+
+

वर्षाले पर्वतबाट थालिन् ‘मोदीबेनी’को छायांकन

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन १६ गते १६:४५

काठमाडौं । अभिनेत्री वर्षा सिवाकोटी र डेब्यु तयारीमा रहेका अमरप्रताप श्रेष्ठले बुधबारदेखि फिल्म ‘मोदीबेनी’को दोस्रो चरणको छायांकन थालेका छन् । पर्वतको चित्रे र फलेवासमा यो फिल्मको दुई सातासम्म छायांकन हुनेछ ।

दुई भिन्न समयको कथावस्तुमा बन्न लागेको फिल्मको दोस्रो चरणमा वर्तमान समयको कथा भनिनेछ । छायांकन सेटबाट प्राप्त तस्वीरमा वर्षा र अमरप्रताप रोमान्टिक देखिएका छन् । अहिलेको कथामा यी दुईजना देखिनेछन् ।

नवकलाकार अमरप्रतापसँग आफूले जोडी बाँध्न लागेकोमा वर्षा उत्साहित सुनिइन् । ‘उहाँमा कलाकारमा हुनुपर्ने सबै गुण छ,’ को–एक्टरको प्रशंसामा उनले भनिन्, ‘वर्कसपमा अमरको काम गर्दा मेहनती कलाकारको रुपमा पाएकी छु ।’

वर्कसपमै आफूहरुबीच ‘केमेस्ट्री’ बनेको उनले बताइन् । ‘उहाँ नयाँजस्तो लागेन । नयाँ मेकर र नयाँ कलाकारसँग काम गर्दा सिकाउने र सिक्ने अवसर अवश्य मिल्छ,’ उनले भनिन् ।

डेब्यु तयारीमा रहेका अमरप्रतापले पनि मनपर्ने अभिनेत्री नै आफ्नो को–एक्टर हुँदा आफूले भाग्यमानी महसुस गरेको बताए । ‘आफ्नो फेभरेटसँग डेब्यु गर्न पाउनु मेरो लागि अहोभाग्य हो । उहाँ मेरो को–एक्टर मात्र नभएर मेरो सिनियर पनि हो । वर्षाजी र मेरो केमेस्ट्री जम्छ भन्नेमा विश्वास छ,’ उनी उत्साहित सुनिए ।

वर्षाको आगामी फिल्म ‘काजी’ निर्माणको तयारीमा छ, जसलाई बेलायतमा छायांकन गर्ने जनाइएको छ ।

शंकर कोइरालाले निर्देशन गरिरहेको ‘मोदीबेनी’मा सरोज खनाल, रेजिना उप्रेती, दिलीप केसी, कमलमणि नेपाल, जीवन भट्टराई, सरोज अर्याल, अनामिका लामिछाने र स्नेह भट्टराईको पनि भूमिका छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?