+
+

घरेलु मैदानमा कमजोर ब्याटिङ

गोविन्दराज नेपाल गोविन्दराज नेपाल
२०८० फागुन १३ गते २०:१०

१३ फागुन, काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग २ मा गत वर्ष नेपालले चमत्कारिक प्रदर्शन गर्दै अन्तिम १२ मध्ये ११ खेल जितेर ओडीआई मान्यता जोगाउँदा ब्याटिङ मुख्य हतियार थियो । नेपालले हरेक खेलमा उकृष्ट ब्याटिङ गर्दै विपक्षीलाई माथ दिएको थियो ।

मुख्य प्रशिक्षक मोन्टी देसाईको आगमनपछि नेपालले एसोसिएट राष्ट्रसँग मात्र नभएर वानडे विश्वकप छनोट र एसिया कपमा भारत पाकिस्तानसँग पनि राम्रो ब्याटिङ गर्दै प्रशंसा बटुलेको थियो ।

तर लिग टु कै नयाँ चक्र घरेलु मैदानबाट सुरु हुँदा पहिलो सिरिजमा भने नेपालले ब्याटिङमै खराब प्रदर्शन गर्‍यो । जसले गर्दा घरेलु मैदानमा खेलेका चार मध्ये तीन खेलमा पराजित भयो । टस हारेर पहिला ब्याटिङको निम्तो पाएका तीनवटै खेलमा ब्याटिङ खराब रहेपछि नेपाल पराजित भयो ।

नेपाल आफ्नो पहिलो खेलमा नामिबियाविरुद्ध १३२ रनमा अल आउट भएको थियो । दोस्रो खेलमा नेदरल्याण्ड्सलाई हराउने क्रममा १३८ रनको लक्ष्य १५.२ ओभरमा भेट्टाएको थियो ।

तर तेस्रो खेलमा नामिबियाविरुद्ध १६८ रनमा अल आउट भएको नेपाल आज आइतबार नेदरल्याण्ड्सविरुद्ध ३ बल बाँकी छँदै १७२ रनमै अल आउट भयो । त्रिवि मैदान कीर्तिपुरमा १७३ रनको लक्ष्य नेदरल्याण्ड्सले ३७.५ ओभरमा २ विकेट गुमाएर भेट्टायो ।

नेपालका लागि ओपनर कुशल भुर्तेलले ६६ रन बनाउनु बाहेक अन्य ब्याटरले २५ रनको आँकडा समेत छुन सकेनन् । कुशलसँगै ओपनिङ्गमा आएका आसिफ शेख नेपालको स्कोर ४२ रन हुँदा व्यक्तिगत १७ रनमा आउट भएका थिए ।

‘हामीले जुन सुरुवात पाएको थियौं, त्यसमा राम्रो गर्न सक्थ्यौं,’ कप्तान रोहित पौडेलले खेलपछि लाइभ ब्रोडकास्टरसँगको कुराकानीमा भने, ‘सिरिजमा हामीले विशेषगरी ब्याटिङमा राम्रो गर्न सकेनौं ।’

नेपालको बलिङ युनिटले राम्रो गरे पनि १७३ रनको लक्ष्य पछ्याएको नेदारल्याण्ड्सले दोस्रो इनिङ्समा राम्रो प्रदर्शन गर्दै खेल जितेको रोहितले बताए ।

‘बलिङ युनिटले राम्रो गरेको थियो । विकेट राम्रो थियो । उनीहरुले राम्रो ब्याटिङ गरे । क्रेडिट नेदरल्याण्ड्सलाई पनि जान्छ,’  रोहितले भने ।

बिहानको समयमा कीर्तिपुरमा ब्याटिङका लागि कठिन देखिँदै आएको छ । त्यसैले सिरिजमा टस जित्ने टिमले पहिला फिल्डिङ रोजे भने ५ वटा खेल टस जित्ने टिमले नै जिते । नेदरल्याण्ड्ससँगको दोस्रो खेलमा टस हारेर पनि नामिबिया विजयी भएको थियो ।

