+
+
योद्धाको हुँकार :

तिमी विनाको २० वर्ष !

भनिदेऊ न प्रिय मेरो युद्ध कहिले सकिन्छ र म शहीद घोषणा हुनेछु ? अनि तिमीसँगै सदाको निम्ति विलीन हुनेछु…

खिमा रिजाल खिमा रिजाल
२०८० माघ २० गते १९:१६
Photo Credit : शहीद पतिसँग लेखक खिमा रिजाल ।

आँसुको घुट्कोसँगै समय पनि आफ्नै रफ्तारमा अगाडि बढिरहेको थियो । थाहा छैन समयले कहाँ-कहाँ लैजान्छ र जिन्दगीले कतिबेला बिट मार्छ । तर जिन्दगीका दुई दशक अर्थात् तिमी विनाका दुई दशक मेरो निम्ति त्यति सहज बन्न सकेनन् ।

कष्टप्रद मेरा दुई दशकमा मृत्यु शाश्वत सत्य हो भन्ने जान्दाजान्दै खै यो मनले न त तिम्रो मृत्यु स्वीकार्न सक्यो न आगमन हुन्न भनेर स्वीकार्न नै ! तिमी मतलब मेरो जीवनको सबैभन्दा प्रिय वस्तु जुन दुई दशकयता क्षितिजमा कतै हराइरहेको छ, जसको पर्खाइमा मानौं मैले दुई दशक गुजारिसकेकी छु ।

अहँ ! मनले रक्तिभर स्वीकार गर्दैन । मेरो भर्खरै भर्भराउँदै गरेको यौवनलाई उनले यति चाँडै कसरी उजाड बनाउन सक्छन् ? मसँग सिङ्गै जीवन पो बाँकी छ त ! हामी एक भएको नै कति भएको छ र ? समयले १० महिना लागे पनि औंलाले गनेर २१ दिन मात्रै पो सँगै बसेका छौं । मनले स्वीकार्दैन, उनी ‘जनयुद्ध’मा चरा जसरी शासकका गोलीले उडाइए । फागुन १७ गते । आजभन्दा २० वर्ष अगाडि ।

उनी त भौतिक रूपमा पो मसँग बिदा भएका हुन् । साँच्चिकै उनको मृत्यु त कहाँ भएको हो र ? जब राजपत्रमा शहीद भनेर नाम प्रकाशित भयो, बल्ल झसङ्ग भएँ । अब उनको र मेरो भौतिक भेटघाट कहिल्यै हुनेछैन । मेरो जिन्दगीको सबै आशाहरू सकिए । म सकिएँ । मेरो इच्छा, आकांक्षाहरू सकियो । म जिउँदै मरेतुल्य भएँ ।

भावशून्य, सहाराविहीन बनें तर एउटा आशा मरेको छैन । जसले मलाई अगाडि बढ्न सदैव प्रेरित गरिरहेको छ । दुई वटा मुटु एकै ठाउँमा पारिंदा गाँसिएको धुमिल तर मिठो कहिल्यै मानसपटलबाट हराउन नसक्ने स्मृति सायद मेरो जीवनका हरेक पलपलमा साटिएको स्मृति । मेरो निम्ति जिउने आधार, जीवनको बलियो हतियार अझै जीवित छ ।

तिमी विनाको दुई दशकतर्फ फर्केर हेर्दा भक्कानो छुट्छ । कहिलेकाहीं त म पनि तिमीसँगै किन मरिन होला भन्ने विचार पनि नआउने होइन ! फेरि सोच्छु, म तिम्रो अधुरो सपनाको साक्षी पो त ! धत् यस्तो विचार मौलाउन दिनुहुन्न । कहाँ मर्ने विचार दिमागमा ल्याएको, अहँ ! म त घस्रेर, लतारिएर, रोएर हाँसेर जसरी पनि बाँच्नुपर्छ केवल तिम्रो सपनाको निम्ति ।

अनि सम्हालिन पुग्छु । तिमी मारिएको ४ महिना भएको थियो । तत्कालीन शाही सेनाले गाउँ घेरा हाल्यो । मसँग अस्नैया रूपन्देहीकी एक बहिनी र मैले सम्मान गरेको एकजना नेता जिल्ला सचिवालय सदस्य (कार्यालय इन्चार्ज) थिए । तिम्रो मृत्युपछि म उनैको नेतृत्वमा कार्यालयमा कार्यरत थिएँ । हामीसँग एउटा प्लाष्टिकको गुन्द्री, एउटा ओढ्ने कम्मल, आ-आफ्नो पछ्यौरा र झोला थिए । हामी सुरक्षालाई मध्यनजर गरेर बाँदर धपाउन बनाइएको गोठमा रात बस्ने निधो गर्‍यौं ।

