+
+

चुँदीरम्घालाई साहित्यिक तीर्थस्थल बनाउन राष्ट्रपति पौडेलको जोड

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन १६ गते १९:१९

१६ फागुन, काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आदिकवि भानुभक्त आचार्यको जन्मस्थल चुँदीरम्घालाई सिंगो नेपालको प्रतिबिम्ब झल्कने गरी राष्ट्रिय एकताको केन्द्र र संसारभरिका नेपाली एकचोटी पुग्नैपर्ने साहित्यिक तीर्थस्थलका रुपमा विकास गरिनुपर्नेमा जोड दिएका छन् ।

भानु साहित्य उद्यानको सहकार्यमा भानु नगरपालिकाद्वारा आज यहाँ आयोजित भानु साहित्य उद्यानको गुरुयोजना अवधारणापत्र एवम परामर्श कार्यक्रममा बोल्दै राष्ट्रपति पौडेलले सो कुरामा जोड दिएका हुन् ।

उनले देशका सातै धाम एकै ठाउँमा निर्माण गरेर यहाँ नेपालका नेपाली, नेवारी, थारू, मैथिली, भोजपुरी, अवधि, राई, लिम्बू तामाङ, गुरुङ मगर इत्यादि सबै भाषाका साहित्यिक प्रतिभाहरूलाई एकै ठाउँमा राखेर कलात्मक र प्राकृतिक सौन्दर्यसहित आर्थिक सहयोग जुटाएर गुरुयोजना अनुरुप भानु साहित्य उद्यान निर्माणको परिकल्पनालाई साकार पार्न लाग्नुपर्नेमा जोड दिए

‘यसले नेपाली राष्ट्रिय भावनालाई उद्वेलित र उद्दीप्त गराउने छ तथा जीवनमा नेपालीले एकपटक पुग्नै पर्ने साहित्यिक तीर्थस्थल र पर्यटकीय गन्तव्य स्थल बनाउने छ भन्ने मलाई पूर्ण विश्वास छ’, राष्ट्रपति पौडेलले भने ।

आदिकवि भानुभक्तको प्रतिमा केन्द्रमा राखेर अन्य भाषाभाषीका आदिकवि, ती भाषाका विशिष्ट साहित्यिक प्रतिभा र आ–आफ्ना मातृभाषामा विशिष्ट रचना गर्ने कविहरूको प्रतिमा स्थापना गरी चुँदीरम्घालाई विभिन्न भाषाका कविहरूको पूmलबारी बनाउँदै एउटा विशिष्ट साहित्यिक तीर्थस्थलको रूपमा विकास गर्नुपर्ने उनको भनाइ थियो ।

साहित्यिक तीर्थयात्रीका निम्ति चुँदीबेँसी, भानु स्मृति भवन, रम्घाको डाँडो, नेपाली साहित्यका कवि शिरोमणि लेखनाथ पौडेलको जन्मथलो अर्घौअर्चले, जनकवि केशरी धर्मराज थापाको बाटुलेचौर र लोकगायक अलि मियाको जन्मस्थल कुँडहर हुँदै राष्ट्रकवि माधव घिमिरेको घर पुस्तुन लमजुङ, मानुङ आदि विविध भानुस्मृति स्थलहरू संयोजन गरी एउटा भानु सर्किट बनाउन सकिने र यस सर्किटले भानुभक्तका स्मृतिलाई चिरकालसम्म जीवन्त बनाई राख्ने उनको भनाइ थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?