दोस्रो इनिङ्समा त्रिवि मैदानमा ब्याटिङ गर्न केही सहज हुँदा डच टोलीले आजको खेलमा आरामले लक्ष्य पूरा गरेको थियो । उसका लागि विक्रमजित सिंह र साएब्रान्ड एंगलब्रेक्टले अविजित १०२ रनको साझेदारी गरे । प्लेअर अफ दि म्याच विक्रमजितले ९२ बल खेल्दै ७ चौका मद्दतमा अविजित रहँदै सर्वाधिक ५६ रन बनाए । एंगलब्रेक्टले ७५ बल खेल्दै ३ चौका मदतमा अविजित ४६ रन बनाए ।

नेपालले २४० रन बनाएको भए चूनौती बन्न सक्ने रोहितले बताए । ‘पहिलो इनिङ्समा २३०-२४० रन बनाएको भए चुनौतीपूर्ण स्कोर हुन सक्थ्यो । दोस्रो इनिङ्सको विकेट हेर्दा २४० रन गुड स्कोर थियो ।’

घरेलु मैदानको हारले दुखी

नेपालका मुख्य प्रशिक्षक मोन्टी देसाईले घरेलु मैदानमा हार्दा दु:ख लागेको बताए । कप्तान रोहितकै भनाइमा सहमति जनाउँदै प्रशिक्षक देसाईले नेपालले एउटै खेल खेलेको बताए । ‘हामीले एउटै खेल खेल्यौं । मैले कप्तानले भनेको पनि सुनें । उनले हामीले गल्तीबाट सिक्नुपर्छ र हामीले उही गल्ती गर्नुहुन्न भनेको थिए,’ देसाईले भने, ‘क्षमतावान टिमसँग च्यालेन्जिङ सिचुएसनमा खेल्दा फाइट गर्नुपर्छ र ब्यटिङमा स्टे गर्नुपर्छ ।’

नेपालले चार खेलबाट धेरै कुरा सिकेको भन्दै देसाईँले खेलाडीले पनि ब्याटिङको कला सिक्नुपर्ने बताए । ‘हाम्रो खेलाडीले धेरै अनुभव लिएका छन् र त्यो खेलबाट उनीहरुले ब्याटिङ कला पनि सिक्नुपर्छ ।’

प्रशिक्षक देसाईले लिग २ को चक्र चुनौतीपूर्ण भएको पनि बताए । ८ टिम सम्मिलित लिग २ को यो चक्र सन् २०२६ को डिसेम्बरमा सकिने छ ।

सन्तुष्ट हुन नसक्ने प्रदर्शन र नतिजा

घरेलु मैदानबाटै लिग २ को नयाँ चक्र सुरु हुनुअघि कप्तान रोहितले नै नेपालको लक्ष्य एसोसिएटमा नम्बर वान बन्ने रहेको बताएका थिए । साथै उनले लिग २ चुनौतीपूर्ण हुने पनि बताएका थिए ।

प्रधानमन्त्री कपको प्रदर्शन र क्यानडा विरुद्धको तीन खेलको ओडीआई सिरिजको प्रदर्शनबाट नेपाली टोली उत्साहित थियो । त्यसकै आधारमा कप्तान रोहितले पनि नयाँ लक्ष्य सुनाएका थिए ।

तर लिग २ को पहिलो सिरिजमै नेपालको प्रदर्शन राम्रो हुन सकेन र नतिजा पनि राम्रो रहेन । नेपालले चार मध्ये एकै खेल मात्र जित्यो । त्यो पनि टस जितेको खेल थियो । टस हारेको तीनै खेलमा नेपाल पराजित भयो । नेपालले कुनै पनि खेलमा २०० स्कोर छुन सकेन । नेदरल्याण्ड्स विरुद्ध अन्तिम खेलमा बनाएको १७२ रन नै नेपालको उच्च स्कोर रह्यो ।

कप्तान रोहितले पनि यस सिरिजबाट सन्तुष्ट हुन नसकेको बताए । ‘हाम्रो सिरिजको सुरुवात बेटर हुन सक्थ्यो । हामी यो सिरिजमा यसबाट (यो नतिजाबाट) सन्तुष्ट छैनौं ।’

