+
+
स्वप्न–स्मृति :

शहीदको सन्देश सहयात्रीलाई

म तिमीलाई पनि आफूसँगै लिएर आउन चाहन्थें। तर हाम्रा सपनाको गोडमेल कसैले त गर्नैपर्छ। हामी दुवै अमरलोकमा पुगेपछि हाम्रा सपनाहरू हराउन सक्छन्। अगुवालाई हरेक वर्ष एक दिन मञ्चमा बोल्ने विषय मात्र बन्न सक्छन्।

गेहनाथ गौतम गेहनाथ गौतम
२०८० फागुन १७ गते १२:२७

आज हामी भौतिक रूपमा टाढा भएको अर्को वार्षिकी। अमरलोकको बसाइ पनि करिब २०–२१ वर्ष पुगेछ। मलाई आज किन–किन तिम्रो यादले निकै सताएको छ। आज यहाँबाट तिमीलाई केही सन्देश दिन मन लागेको छ। मलाई थाहा छ, मर्त्यलोकका केही निशाचरहरू अमरलोक पुगेर पनि चेतना फैलाउन छाडेन भनेर ममाथि औंला ठड्याउनेछन्। तीखा प्रश्नहरू मतिर सोझ्याउने छन्।

प्रिय, तिमीसँग दोहोरो संवाद गर्ने उत्कट चाहनाले मन चौचौ भइरहेको छ। तिमी आफ्नै अगुवाका अविश्वसनीय नजरहरूबाट छेडिएका विषालु किरणले छियाछिया त हुने हैनौ भन्ने डर पनि लागिरहेछ। अनन्त पीडाहरूको पोखरीमा पौडी खेलिरहँदा तिमी थाक्ने त हैनौ भन्ने चिन्तामा छु। तर पनि म ढुक्कले भन्न सक्छु, तिमी मेरी हौ। तिमी मेरो विश्वासको लक्ष्मणरेखाले सधैं सुरक्षित र शक्तिशाली बनिरहेकी छ्यौ र सधैं बनिरहने छ्यौ।

तिमी एकान्तमा पीडाले छट्पटाएको देख्दा मेरो रगत उम्लिएर आउँछ। विश्वास गर, म तिमीलाई शिशमहलको पल्लो झ्यालबाट मायालु नजरले हेरिरहेको छु। मेरो मुटुको हरेक कुनामा तिमीलाई नै सजाएर राखेको छु।

जिन्दगी नजिक वा टाढा जहाँ भए पनि बित्दो रहेछ। फरक यति हो हिजो तिमी मेरो साथमा थियौ र म तिम्रो साथमा थिएँ। हुनत भौतिक रूपमा हाम्रो सामीप्यता निकै छोटो हो। तथापि हामी दुवै एकै क्षेत्रको एक कन्दरा र अर्को कन्दराका बीचमा आ–आफ्नो कर्म क्षेत्रमा खटिएका थियौं।

स्वप्निल उद्देश्यको गहिरो सङ्कल्प यात्राको गति सुस्त नबनाउने अठोटले गर्दा पनि हाम्रो बीचमा नयाँ चिउला पाउलिन पाएको थिएन। यसका लागि तारतम्य पनि त मिल्नुपर्थ्यो। युद्धका जोखिमयुक्त क्षणमा तिमी चाहना भएर पनि तत्कालै शरीरमा नवपल्लव सजाउन सक्ने अवस्थामा थिइनौ। चाहना हुँदाहुँदै म पनि यस विषयमा उस्तै सचेत थिएँ।

अहिले लाग्छ, त्यसबेला बरू जे त होला भनेर हामी नयाँ चिउलाको सौन्दर्य लिन तयार भैदिएका भए उचित हुने रहेछ। म पर्खाल बाहिर भए पनि तिमी तिनै चिउलाको फक्रँदो स्वरूपमा मेरो आकृति खोज्न सजिलो मानिरहेकी हुनेथियौ। समयको मार्ग कता ढल्किन्छ, त्यो कसलाई के थाहा र ?

