+
+
ब्लग :

सडक दुर्घटनाको पीडा

डा. गीतु गैरे, डा. सविता पौडेल डा. गीतु गैरे, डा. सविता पौडेल
२०८० फागुन १६ गते १७:५०

बाटो भन्नेबित्तिकै लाग्छ, कहिल्यै सकिंदैन । दोबाटो बन्छ, चौबाटो बन्छ तर लाग्छ हिंड्ने पथ भेटिइरहन्छ । बाटोघाटो र गोरेटोहरु बिस्तारै सडकमा परिर्वतन भए ।

म सानै हुँदा, धुलाम्मे भर्खर-भर्खर खुलेको बाटोमा दिनमा दुई-तीन चोटि जीप हिंड्थ्यो । हामी जीप कतिबेला आउँछ भनेर रुँग्दै बस्थ्यौं । जीपको पछिपछि एकैछिन कुद्थ्यौं अनि त्यसैमा रमाउँथ्यौं । बच्चा थियौं, त्यतिमै खुसी थियौं ।

आफू सबैभन्दा छिटो कुदेको जितमा मज्जा मान्थ्यौं किनकि हामी बाल्यकालमा थियौं । जीप चढ्नु एउटा सपना जस्तै थियो । पहिलोपटक बस चढेको घटना भने आँखैअगाडि झल्झली आउँछ । मलाई लागेको थियो- ‘बससँगै ती रुखहरु पनि हिंड्ने रहेछन् है !’ मेलै अचम्म मान्दै दिदीलाई सोधेकी थिएँ । दिदीले हाँस्दै भनेकी थिइन्, ‘त्यस्तो लाग्ने मात्रै हो ।’

बिस्तारै बसहरु थपिंदै गए । सहजै बस पनि चढ्न पाइने भयो । सडकहरु बिस्तारै बिस्तार हुन थाले । धुलाम्मे सडक कालोपत्रे हुन थाले । अझै पछि हिजोआज सडकले थेगिनसक्नु सवारी साधन गुड्न थाले । सडक बिस्तार गर्नेको नाममा सडक अस्तव्यस्त भएको वर्षौं भइसक्यो । घरैपिच्छे साधन अझ भनुँ मान्छे पिच्छे नै आवश्यक भइसक्यो । सवारी साधनको चाप छ निगरानी कतै छैन, कसैको छैन । जो जसरी हिंडे पनि हुन्छ । न गतिको कुनै मापन र निगरानी छ न दक्षताको, न‌ चालक अनुमति पत्रको ।

हरेक दिनजस्तो सडक दुर्घनाको खबर सुनिन्छ अनि मुत्यु त झन् सामान्य नै बनिसक्यो । रोग लागेर समय‌ पुगेर बुढेसकालमा मुत्यु हुनु अनि सवारी साधनको दुर्घटनाबाट मुत्यु हुनु फरक हुँदोरहेछ । केही सेकेण्ड वा मिनेटमै एउटा जीवन छैन । उसले केहीबेरमा यो गर्छु त्यो गर्छु सोचेको हुँदो हो तर दुर्घटनाले केही सेकेण्ड वा मिनेटमै जीवन नै समाप्त भइदिन्छ ।

डा. गीतु गैरे

नेपालमा भने दुर्घटना किन कसरी र के कारणले भयो केलाउनु त परको कुरा । हामी त श्रद्धाञ्जली दिन हतार गर्छौं । राज्य संयन्त्र किन यति फितलो बनिरहेछ थाहा छैन ।

एउटा जीवन सकिनु ! अहो सम्झिंदा पनि आङ सिरिङ्ग हुन्छ । तर जनताको अभिभावक राज्यलाई त्यतातर्फ चासो दिने फुर्सद छैन । आफ्नो कमजोरी सायद राज्यलाई मान्य नै हुँदैन ।

दुर्घटना होला भनेर त कसैले अनुमान त के कल्पना पनि गरिएको हुँदैन तर हुने गरेको छ । दुर्घटना हुनेबित्तिकै न एम्बुलेन्स आइपुग्छ न प्रहरी । चल्दै गरेको सास, धड्किंदै गरेको मुटु एम्बुलेन्स कुर्दाकुर्दै बन्द हुन्छन् ।

अस्पताल पुर्‍याइँदासम्म कति समय घर्किन्छ लेखाजोखा छैन । अझ अचेल त मानिसहरू यसरी भावनारहित बनेका छन् कि दुर्घटना भएपछि आवश्यक सहयोगको साटो फोटो, भिडियो खिच्दै रमिता हेरेर बस्छन् ।

हरे, के गर्नु ! यो त भाइरल अनि लाइक कमेन्टको‌ जमाना पो त । हाम्रो चेतना किन यसरी कमजोर भइरहेको छ थाहा छैन ।

दुर्घटना केही सेकेण्डमै भइजाँदो रहेछ । यसो नगरेको भए, यसो गरेको भए भन्ने कुराहरु दुर्घटनापछि बल्ल सोचिंदोरहेछ । चिप्लो बाटोमा चिप्लिएर पनि त दुर्घटना हुन्छ । कारण सामान्य हुन्छ, हामी अत्यन्तै सजग रहनुपर्छ ।