ब्याटिङ अर्डरमा फेरबदल

नेपालले चार खेल खेल्दा ओपनिङ र तेस्रो स्थानबाहेक ब्याटिङ अर्डरमा परिवर्तन गरिरह्यो । लिग टु अघि क्यानडा विरुद्धको सिरिजमा राम्रो प्रदर्शन गर्दै शतक समेत हानेका अनिल शाहले तेस्रो स्थान लिँदा त्यसपछिको अर्डरमा एकरुपता हुन सकेन । जसले गर्दा नेपाली ब्याटरको प्रदर्शन राम्रो भएन र टिममा पनि त्यसको असर देखियो ।

यसमा कप्तान रोहितले भने गत वर्ष नेपालको ब्याटिङले नै सफलता दिएको  र त्यसैलाई अहिले फलो गरेको बताए । तर प्रदर्शनमा भने त्यो दोहोर्‍याउन सकेन । ‘मेरो विचारमा गत वर्ष हामीले सफलता पाउँदा ब्याटिङमा फ्लेक्जिबिलिटी (लचकता) मुख्य कारण थियो । हामीले धेरै परिवर्तन खोजेको त होइन । तर सिचुएसनले माग गरे अनुसार लेफ्टी चाहिएको भएर लेफ्टी (कुशल मल्ल)पाएको हो,’  रोहितले नेदरल्याण्ड्स विरुद्ध कुशल मल्ललाई चौथो नम्बरमा पठाउनुको कारण बताए ।

उनले थपे, ‘फ्लेक्जिबिटी लास्ट इअरको फलो गरेको हो । तर ब्याटरको रुपमा हामीले स्टेप अफ गर्न सकेनौं। हामी त्यो क्षेत्रमा सुधार गर्नुपर्छ । ब्याटिङ युनिटले स्टेप अफ गर्नुपर्छ ।’

निरन्तर ब्याटिङ अर्डर परिवर्तन हुँदा कप्तान रोहितको प्रदर्शन पनि यसपटक निकै खराब रह्यो । ब्याटिङ गरेको तीन इनिङ्स मध्ये उनले नेदरल्याण्ड्स विरुद्धको अन्तिम खेलमा मात्र दोहोरो अंकमा (१६) रन बनाए । नामिबिया विरुद्ध उनी १ रन र शुन्यमा आउट भए । नेदरल्याण्ड्स विरुद्ध जितमा उनले ब्याटिङ गर्नु परेन ।

रोहितले नामिबिया विरुद्ध पहिलो खेलमा चौथो नम्बरमा ब्याटिङ गरेका थिए । त्यसपछि नामिबया विरुद्ध अर्को खेलमा छैटौं नम्बरमा ब्याटिङ गरेका उनी नेदरल्याण्ड्स विरुद्ध अन्तिम खेलमा पाँचौ नम्बरमा आए ।

कुशल मल्लले पहिलो खेलमा नामिबिया विरुद्ध छैटौं नम्बरमा ब्याटिङ गरेका थिए । त्यसपछि नामिबिया विरुद्ध पाँचौमा ब्याटिङ गरेका उनले अन्तिम खेलमा अझै माथि चौथो नम्बरमा ब्याटिङ गरे ।

यसबाहेक चारै खेलमा खेलेका भीम सार्कीले पहिलो खेलमा पाँचौ नम्बरमा ब्याटिङ गरेका थिए । दोस्रो खेलमा उनले पनि ब्याटिङ गर्नुपरेन भने त्यसपछिका दुई खेलमा सातौं नम्बरमा ब्याटिङ गरे ।

विदेशी लिग खेल्न दुबई गएका कारण पहिलो खेल गुमाएका दीपेन्द्र सिंह ऐरीले अन्तिम दुई खेलमा आठौं र छैटौं नम्बरमा ब्याटिङ गरे ।

अन्तिम खेलमा मात्र अवसर पाएका आरिफ शेखले आठौं नम्बरमा ब्याटिङ गरे । नामिबिया विरुद्धको दोस्रो खेलमा खेल्ने अवसर पाएका देव खनालले चौथो नम्बरमा ब्याटिङ गरेका थिए । नेदरल्याण्ड्स विरुद्धको जितमा टिममा रहेका देवले ब्याटिङ गर्नुपरेको थिएन ।

लेखकको बारेमा
गोविन्दराज नेपाल

नेपाल अनलाइनखबर डटकमका खेलकुद संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?