+
+

राजेन्द्र महतोले लोसपा त्यागेर घोषणा गरे राष्ट्रिय मुक्ति क्रान्ति

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन १४ गते २०:१५

१४ फागुन, काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा)का वरिष्ठ नेता राजेन्द्र महतोले पार्टी परित्याग गरी राष्ट्रिय मुक्ति क्रान्ति अभियान सञ्चालन गर्ने घोषणा गरेका छन् ।

दुई वर्षअघि उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालबाट अलग भएर महन्थ ठाकुरसहितका नेतासँग मिलेर गठन गरेको लोसपाबाट महतो अलग भएका हुन् ।

लोसपाका अध्यक्ष ठाकुरले पार्टीलाई क्रियाशील बनाउन नसकेको र पार्टीलाई मनोमानी ढंगले सञ्चालन गरेको भन्दै महतो असन्तुष्ट थिए ।

यसअघि बहुमत पुर्‍याएर विधिवत् रुपमा पार्टी विभाजन गर्ने तयारीमा रहेका महतोले अन्ततः महासचिव केशव झालगायत नेताहरूलाई साथमा लिएर ‘राष्ट्रिय मुक्ति क्रान्ति’ को घोषणा गरेका हुन् ।

गत ५ माघमा नै अभियानको घोषणा गर्ने मनस्थिति बनाएका महतोले एक महिना ढिलो गरी पार्टीबाट अलग भएको घोषणा गरेका उनी निकट नेताहरूको भनाइ छ ।

महतोले गजेन्द्रनारायण सिंहले स्थापना गरेको नेपाल सद्भावना पार्टीबाट राजनीति सुरु गरेका थिए । त्यसपछि आफ्नै नेतृत्वमा सद्भावना पार्टी गठन गरेका उनले केही समयपछि विभिन्न मधेशकेन्द्रित दलसँग मिलेर राष्ट्रिय जनता पार्टी गठन गरेका थिए । उक्त पार्टीमा पनि ठाकुर र महतोबीच निरन्तर शक्ति संघर्ष भइरहेको थियो ।

अध्यक्ष मण्डलको प्रणालीबाट सञ्चालन भए पनि ठाकुर र महतोबीच निरन्तर विवाद उत्पन्न भएको थियो । त्यसपछि उपेन्द्र यादव नेतृत्वको समाजवादी पार्टीसँग एकीकरण गरेर जनता समाजवादी पार्टी बनाएका महतो र ठाकुरले दुई वर्षअघि लोसपा गठन गरेका थिए । पार्टी गठन भएदेखि नै निरन्तर विवाद भइरहेको लोसपामा महतोले गत २४ मंसिरमा सम्पन्न केन्द्रीय समिति बैठक नै बहिस्कार गरेका थिए ।

अब के गर्छन् महतो ?

सोमबार पार्टी परित्यागको घोषणा गरेका महतोले आदिवासी जनजातिको अधिकारका लागि वकालत गर्ने बुद्धछिरिङ मोक्तानसँग ‘राष्ट्रिय मुक्ति क्रान्ति’ नामक अभियान घोषणा गरेका छन् । अभियानमार्फत वैकल्पिक शक्ति निर्माण गर्ने भन्दै उनले बहुल राष्ट्रिय राज्य स्थापनाको एजेण्डामा सहमत भएका जोसुकै यसमा जोडिन सक्ने बताए ।

‘यो अभियान हो, यसले पार्टीको रुप ग्रहण गरिसकेको छैन’ सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा महतोले भने, ‘यससँग विचार मिल्ने जो सुकै जोडिनसक्छन् । मेरो पूर्व पार्टी लोसपालाई पनि मैले आह्वान गरिसकेँ । लोसपा पनि आओस् यो अभियानमा ।’

महतोले ‘कुनै पार्टी वा दलबाट राष्ट्रिय मुक्ति क्रान्ति सम्भव नभएको’ भन्दै बहुल राष्ट्रिय राज्यमा कांग्रेस, माओवादी, जसपा, लोसपालगायत सबै दल र तिनका नेता पनि सहभागी हुनसक्ने बताएका छन् ।

‘मेरो पूर्व पार्टी लोसपालाई पनि मैले आह्वान गरिसकेँ । त्यो लोसपा आओस् यो अभियानमा’, उनले भने, ‘राष्ट्रिय मुक्ति क्रान्तिका लागि अभियान, संघर्षका लागि एउटा सशक्त संगठनले पैदा गर्छ । त्यो शक्तिले यो मुलुकमा राष्ट्रिय मुक्ति क्रान्ति गर्छ ।’

उनले सञ्चालन हुने क्रान्तिले नै नयाँ पार्टीको नाम निर्धारण गर्ने बताए ।

अहिलेसम्म फुटाउ र राज गरको नीति अन्तर्गत आफूमाथि शासन भएको भन्दै उनले अब विद्रोह गर्ने बताए ।

‘यो डिभाइड एन्ड रुलको अर्थ हामीले बुझिसक्यौँ । हामी तीस वर्षसम्म लडिरह्यौँ । शासकले गोली ताकेर हानिरह्यो । हामीले बुझिसक्यौँ’, उनले भने, ‘सबै आन्दोलन यो स्वदेशवादमा समाहित हुने हो । बहुल राष्ट्रिय राज्य निर्माणका लागि सबै आउँछन् । मधेसवाद, थरुहट र सबै जनजातिवाद एक ठाउँमा आउँछन् ।’

उनले नेपालमा अहिलेसम्म पूँजीवाद र साम्यवादले काम नगरेको बताए ।

‘यो गोर्खाली औपनिवेशिक सत्ता काम लागेन । क्यापिटालिज्म र कम्युनिज्म सबै काम लागेनन् । त्यो विचारबाट दुनियाँ नै नष्ट भइसक्यो’, उनले भने ।

उनले बाह्य शक्तिले हस्तक्षेप गरेको भन्दै आफ्नै पहिचान सहितको सभ्यता निर्माण गर्ने बताए ।

‘यो पूर्वीय सभ्यताको धर्ती हो । पश्चिमी सभ्यताबाट हस्तक्षेप भइरहेको छ । औपनिवेशिक सबै शासक भए, तर जनताले न्याय पाएनन्’, उनले भने, ‘हामीले हाम्रो संस्कृति र पहिचानको रक्षा गर्नुपर्छ ।’

उनले परम्परागत सोचबाट पार्टी नचल्ने भन्दै अभियान घोषणा गर्नु देशको आवश्यकता भएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?