हुनत यस्तै जोखिम स्वीकारेर अघि बढ्दै जाँदा नै हामो भेट भएको थियो। त्यो दृढ सङ्कल्पको यात्रामा होमिने कर्तव्य नअपनाएको भए हाम्रो भेटै नहुन पनि त सक्थ्यो नि ! हामी आफ्नो मात्र दुनो सोझ्याउन अघि बढेका थिएनौं।

तिमीलाई सान्त्वना दिन मात्र म यसरी बोलिरहेको होइन। अहिले पूर्वानुमान र सम्भावनाको मझेरीबाट हेर्दा पनि तिमी र म सँगसँगै छौं। भौतिक सामीप्यतामा त आसक्ति पनि हुनसक्छ। आपसी त्याग हराउन सक्ने रहेछ। हिजो दृढ सङ्कल्प लिएर एउटै लहरमा हिंडेका कैयौं सहयात्रीहरू अहिले स्वार्थका अनेक फणाहरूबाट घेरिएका छन्।

अन्तरात्मालाई साक्षी राखेर आफैंतिर फर्कंदा आफूले आफैंलाई चिन्न नसक्ने अवस्थामा पुगेका छन्। त्यस्तो प्रवृत्तिको बाछिटाले मलाई पनि छुन के बेर र ? अथवा प्रतिबद्ध मलाई परिबन्दले बिटुलो बनाउन पनि सक्नेथियो। त्यतिबेला तिमीले मलाई कर्तव्यच्युत भनेर डाँट्ने अवस्था बन्न सक्थ्यो। कम्तीमा म यो जोखिमबाट जोगिएको छु। म सधैं पवित्र रहिरहनेछु। तिम्रो नजरमा मेरो आदर्श अझ दिव्य बनेको छ। म पनि तिम्रो आदर्शलाई उत्तिकै श्रद्धापूर्वक सजाइरहेको छु।

पुरुषप्रधान समाजको खोरियामा हुर्किएको रूख जस्तै न हौं हामी छोरा मान्छेहरू। जति नै सफा बन्न खोजे पनि कता–कता कृत्रिम भैदिन्छ। खरानीको धुलोले बतास चलेको बहानामा पातहरू मैलो पारिदिन्छ। अझ शक्तिशाली बतास नचलेसम्म वा वर्षा नभएसम्म पातभरी खरानी बोकेर बस्ने बानी परेको छ।

दूध उमाल्न बसाएको अँगेनामा न्यानो लिने बहानामा बिरालो आगोको नजिक बस्ने गर्छ। उ कुँडेबाट उम्लिएर पोखिने दूध चाट्ने प्रतीक्षा गरिरहेको हुन्छ। सायद यही कारणले ‘दूधको साँची बिरालो’ भन्ने कटु यथार्थ औंल्याएका होलान् हाम्रा पुर्खाले। मान्छे एक अर्थमा बिरालो जस्तै रहेछ।

त्यसैले तिमी चाहिं कुँडेको परिधिभित्र मात्र तात्नुपर्छ। त्यसभन्दा बाहिर पोखिनबाट सधैं जोगिनुपर्छ। अग्निको तापलाई तिमीले पर्गेल्न सक्नुपर्छ। समयको अन्तरालमा बिरालो आफ्नो बाटो लाग्नेछ। अँगेनामा ताप सिद्धिनेछ। उम्लिएको दूध विस्तारै सेलाउँदै जाने क्रम चलिरहनेछ।

वरपर समाजमा तिमीले जे–जस्तो भोग्दै आएकी छ्यौ, त्यसलाई मेरो यही परिभाषाभित्र राखेर हेर्ने गर। सत्य सधैं बाहिर नै ल्याउनुपर्छ भन्ने पनि हुन्न रहेछ। तिमीले छताछुल्ल पारेको सत्यले पोल्ने मान्छेहरू तिम्रो पछिल्तिरबाट फणा उठाएर तिमीमाथि नै जाइलाग्न सक्छन्। चौबीस घन्टामा दिन र रात दुवै हुन्छ। दिनको समय तिम्रो कब्जामा भए पनि सबै रात आफ्नो वशमा नहुन सक्छ। निशाचर रमाउने नै रातमा हो।

