+
+
टी–२० सिरिज :

दबाबमा खेल्न नेपाललाई सधैं सकस

भुपेन्द्र जि.सी. भुपेन्द्र जि.सी.
२०८० फागुन २२ गते २२:२९

२२ फागुन, काठमाडौं । घरेलु टोली नेपालले त्रिकोणात्मक टी–२० सिरिजको उपाधि नेदरल्याण्ड्सलाई सुम्पिएको छ ।

सुरुवाती दुई खेल गुमाएको नेपाल लगातार दुई जित निकालेर फाइनलमा पुगेको थियो तर क्षमताअनुसार प्रदर्शन गर्न नसक्ने समस्या दोहोरिँदा उपाधि जित्न सकेन ।

त्रिवि क्रिकेट मैदानमा टस जित्ने टिमले पहिला बलिङ रोज्ने गर्छ । तर मंगलबार नेपालले टस जितेर पनि ब्याटिङ रोज्यो । कप्तान रोहित पौडेलका अनुसार विकेट राम्रो थियो र, कम्तीमा २०० रन बनाएर नेदरल्याण्ड्सलाई दबावमा राख्ने रणनीतिका साथ पहिला ब्याटिङ गर्ने सामूहिक निर्णय भयो ।

सुरुवात राम्रै थियो । चौथो ओभरमा गुग्टेनको बलमा ल्याप सट खेल्ने क्रममा कुशल भुर्तेल २० रनमा बोल्ड हुन पुगे, जतिबेला नेपालको स्कोर २३ रन थियो । त्यसपछि रोहित र आसिफ शेखले इनिङ उकास्दा ९ ओभरमा ८२–१ को अवस्थामा पुग्यो । माइकल लेभिटको १० औं ओभरको दोस्रो बलमा स्कुप खेल्न खोज्दा रोहित २५ रनमा विकेटकिपर स्कटबाट समातिन पुगे ।

१२ औं ओभरमा गुल्सन झाले शरिज अहमदलाई दुई छक्का हाने । १४ औं ओभरको चौथो बलमा आसिफ शेख लेभिटको बलमा ४७ रनमा एलबीडब्लू आउट भए । अर्को ओभरमा गुग्टेनले दीपेन्द्रलाई १ रनमा एलबीडब्लू आउट गरेपछि नेपाल दबाबमा पर्‍यो ।

१६औं ओभरमा साइब्रान्ड एंगेलब्रेक्टले मात्रै चार रन खर्चिए । उनी पार्टटाइम स्पिनर भएपनि नेपालले फाइदा लिन सकेन । १७ औं ओभरमा लेभिटलाई कुशल मल्लले लगातार तीन छक्का हाने । तर अर्को ओभरमा कुशल मल्ल क्याच आउट भए ।

ओभरको अन्तिम बलमा करण केसी आउट भए । १९ औं ओभरको पहिलो र दोस्रो बलमा फर्द क्लासेनले गुल्सन झा र आरिफ शेखको विकेट लिए । अन्तिम ओभरमा १० रन जोडेपछि नेपालले २० ओभरमा १८४ रन मात्र बनाउन सक्यो ।

जबकी नेपाली ब्याटरले मध्यक्रममा खुलेर खेल्न सकेको भए २०० रन सजिलै बनाउन सक्थे ।

१८५ रनको लक्ष्य पछ्याएको नेदरल्याड्सले भने सोचे जस्तो सुरुवात गर्‍यो । पहिलो बलमै लेभिटले करण केसीलाई डिप मिडविकेटमा छक्का हानेका थिए ।

उनले पहिलो विकेटका लागि म्याक्स ओडाउडसँग ८ ओभरमा ८३ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाए । करण केसी, प्रतिश जीसी, दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी र अविनाश बोहराले बलिङ गरेपनि विकेट लिन सकेनन् । नवौं ओभरमा कुशल मल्लले दुबै ओपनरलाई आउट गर्दै झिनो आशा देखाए ।

११औं ओभरमा देब्रेहाते ब्याट्सम्यान क्रिजमा रहेका बेला कुशल मल्ललाई बलिङ गराउने नेपालको निर्णय गलत साबित भयो । रोहितका अनुसार आफ्नो अघिल्लो ओभरमा कुशलले राम्रो गरेका थिए । तर यो ओभरमा उनले त्यसरी बलिङ गर्न सकेनन्, क्याच पनि छुट्यो । त्यसको फाइदा उठाएका बिक्रमजितको तीन छक्काको मद्दतमा नेदरल्याण्ड्सले २० रन जोड्यो ।

