आवश्यक छ । त्यसका लागि म ध्यानाकर्षण गराउन चाहन्छु’, उनले भने ।

मधेस प्रदेश सरकारका भौतिक पूर्वाधार विकासमन्त्री कृष्ण यादवले मधेशमा सडक, सिँचाइ र नदी कटान, शिक्षा र स्वास्थ्य क्षेत्रका समस्यालाई सम्बोधन गर्नेगरी आगामी आर्थिक वर्षमा पर्याप्त बजेट छुट्याउन प्रधानमन्त्रीको ध्यानाकर्षण गराए ।

प्रधानमन्त्री प्रचण्डले मधेशको विकास नभई मुलुक विकास नहुने भन्दै मधेसको विकासमा आफू निरन्तर लागिपर्ने प्रतिबद्धता जनाए । उनले हुलाकी सडकअन्तर्गत कमला नदीमा निर्माण भइरहेको मोटरेबल पुलको समस्या समाधान गर्न आफूले पहल गर्ने बताए ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?