तिमीले परासर मुनिको आकस्मिकता बुझेकै छ्यौ। हुनसक्छ कतिले तिम्रो परीक्षा लिनुछ। कतिले तिमी मार्फत आफ्नै परीक्षा लिनु छ। अथवा तिमीलाई अझ स्पातिलो बनाएर समाजमा जब्बर रूपमा स्थापित गर्नुछ। अथवा यी सबै केही नभएर केवल समाजको विकृत प्रवृत्तिको शिकार बन्न जोगिनु छ। जे पनि हुनसक्छ, नियतिको समयचक्र।

समयले हामीलाई करिब एक वर्षको सहयात्रा जोडेर करिब महिना दिन मात्र भौतिक मिलनको अवसर दिएको छ। प्रकृतिको यो समयचक्रले चखेवा–चखेवीको जोडीलाई दिनभर एकाकार र रातमा टाढा राख्छ भन्ने गरिन्छ। हामीमा पनि यस्तै दिव्य प्रेम जोगाउनु थियो भन्ने मानौं।

जतिसुकै भावशून्य र सहाराविहीन बने पनि तिमीमा म आशा मर्न दिने छैन। म तिमीलाई पनि आफूसँगै लिएर आउन चाहन्थें। तर हाम्रा सपनाको गोडमेल कसैले त गर्नैपर्छ। हामी दुवै अमरलोकमा पुगेपछि हाम्रा सपनाहरू हराउन सक्छन्। अगुवालाई हरेक वर्ष एक दिन मञ्चमा बोल्ने विषय मात्र बन्न सक्छन्।

मैले तिमीलाई तड्पाएर अर्को बाटो लाग्ने सोच बनाएकै थिइनँ। वैरीको नजरबाट जोगिन वा जोगाउन नसक्दा यो परिणाम आएको हो। तिमीलाई म केवल एकपटक मरेर अनि बनेको छु भन्ने लाग्दो हो। मेरो हालत तिमीलाई के भनौं ? तिमी जिउँदै हजार पटक, पलपल गिद्दे नजरहरूबाट काटिएकी छ्यौ, म्यासेन्जरमा खस्ने म्यासेज, शब्द र स्पर्शबाट आत्तिएकी छ्यौ

बाँचुन्जेल हेला गरे पनि मृत्युपछि लोकाचार मिलाउन पायसका पिण्ड दिएर पितृहरू वर्ष दिनलाई विदा गर्ने गरिन्छ। अहिले त्यसैगरी पुष्पगुच्छाले मेरो तस्वीर बेला–बेलामा छोपिन्छ। वर्तमान देख्न नसक्ने गरी मबाट लुकाइन्छ। कम्तीमा अहिले तिमीले मेरो माथबाट पर्दा हटाउँदै सच्चा हृदयले सपनाको कसम खान्छ्यौ। तिमी सच्चा हृदयले अघि बढ्न चेतना फैलाउँछ्यौ। मेरा लागि अरू कुनै सम्मानभन्दा तिम्रो यो कसम र अभियान नै अमरलोकमा बाँच्ने आधार बनेको छ।

त्यसैले म एक्लै आएको नै ठिक हो भनेर सोच्ने गरेको छु। अपशोच चाहिं अघि भने झैं केवल एउटा पालुवाको लेनदेन हुन पाएन भन्ने मात्रै छ। तर यो पनि अनिवार्य नै भने होइन रहेछ।

जीवनको अर्थ नबुझ्ने अगुवाले फक्रिंदो यौवन किन खेर फाल्छ्यौ ! भनेर अपमान गरेको विषयलाई तिमीले सडकपेटीमा राखिएका नाङ्ले दोकानभन्दा बढी भाउ नदिए हुन्छ। सडक सफा गर्ने दिन आएपछि यी सबै अवश्य बढारिने छन्।