बीचमा ३ जनाको झोला साँध बनाएर पल्टियौं । मैले प्रायः टिसर्ट र हाफ पाइन्ट लगाउने गर्थें । मसँग घडी नभएकोले समय त ठ्याक्कै थाहा भएन तर मस्त निदाएको बेला मेरो पिंडौलामा खस्रो हातले सुम्सुम्याए जस्तो लाग्यो । झसङ्ग भएँ र उठें । पानी पिएँ । त्यो सपना थियो या विपना ठम्याउन सकिनँ । म रातभर जाग्राम बसें । यो घटनाले म कैयौं दिन छट्पटाएँ । भ्रम हो वा सत्य हो, मुख फोरेर भन्न पनि सकिनँ ।

वर्षौं बित्यो । करिब १५/१६ वर्षपछि एकदिन कतैबाट फोनको घण्टी बज्यो । चिया भेटको निम्तो थियो । निकै पुरानो मित्र, कमरेड, मेरो आदरणीय नेताको फोन आयो भनेर म त मख्ख पर्दै, खुशीले गद्गद् हुँदै स्वीकारें ।

भेटघाट पश्चात् म मेरो बासस्थानमा फर्कंदै थिएँ । फेरि उनै निम्तालुको फोन आयो । निकै बहादुरी गरे जस्तै गरी भने, ‘वर्षौंअघि पिंडौलामा सुम्सुम्याएको याद होला । त्यो भ्रम होइन सत्य हो । मैले सुम्सुम्याएको थिएँ । त्यसैले फक्रिंदो यौवन किन खेर फाल्छ्यौ ! आज हामी कतै बास बस्न जाऊ । रमाइलो गरौं न !’

मेरो दिमाग रनन्न भयो । आँखाबाट आँसुको थोपा तप्प खस्यो । अनि मेरो लुटिएको, खोसिएको आशा, मेरो प्रिय मान्छेको धुमिल स्मृतिले सतायो । थचक्क भुईंमा बसें र भनिदिएँ, ‘तिम्रो त के इज्जत र ? तिम्री स्वास्नी मन्त्री छन् । फोन गरेर- तिम्रो लोग्ने सम्हाल । होइन भने मैले जानेको गर्नेछु भनिदिनेछु ।’ म बोलिरहँदा फोन काटियो र आजको मितिसम्म उनीसँग दोहोरो संवाद भएको छैन ।

चितवनमा मेरो पुरानो वर्षौं बस्ने गरेको घरपरिवार थियो । उनीहरूले मलाई आफ्ना छोराछोरी भन्दा कहिल्यै फरक गरेनन् । शहादतको खबर थाहा पाउनासाथ हुर्रिंदै म बसेको ठाउँमा पुगेर समवेदना प्रकट गर्न पछि परेनन् । सङ्कटकालको कठिन घडीमा कैयौं दुःख-सुख साटासाट गरेकी छु । मैले उनीहरूसँग मेरो प्यारो मान्छेको शहादतमा आफ्ना भावनाहरू छताछुल्ल पोखेकी छु । बिरामी भएर उठ्न नसक्दा महिनौं ज्यानलाई सुविस्ता दिएकी छु त्यो घर र परिवारसँग ।

थाहा छैन मलाई अपमान, हेपाइको सगरमाथा अझै कति चढ्नुपर्ने हो । जीवनमा अझै कति आँसुको घुट्का पिउनुपर्ने हो । मुटु कति छियाछिया पार्नुपर्ने हो ?

त्यस्तो अपनत्व भएको, मानेको अभिभावकले ‘तिमीसँग रात बिताउन चाहेको छु, यौन सम्बन्ध कायम गर्न मन छ’ भनेर म्यासेस कसरी लेख्न सके होलान् । मेरो मुटु भकभकी उम्लियो । जीउ पूरै रातोपिरो, घाँटीमा केही अड्किए जस्तो, जो देखे पनि तर्सने, डराइरहने ओहो मलाई त तिम्रो मृत्युभन्दा पनि यो घटना पचाउन गाह्रो पो भयो त !

कस्तो हो कस्तो ! एन्जाइटी पो भएछ । उफ् ! मैले थाहा पाएँ, हाम्रो जस्तो समाजमा एउटी महिलाको जीवन त उसको जीवनसाथीको अस्तित्वसँग पो जोडिएको हुनेरहेछ ।

चितवनकै वर्षौंदेखि अभिभावक मानेको, मामाको साथी, पार्टीको नेताले समेत सजिलोसँग रात कटाउन चाहेको कुरा कसरी अभिव्यक्त गर्न सके होलान् । घरकी श्रीमतीलाई विभिन्न आरोप लगाएर ‘मेरो त तिमी बाहेक कोही पनि छैन । तिमीसँग जीवन बिताउन चाहन्छु’ भन्ने चितवनकै मेरो सहकर्मीलाई यस्तो अभिव्यक्त गर्दा अलिकति शरम भयो कि भएन होला !

