+
+

कलाकार छिरिङ शेर्पालाई राष्ट्रपतिले दिए गिनिज वर्ल्ड रेकर्डको प्रमाणपत्र

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन १४ गते १६:१९

काठमाडौं । सर्वाधिक उचाइमा नाचेर विश्व कीर्तिमान रचेका डान्सर छिरिङ शेर्पा र जेडी तमुले राष्ट्रपति रामचन्द्र पौडेलबाट गिनिज विश्व कीर्तिमानको प्रमाणपत्र ग्रहण गरेका छन् ।

उनीहरुले सन् २०२२ को नोभेम्बर १७ मा ५ हजार २७८ मिटरको सोलुखुम्बुस्थित कालापत्थर पुगेर नाचेका थिए । उनीहरुले ‘द हाइएस्ट अल्टिच्युड कोरियोग्राफ्ड डान्स अन ल्याण्ड पेयर’ विधामा रेकर्ड राखेका हुन् ।

राष्ट्रपति पौडेलले छिरिङलाई प्रमाणपत्र हस्तान्तरण गर्दै बधाई दिए । सो अवसरमा राष्ट्रपतिले सगरमाथा आरोहणको क्रममा रहेकी शेर्पालाई बधाई समेत दिए । आगामी अप्रिल-मेमा उनले हिमाल आरोहणको तयारी गरेकी छन् ।

‘यो सम्मानले मेरो एउटा सपना पूरा भएको छ,’ छिरिङले भनिन् । साथै, हिमाल आरोहणका क्रममा ज्यान गुमाएका शेर्पा आरोहीप्रति समर्पित गर्दै आफूले आरोहण गर्न लागेको उनले बताइन् ।

‘हिमाल आरोहणका क्रममा शेर्पा समुदायका धेरै व्यक्तिले ज्यान गुमाउनु परेको छ । उनीहरुले राज्यको तर्फबाट केही राहत पनि पाउन सकेका छैनन् । आर्थिक अवस्था नाजुक बन्दै गएको छ । त्यसकारण उनीहरुको आवाजलाई बुलन्द पार्नका लागि सगरमाथा आरोहण गर्न लागेकी हुँ,’ उनले भनिन् ।

छिरिङले पासाङ ल्हामु फाउण्डेसनबाट आरोहणसम्बन्धी तालिम लिएकी हुन् । एट्के एक्सिपिडिसन आरोही दलबाट उनले ‘माइ भ्वाइस फर शेर्पा क्लाइम्बर्स’ नारासहित सगरमाथा आरोहण गर्न लागेकी हुन् ।

दर्जन म्युजिक भिडियोमा समेत अभिनय गरिसकेकी छिरिङ शेर्पा समुदायकी पहिलो अभिनेत्री पनि हुन् । शेर्पा फिल्म ‘तिन्छेन फामा’मा अभिनय गरेकी उनले फिल्म ‘कार्साङ’मार्फत नेपाली रजतपटमा डेब्यु गर्दैछिन् । टेलिभिजन रियालिटी शो ‘डान्सिङ स्टार नेपाल सिजन २’ को विजेतासमेत रहेकी छिरिङसँग शेर्पा समुदायको सौन्दर्य प्रतियोगिता आयोजनाको अनुभव पनि छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?