तिम्रो दिमाग रनन्न भएको वेला मेरा शरीरमा काँडा उम्रिन्छन्। आफ्नो आशालाई लुटिएको र खोसिएको सोचेर तिम्रा आँखाबाट आँसुको थोपा तप्प खस्दा मेरो मुटुमा चाप पर्ने गर्छ। यसपछि मलाई सम्हालिन कठिन हुनेगर्छ। आशा त मेरो पहिचान हो। मेरो धुमिल स्मृतिमा सधैं आशाको उज्यालो ज्योति देख्न सक्नुपर्छ तिमीले। मेरो पहिचान तिमी मार्फत पनि जनस्तरमा पुग्नुपर्छ।

तिमीले दृढ भएर सत्यको उजागर गर्ने जस्तो साहस गर्‍यौ, मेरो प्रत्यक्ष अनुपस्थितिमा त्यो नै तिम्रो आपतको सहारा हो। हो, तिमीले सत्य भन्यौ, पोखिएको दूध चाट्न अँगेनामा ढुकेर बस्ने बिरालोहरू पनि त कुनै दिन कोइरालोको आहारा बन्नुपर्नेछ। तिमी अरूलाई आ–आफ्ना थान्कामा बस्न सधैं सजग गराउन नछोड। तर अरुको कुरा काटेर आफ्नो समय मात्र बर्बाद गर्नतिर चाहिं लाग्दै नलाग।

यो सबैतिर बिटुलिएको समाजमा मेरो भौतिक उपस्थिति विनाको तिम्रो जीवन कष्टकर छ भन्ने मलाई राम्रोसँग थाहा छ। मेरो जीवन यस्तै अतिवादका विरुद्ध छेडिएको मिसाइल हो। एक मनले त म पनि सोच्छु, ‘आफूलाई मैले जस्तै माया गर्ने मन रोजेर सहयात्रा सुरू गरे हुने’ भनेर। तर म सीधै त्यसो भन्न त सक्दिनँ।

जीवन यात्रामा पहरोको बीचैमा छोडेर हिंड्न बाध्य भएको म। तिमीलाई नमेटिने घाउ बनाउने म। ‘अब अर्को हात समात्न लगाएर त्यो घाउमा नुन–चूक पनि दलिदिने हो ? मेरो प्रेमको प्रत्युत्तर यही उचित हो र ?’ भनिदियौ भने अमरलोकमा पनि म पश्चात्तापमा जल्न थाल्नेछु। त्यसैले चाहेर पनि म यसो भन्न सक्दिनँ।

तर यसमा तिमीलाई आफ्नो अन्तरात्मालाई सोधेर निर्णय गर्ने स्वाधिकार दिन चाहन्छु। जीवनको परिभाषा र आदर्शलाई कस्तो तराजुमा तौलिने र मूल्य केमा खोज्ने भन्ने कुरा आफ्नै अन्तरहृदयको झङ्कारसँग आश्रित रहन्छ।

मलाई थाहा छ तिमीले यही मार्ग पहिचान गरिसकेकी छ्यौ। हाम्रा आदर्शबाट सिकेर सत्मार्गमा हिंड्न समाजलाई प्रेरणा दिन नछोड। अबको तिम्रो जीवन यात्रा यसरी नै अघि बढ्ने मलाई विश्वास छ। अमरलोकबाट सधैं त्यतै हेरिरहेछु। तिमीलाई असीम माया र धेरै धेरै शुभकामना !

दुनियाँ त आफ्नो मात्र लाभ–हानिमा केन्द्रित रहन्छ सधैं। यति ज्ञान त मेरो अनुपस्थितिमा तिमीले आर्जन गरेका असङ्ख्य पीडा, भोगाइ, सिकाइ र उपलब्धिको चौबाटोले उपहार दिइरहेकै छ नि!