१६औं र १७औं ओभरमा विकेट गुमाएको नेदरल्याण्ड्सलाई अन्तिम ३ ओभरमा ४० रन चाहियो । १७ औं ओभरमा दीपेन्द्रले मात्र ४ रन दिएपछि खेलमा नेपालको सम्भावना देखिएको थियो । तर १८ औं ओभरमा अविनाश बोहरालाई साइब्रान्डले कुल २१ रन प्रहार गरेपछि खेल नेदरल्यान्ड्सको पक्षमा मोडिएको थियो ।

आजको खेलका डेथ ओभरमा योजनाअनुसार बलिङ हुन नसकेको कप्तान रोहितले स्वीकार गरे । डेभ ओभरमा बलिङ गर्नु सहज नभएको भन्दै उनले अगाडि भनेका छन्, ‘अविनाश दाइमाथि भरोसा छ, आउने खेलहरुमा राम्रो गर्नु हुन्छ ।’

विश्वकप अघि देखिएको कमजोरी

नेपाल आगामी जुनमा अमेरिका र वेस्टइन्डिजमा हुने टी–२० विश्वकपको तयारीमा छ । विश्वकपमा समूह डीमा परेको नेपालले दक्षिण अफ्रिकासँगै बंगलादेश, श्रीलंका र नेदरल्यान्ड्ससँग खेल्नुपर्ने छ ।

समूहमा रहेका दक्षिण अफ्रिकासँगै बंगलादेश, श्रीलंका टेष्ट मान्यता प्राप्त देश हुन् । नेदरल्यान्ड्स एसोसिएटको बलियो टोली हो । अक्टोबर नोभेम्बरमा भारतमा सम्पन्न एकदिवसीय विश्वकपमा दक्षिण अफ्रिका र बंगलादेशलाई स्तब्ध पार्दै सनसनी मच्चाएको थियो ।

त्यसैले विश्वकपमा जित सहज छैन । त्यसलाई बुझेको नेपालले लिग टू खेल्न आएको नेदरल्याण्ड््स र नामिबियासँग घरेलु मैदानमा टी–२० आई सिरिज खेल्यो ।

नेदरल्याण्ड्ससँग पहिलो भेटमा २ रनले चुकेको नेपालले दोस्रो भेटमा ६ विकेटको शानदार जित निकालेको थियो । तर फाइनलमा नेपाल ४ विकेटले पराजित हुन पुग्यो ।

प्रमुख अलराउन्डर बास डि लिडे, तीव्र गतिका बलर पाउल भान मिर्केन, लोगन भान बिक, ब्याटर कोलिन एकरम्यान र टम कुपर विना नै नेदरल्याण्ड्सले नेपाललाई घरेलु मैदान र दर्शक सामू हराउँदै उपाधि जित्यो ।

नेपालले टी–२० सिरिजमा खेलेको ५ मध्ये दुई खेल जित्यो भने ३ वटामा हार व्यहोरेको छ । प्लेइङ ११ मा लगातार भएको परिर्वतनले पनि नजिता नेपालको पक्षमा नआएको देखिन्छ । यद्यपि टी–२० विश्वकपमा पुग्दासम्म नेपालको उत्कृष्ट टिम बनोस् भन्ने उद्देश्यका साथ गरिएको प्रयोगलाई अन्यथा भन्न मिल्दैन ।

तर एक–दुई विकेट गएपछि रनको गति रोकिनु, डेथ र पावर प्लेमा ओभरमा खराब बलिङ गर्नु नेपाली टोलीका समस्याका रुपमा पहिचान भएका छन् ।

प्रशिक्षक मोन्टी दशाईले पनि दबाबमा आफ्नो क्षमताअनुसार खेल्न नसक्नु कमजोरी भएको बताए । ‘ब्याटिङ होस् वा बलिङ, वान बल ब्याटलमा कसरी प्रस्तुत हुन्छ ? र, दबाबमा आफ्नो क्षमतालाई कसरी उपयोग गर्छ भन्ने हो’ उनले भने, ‘दबाबमा आप्mनो क्षमतामा उपयेग गर्ने कुरामा हामीले सुधार गर्नुपर्छ ।’

नेपालले छिट्टै हङकङ टूर गर्दैछ भने आयरल्याण्ड एलाई पनि नेपाल बोलाएर टी–२० सिरिज खेल्नेछ । यसको अनुभवले खेलाडीहरुलाई अझ निखार्ने उनको विश्वास छ । ‘हाम्रो टिमको लागि यो एउटा अवसर पनि हो’ उनले भने ।

लेखकको बारेमा
भुपेन्द्र जि.सी.

जिसी अनलाइनखबरको खेलकुद ब्युरोमा कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?