+
+

फिल्मको भिलेन आफ्ना लागि हिरो नै हो : प्रमोद अग्रहरी

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन १६ गते १२:४६

काठमाडौं । प्रदर्शन तयारीमा रहेको फिल्म ‘अगस्त्य’को रोचक पक्ष के हो भने यो फिल्ममा खलपात्र बलिया छन् । भनिन्छ, जुन फिल्ममा भिलेन पात्र सशक्त हुन्छन्, त्यो फिल्मको पटकथा अवश्य नै रोचक हुन्छ ।

सौरभ चौधरी निर्देशित यो एक्सन-थ्रिलर फिल्ममा प्रमोद अग्रहरी ‘त्रिपाठी’ नामक खलपात्रको रोलमा छन् । ट्रेलरसहितका प्रिभ्यु भिडियोमा उनको रोल दमदार देखिन्छ । अग्रहरी पछिल्लो समयका फिल्ममा खलपात्रको रोल गर्ने व्यस्त अभिनेता हुन् ।

ट्रेलरमा उनी भन्छन्, ‘म आज स्वयम्, म अन्त्य स्वयम्, जनम हुँ म, मरण स्वयम्, निर्माता हुँ, संघार स्वयम् ।’ यो संवादलाई लिएर सामाजिक सञ्जालमा मिम पनि बनेको देख्न सकिन्छ ।

अग्रहरीले फिल्ममा आफ्नो पात्र ‘त्रिपाठी’ बाहुबली चरित्रजस्तै रहेको बताए । भन्छन्, ‘सबै कुरा उसकै मातहतमा छ । उसको आफ्नै सञ्जाल छ र उसको ईशारा बिना समाजको केही कुरा पनि वरपर चल्दैन । ऊ बाहुबलीजस्तै छ ।’

‘मैले गरेका कतिपय क्यारेक्टर आफ्ना लागि दमदार लाग्छन् । फरक चाहिं त्यो क्यारेक्टर कसरी बाँचिरहेको छ भन्ने मात्र हो । किनकि हरेक फिल्ममा मेरो चरित्र फरक परिवेश र फरक शैलीको हुन्छ,’ उनले आफ्नो चरित्र चित्रणबारे भने ।

ट्रेलर हेर्दा लाग्छ, ‘अगस्त्य’ बदलाको कथामा आधारित छ । कथावस्तु खुलाइएको त छैन तर अनुमान लगाउन सकिन्छ । अग्रहरीले यो कथा आफूले भारतमा देखेको बताए । ‘मैले त्यो देखेको क्यारेक्टरलाई मात्र फिल्ममा उतारेको हुँ । पहिरन, लुक्स उनीहरुबाटै लिएको हो,’ उनले भने ।

अभिनेताका लागि पात्रमा तयार हुनु महत्वपूर्ण कुरा हो । यो चरित्रका लागि आफूले शारिरिक र मानसिक रुपमा तयारी गरेको अग्रहरी सुनाउँछन् । ‘सबैभन्दा पावरफुल त आन्तरिक रुपमा के चलिरहेको छ भन्ने हो नि । जुन एउटा क्यारेक्टरका लागि महत्वपूर्ण हुन्छ । आँखाले देखेका कुरालाई कसरी प्रस्तुत गर्ने भन्ने अर्को तयारी नै हो,’ नाट्य पृष्ठभूमिका अभिनेताले भने ।

आफूले दर्शाउने चरित्र दर्शकसँग जोडिने कुरामा उनी ढुक्क छन् । ‘ट्रेलर हेर्दै मेरो संवादले धेरैलाई छोइसकेको छ । सामाजिक सञ्जालमा आएका प्रतिक्रियाले मलाई त्यो कुराको संकेत दिइसकेको छ । दर्शकले मेरो क्यारेक्टरको बारेमा कुरा गरिरहनुभएको मैले सुनेको छु । किनभने हामीले बनाउने भनेकै समाज वरपर देखिने क्यारेक्टर नै हुन्,’ उनले भने ।

अभिनेता अग्रहरीले पटकथा अध्ययन गर्दाको अनुभव पनि बाँडे । ‘फिल्मको वर्कसप भएको थिएन, दुई चारपटक स्क्रिप्ट पढें । बीचमा बुवा बित्नुभएपछि घर आउनुपर्‍यो । उहाँको काम सकेर फिल्म युनिटसँग जोडिएँ,’ उनले सुनाए, ‘स्क्रिप्ट पढिरहँदा आफ्नो क्यारेक्टरबाट के आउनेवाला छ भन्ने मलाई थाहा थियो, त्यही अनुसार तयारी गरें ।’

अग्रहरीलाई लाग्छ फिल्मको भिलेन समाजका लागि भिलेन देखिए पनि ऊ आफ्नो लागि भने हिरो नै हो । उसले गरेको क्रियाकलापले कसैलाई असर पर्दा ऊ भिलेन हुन्छ । तर मैले गरिरहेको कुरा त आफ्ना लागि राम्रै हुन्छ नि । मेरो क्यारेक्टर समाजका लागि पोजेटिभ छ या नेगेटिभ छ भन्ने दर्शकको हेराइमा भरपर्छ ।’

‘अगस्त्य’ शुक्रबारदेखि प्रदर्शन हुँदैछ । यो फिल्ममा मलिका महत, नाजिर हुसेन लगायतको अभिनय छ । ‘लभ डायरिज’ फेम्ड निर्देशक सौरभ चौधरीको यो दोस्रो कथानक फिल्म हो । ‘अगस्त्य’को दोस्रो श्रृंखलालाई सन् २०२६ मा ल्याउने उनको तयारी छ । त्यसअघि उनी एक रोमान्टिक कमेडीको तयारीमा जुटेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?