प्रकृतिको अनुपम सिर्जना हो, मान्छे। उसँग भावना छ, मन छ, करूणा छ, सम्मान छ, कोमल हृदय छ, सिर्जनात्मक क्षमता छ र उसका सहयोगी हातहरू छन्। यससँगै स्वार्थ छ, बेइमानी छ, अपमान छ, अहंको खोक्रो आडम्बर छ, ध्वंसात्मक विकृति छ र परपीडक हातहरू पनि छन्।

यो सेतो र कालो अथवा रङ्गीन र घृणित परिवेशको द्वन्द्वात्मक भौतिकवादमा तिमी र तिम्रो परिवेश जेलिएको छ। मैले त केवल हेर्न सक्छु, अनुभूत गर्न सक्छु र सद्भावको प्रेमपत्र तिम्रो स्मरणको संसारमा पठाउन मात्र सक्ने रहेछु।

नारी आफैं करुणाको प्रतिमूर्ति हो। अझ तिम्रो वदनबाट निस्कने किरणमा जादु छ। त्यो जादुलाई सम्मान गर्न जान्ने मनहरूले उच्च सम्मान दिन्छन्। नजान्नेहरू चाहिं आफूभित्र भएको कुण्ठा, अतृप्त चाहना वा पदको मर्यादालाई भुलेर अहंको दुरुपयोग गर्न पर्खिबसेका हुन्छन्।

यस्ता गल्छिडो ढुकुवा र मगन्ते सोचले थलिएका विरामीहरूलाई तिमी क्षमा गर्न सिक। उनीहरूलाई सही मार्ग देखाउँदै मनको उपचार गर्ने गर। तिम्रो यस्तो कर्मले नै समाज रूपान्तरणको हाम्रो यात्रामा ईंटा थप्न सहयोग पुग्नेछ। सच्चा हृदयको लावालस्कर पनि तिम्रो साथमा सँगै रहेको हुन्छ।

मैले तिमीलाई तड्पाएर अर्को बाटो लाग्ने सोच बनाएकै थिइनँ। वैरीको नजरबाट जोगिन वा जोगाउन नसक्दा यो परिणाम आएको हो। तिमीलाई म केवल एकपटक मरेर अनि बनेको छु भन्ने लाग्दो हो। मेरो हालत तिमीलाई के भनौं ? तिमी जिउँदै हजार पटक, पलपल गिद्दे नजरहरूबाट काटिएकी छ्यौ, म्यासेन्जरमा खस्ने म्यासेज, शब्द र स्पर्शबाट आत्तिएकी छ्यौ।

मलाई भने तिम्रो एकल जीवनको पीर एकातिर छँदैछ। अर्कातिर हाम्रो बलिदानी र आदर्श सपना चुँडिदै गरेको दृश्यले सताउँछ। स्वार्थको भाँडोमा चुहिंदै गरेको वर्तमानलाई हेर्दै शहीदहरूको समूहमा बसेर रुँदै सहने बाहेक हामीसँग अर्को विकल्प नै देखिन्न। यहाँ पनि हामी जनसंघर्षका शहीद, राष्ट्र सेवाका शहीद र जबर्जस्ती बनाएका शहीदहरूका बीचमा आन्तरिक लडाइँ पनि चलिरहन्छ। जनसंघर्ष र राष्ट्र सेवाका शहीदहरू एकातिर र जबर्जस्ती बनाएका शहीदहरू अर्कातिर छुट्टिएर अन्तर सङ्घर्षमा फस्ने गरेका छौं।

तिमीलाई थाहा छ, जीवनको प्रारम्भले नै मृत्युको अनिवार्यता बोकेको हुन्छ। यही जन्म र मृत्युका बीचको अन्तराल नै हाम्रो जीवन हो। औसतमा यो अवधि कसैको लामो वा छोटो हुनसक्छ। यो अवधि कसैका लागि सुखयुक्त वा दु:खयुक्त हुनसक्छ। तर पूर्ण सुख वा पूर्ण दु:ख भन्ने चाहिं कसैको हुन सक्दैन। चाहेर पनि दुवैमा पूर्णता रहन्न। यो सच्चाइलाई बुझ्ने मान्छेले सफल जीवन जिउन सक्छ।

