+
+

लमजुङको ऐतिहासिक इलामपोखरी क्षेत्रलाई व्यवस्थित बनाइने

रासस रासस
२०८० फागुन १५ गते १७:४४

१५ फागुन, लमजुङ । लमजुङको दूधपोखरी गाउँपालिका-३ को ठूलो काभ्रे र दोर्दी गाउँपालिका-५ पाँचोकको बीचमा रहेको  इलामपोखरी क्षेत्रलाई व्यवस्थित गरिने भएको छ । यी दुई पालिकाको सिमानामा पर्ने यस ऐतिहासिक एवं धार्मिक सो क्षेत्रलाई व्यवस्थित गर्नाका साथै  विभिन्न संरचना पनि निर्माण गरिने भएको हो ।

दुवै गाउँपालिकाले संयुक्त बैठक बसी इलामपोखरी क्षेत्रलाई व्यवस्थित बनाइने, सातकन्यादेवी मन्दिर पुनःनिर्माण गरिने, बाइसे तथा चौबिसे राज्यकालको इलामपोखरी गढीलगायते विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) तयार गरिएको छ ।

दुवै गाउँपालिकाले रु दुई-दुई लाखको लागतबाट डिपीआरको काम सुरु गर्न लागेको दूधपोखरी गाउँपालिका उपाध्यक्ष क्षेत्रबहादुर गुरुङले बताए ।

उनले इलामपोखरी ताल लेदो माटोले पुरिँदै गएको र सातकन्यदेवी मन्दिरमा विसं २०७२ बैशाखमा आएको भूकम्पले क्षति बनाएकाले उक्त मन्दिर पुनःनिर्माण गरेर पिकनिङ स्थल, शौचालय, खानेपानीलगायत संरचना निर्माण गरिने जानकारी दिए ।

उपाध्यक्ष गुरुङका अनुसार उक्त गढीको नजिकै एउटा स्तूपा बनाइने, इलामपोखरीदेखी माथि जोर्नीगाउँसम्म पदमार्ग निर्माण गरिने भएको छ । सातकन्यादेवी मन्दिर विसं २०६५ मा सङ्घीय सरकारको रु पाँच लाख बजेटबाट मर्मत गरिए पनि भूकम्पले उक्त मन्दिरको भित्ता छियाछिया बनाइदिएकाले पुनःनिर्माण गर्न लागिएको छ ।

डिपीआरबाट लाग्ने बजेट अनुमान गरी  गण्डकी प्रदेश सरकार र सङ्घीय सरकारसँग बजेट माग गरेर काम अघि बढाउने योजना छ । पौराणिककालको उक्त मन्दिरमा पूजा गरे मनोकामना पूरा हुने विश्वास गरिन्छ ।

त्यस्तै, समन्द्री सतहदेखि दुई हजार दुई सय ६० मिटर उचाइको इलामपोखरी ताल पर्यटकीयस्थल हो । इलमपोखरीमा साउन महिनाबाहेक अन्य महिनामा बलि चढाउने गरिन्छ ।

यहाँबाट सूर्योदय र सूर्यास्तदेखि नाका साथै विभिन्न हिमाल पनि देख्न सकिन्छ । यहीँबाट दूधपोखरी कुण्ड जानुपर्छ । बिचौरका दवाडी र न्यौपानेहरुले यहाँ धानको बीउ राख्नुअघि मङ्सिरमा धान काट्नुभन्दा अघि एकचोटि दूधको धारा लगाइएपछि मात्र धान काट्ने गर्दै आएकोे गाउँपालिकाले जनाएको छ । चैतशुक्ल पूर्णिमामा यहाँ ठूलो मेला लाग्ने गर्दछ ।

त्यस्तै, हरिबोधनी एकादशीमा त्यहाँका झाँक्रीले फूलमाला चढाउने गर्दछन् । यसअघि अघिल्लो वर्ष सो क्षेत्रमा गण्डकी प्रदेश सरकारले रु चार लाख खर्च गरेर त्यहाँ पुग्नेका लागि बस्न मिल्ने ठाउँ निर्माण गरेको थियो ।

उक्त स्थल वरिपरि जङ्गल मात्र छ । सो स्थलबाट मानव बस्ती पुग्न करिब २० मिनेट लाग्ने लाग्छ । दोर्दी गाउँपालिका अध्यक्ष युवराज अधिकारीले यस ऐतिहासिक र धार्मिकस्थलको संरक्षण हुनाका साथै पर्यटक प्रवद्र्धन हुने अपेक्षाका साथ उक्त संरचना निर्माणमा दुवै गाउँपालिका लागेको बताए ।

सोमबार अन्तरपालिका साझेदारीअन्तर्गत दोर्दी गाउँपालिका अध्यक्ष युवराज अधिकारी, उपाध्यक्ष बिच्छबहादुर घले, दूधपोखरी गाउँपालिका अध्यक्ष धनप्रसाद गुरुङ, उपाध्यक्ष क्षेत्रबहादुर गुरुङ, दोर्दीका प्रमुख प्रशासकीय अधिकृत हेमराज काफ्ले, सबइन्जिनियर विश्वास पाण्डे, दोर्दी-५ का वडाध्यक्ष कुमराज गुरुङ, दूधपोखरी-३ का वडाध्यक्ष श्याम गुरुङलगायत टोली उक्त स्थलमा पुगी अवलोकन गर्नाका साथै डिपीआरका लागि बैठक बसेको थियो ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?