आफ्नै अनुभव

एकदिन म (डा. सविता) र मेरो श्रीमान् अफिस जाँदै गर्दा पृथ्वी चोकको व्यस्त सेती नदीमाथिको पुलमा गम्भीर सडक दुर्घटनामा पर्‍यौं । ब्रेक फेल भएको बोलेरो अर्को दिशाबाट ट्रकसँग पहिला ठोक्किएर हान्निंदै अर्को लेनमा भएको हाम्रो गाडीमा ठोक्कियो ।

जब तीव्र बेगमा हान्निएको गाडी आँखै अगाडि आयो, तब मलाई बाँचिएला भन्ने नै भएन । अब बोलेरोले किचेर मरिने भइयो भन्ने मात्र मेरो मानसपटलमा आयो । तर धन्न ‘एयर ब्याग’ खुलेर हामी बाँच्यौं ।

मेरोको दिमागमा त्यसबेला मृत्युबाहेक केही आएको थिएन, तर त्यस्तो अवस्थामा केही चीजले बचाउँछ भने त्यो ‘एयर ब्याग’ नै रहेछ । मृत्युको मुखैमा पुग्दा कि मस्तिष्कले कसरी बच्ने भन्ने पनि मजाले सोच्न नसक्ने रहेछ । शून्य र खालीखाली मात्रै हुने रहेछ ।

डा. सविता पौडेल

सावधानी, रोकथाम र सुरक्षा उपकरणको महत्वलाई नजरअन्दाज गर्नु हुँदैन भन्ने कुरा आफैंलाई परेपछि मात्र सबैभन्दा बढी महसुस हुँदो रहेछ । ती विषयहरुलाई नजरअन्दाज गर्नु भनेको दुर्घटना निम्त्याउनु र अकालमा कसैको जीवनलीला समाप्त हुनु रहेछ ।

अकाल मुत्यु एक भयावह अवस्था हो । मुत्यु हुने व्यक्तिको लागि र परिवारको लागि पनि ।

तीव्र गति, मादक पदार्थको सेवन गरी गाडी चलाउनु, साधनको अवस्थाबारे ख्याल नगर्नु, असक्षम चालकले चलाउनु दुर्घटनाका मुख्य कारणहरु मानिन्छ । यसबाहेक दुर्घटनापछि एम्बुलेन्स समयमा नआउनु, अस्पताल पुर्‍याउन ढिलो हुनु, सडकको अवस्था राम्रो नहुनु, उचित निगरानी नहुनु राज्यको कमजोरी हो । यिनै कमजोरीका कारण सडक दुर्घटनाका कारण अकालमै मानिसहरुको ज्यान गइरहेको छ ।

नेपाल प्रहरीको तथ्यांकअनुसार पछिल्लो साढे तीन वर्षमा मात्रै देशभर सडक दुर्घटनामा परेर आठ हजार ६७८ जनाले ज्यान गुमाएका छन् । ज्यान गुमाउनेमा सबैभन्दा बढी १६ देखि २५ वर्ष उमेर समूहका छन् । यो अवधिमा १६-२५ वर्ष उमेरका दुई हजार १७८ जनाले ज्यान गुमाएका छन् ।

क्षति कम गर्न के गर्ने ?

सवारी साधन कुद्ने गतिको उचित मापन गर्नु, मादक पदार्थ सेवन गरी सवारी साधन चलाउन बन्द गर्नु, लाइसेन्स प्राप्त चालक मात्रै साधन चलाउनु आवश्यक छ ।

चालकहरुमा पनि छिटो कुदाउने होडबाजीको अन्त्य हुनुपर्छ । भनिन्छ नि, बिस्तारै गए अवश्य पुगिन्छ, छिटो गरे भन्न सकिन्न ।

दुर्घटना भवितव्य हो, तर रोकथाम गर्नै नसकिने भन्ने होइन । हाम्रो सडकमा अन्तर्राष्ट्रिय जगतले मानिसकेको र धेरै ठाउँमा लागू भइसकेको सामान्य मापदण्ड पनि अवलम्बन भएको छैन ।

सवारी दुर्घटना न्यूनीकरणका लागि सवारीसाधनका प्रकारअनुसार सडक वर्गीकरण पनि एउटा उपाय बन्नसक्छ । हामीकहाँ मोटरसाइकल, स्कुटरदेखि सबै चारपाङ्ग्रे सवारी साधन एउटै लेनमा गुड्ने गर्छन् ।

बाटो काट्दा हुने सास्तीको कुरा गरेर साध्य नै छैन । जेब्रा क्रसिङ नहुनु, भए पनि सवारीले रोकेर पैदल यात्रुलाई जान नदिने हुँदा जोखिम मोलेर बाटो काट्नुपर्छ । दुर्घटना भएलगत्तै कसलाई खबर गर्ने ? तुरुन्त एम्बुलेन्स आउने व्यवस्था कसरी गर्ने ? यसका लागि स्थानीय तहले आपतकालीन हटलाइन राख्नु पनि जरुरी छ भन्ने लाग्छ ।

सकभर सवारी दुर्घटनालाई लक्षित गरेर पालिकाले पूर्ण सुविधा भएको एम्बुलेन्स आफ्नो क्षेत्रभरि उपलब्ध गराउनुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?