तिमीले सत्यको पहिचान गर। हाम्रो सामाजिक प्रचलनमा पति–पत्नीलाई जीवनमा पूर्णताको सूचक मान्ने गरिन्छ। तर यो नै एक मात्र सत्य भने होइन। भौतिक निकटता र उपस्थिति मात्र सम्बन्धको सूत्र होइन। मनमा रहने तरङ्गको शक्ति कति हुन्छ तिमीलाई राम्रोसँग अनुभूति छ।

कटुसको बोटमुनि खाली पैतालामा हिंड्ने पथिक हौ तिमी। काँडा बिझ्न सक्छ नि ! हाम्रो लडाईं त्यही काँडा सफा गरेर बाटो सहज बनाउनका लागि थियो। वर्गीय शोषणका काँडा, एकतन्त्रीय शासनको काँडेतार, विपन्नताका काँडा, सामाजिक कुरीतिका काँडा अनि अनमेल, अन्याय, अत्याचार र अशिक्षाका काँडाहरू।

सम्झ त, ‘आँखैमा राख्छु मेरो देश… परेलीमा सजाउँछु….’ गीतमा तिमी र म फराकिलो आँगनमा कसरी नाचेका थियौं ! कति चोखो थियो जनताका घरदैलोमा रहँदाको आत्मीयता। हामीमा कति मिठो सपना थियो र अठोट थियो समाज बदल्ने।

जनताको हकअधिकार प्राप्तिका लागि संघर्षको मैदानमा ओजिलो दायित्व बोकेको यस्तै सुन्दर परिवेशमा तिम्रो र मेरो पहिलो हेराहेर कति पवित्र थियो। त्यो आत्मीयतालाई हामीले एकाकार हुने सङ्कल्प सहित सामाजिक र जैविक सम्बन्ध जोड्ने कसी बनाएका थियौं। त्यो सत्य हामी जहाँ भए पनि अझ गाढा बन्दै आएको छ।

अहिले फरक परिवेशमा समाजले विभिन्न पात्रहरू फरक–फरक स्वरूप र अवस्थामा खडा गरेर तिम्रो परीक्षा दिइरहेको छ। तिमी यसलाई अवसरका रूपमा ग्रहण गर। पीडाका रूपमा लिन छोडिदेउ।

यो युद्ध कहिल्यै सकिन्न। तर पात्रहरू बदिलिन्छन्। शैली फेरिन्छ र मर्यादित मानकमा पुग्ने दिनको प्रतीक्षा अनन्तसम्म रहनेछ। एकदिन अमरलोकमा तिमी हामी सदाको निम्ति सँगसँगै हुनेछौं।

अपमान र हेपाइको सगरमाथा चढ्नुपर्ने वा जीवनमा आँसुको घुट्का पिउनुपर्ने र मुटु छियाछिया पार्नुपर्ने कति हो ? भन्ने प्रश्नलाई अब तिमीले उल्ट्याउनुपर्छ। किनकि आधा पानी भरिएको हरेक गिलासमा खाली भाग र पानी भरिएको भाग दुवै हुन्छ।

अब पानी भरिएको भागको सान्निध्यमा आफूलाई राख्ने गर। तिम्रो वैभवको आत्मिक पक्षलाई आस्थाका नाममा सजाउँदै आफू जस्तै दुनियाँ हेर। पीडित दुनियाँका घाउमा मल्हमपट्टी लगाउँदै जाऊ। मलाई थाहा छ तिमीले यही मार्ग पहिचान गरिसकेकी छ्यौ। हाम्रा आदर्शबाट सिकेर सत्मार्गमा हिंड्न समाजलाई प्रेरणा दिन नछोड। अबको तिम्रो जीवन यात्रा यसरी नै अघि बढ्ने मलाई विश्वास छ। अमरलोकबाट सधैं त्यतै हेरिरहेछु। तिमीलाई असीम माया र धेरै धेरै शुभकामना !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?