छोरो, भाइको मृत्युपछि घरबाट कुटिएर लखेटिएकी म न्यायको ढोका ढकढकाउन पुग्दा भेटिएका न्यायमूर्ति, न्यायाधीशले ‘यो यौवन यत्तिकै किन खेर फाल्छ्यौ ? कीरा फट्याङ्ग्राले त यौन सम्बन्ध राख्छन् । तिमी यति जवान छ्यौ । फक्रिंदो यौवन खेर नफाल । जाउँ एक रात रमाइलो गरेर आऊँ’ भनेर भन्न कसरी सके होलान् ? यो भनिरहँदा मभन्दा दुई वर्ष जेठी उनकी छोरी र म उस्तै हो भन्ने कहिल्यै सोचे कि सोचेनन् होला !

अर्का अपील कोर्टका एक न्यायाधीश कुनै कामविशेषले भेट्दा मैले नमस्कार गरेको हात समाते जस्तो गरेर छातीसम्म पुर्‍याउँदा अलिकति पनि अप्ठ्यारो लाग्यो कि लागेन होला ? परिवारमा दिदी, दाइ शहीद भएका, सबै सदस्य राजनीतिमा होमिएका विद्यार्थी नेताले पहिलोपटक भेट्दा नै गिद्धले मासु झम्टिए जसरी कसरी झम्टिन सके होलान् ?

नेपाल सरकारका कुनै मन्त्रालयका सह-सचिवले पहिलो पटक भेटेर छुट्टिनेबित्तिकै माया लाग्यो । अँगालोमा बेर्न मन छ भन्ने हिम्मत कसरी जुटाए होलान् ! आन्तरिक राजस्वमा कार्यरत सह-सचिवलाई श्रीमतीसँग राम्रो छैन भन्दै म तिमीलाई मनबाट माया गर्छु भन्ने फोन, म्यासेज गर्ने आँट कसरी आयो होला ?

अर्को पनि महत्वपूर्ण मन्त्रालयको सह-सचिवले पटक-पटक म्यासेज, फोन गरेर सताउने गर्दा अलिकति पनि पदीय हैसियतको डर लाग्यो कि लागेन होला ! एक जना मिल्ने साथीले बुढेसकाल एक्लै बिताउन कठिन हुने हुनाले विवाह गर्नुपर्छ भनेर निकै ढिपी गरिन् ।

उनले विवाह गराउन खोजेको केटाको श्रीमतीले बच्चा जन्माइनन् रे ! त्यसैले दुवैलाई मिलाएर राख्ने रे ! पहिलो श्रीमतीले सहमति दिएकी छन् भनेर भनिरहँदा मलाई बच्चा पाउने मेसिन बनाउन अप्ठ्यारो कत्ति पनि लाग्यो कि लागेन होला है ? मैले पनि बच्चा नजन्माए यसैगरी फेरि अर्को खोज्ने त हो भने जस्तो मनमा विचार आयो कि आएन होला ?

कति सस्तो मान्छेको जीवन जस्तो भयो कि भएन होला ? टियुको कुनै विभागको प्राध्यापक डाक्टरले श्रीमतीले बच्चा नजन्माएकोले छोडपत्र गरे । तिमीलाई घरकी रानी बनाउँछु भन्न कसरी आयो होला ? तिम्रो कोखमा राखेको मेरो वीर्यको अधिकार तिम्रो होइन, मेरो हो भन्नेले त्यत्रो विश्वविद्यालयमा विद्यार्थीलाई के शिक्षा दिने होलान् ?

सधैं छोरी भनेर चाडपर्वमा टीका थाप्ने म श्रीमती (मैले आमा मानेकी आन्टी) को मृत्यु भएको एक महिना नहुँदै विवाहको प्रस्ताव राख्न कसरी सकेको होला ? अझै पटक-पटक फोन, म्यासेजबाट विभिन्न कुरा लेखिरहँदा हात काम्यो कि कामेन होला ?

कुनै मन्त्रीले आत्महत्या न्यूनीकरणको बारेमा राय लिन मसँग बातचित गरेबापत श्रीमतीले यो देशमा मनोविद् उनी मात्रै छन् । पटक पटक उनीसँग किन बोल्न पर्‍यो भनेर घरमा रडाको मच्चाएको घटनाले ती महिलालाई विधुवा महिला बोले जति सबैसँग शारीरिक सम्बन्ध कायम गरिहाल्छन् जस्तो लाग्दो होला कि ? किन रडाको मच्चाएको होला ?

नातागोता, आफन्तमा कोही बोल्नासाथ त्योसँग किन बोल्ने भनेर उनका श्रीमतीहरूले गनगन किन सुरु गर्छन् होला ? आफ्नै रक्त सम्बन्धमा दाइ, भाइ, मामा, काका, यस्तै यस्तै हामी बातचित गरेको मेरी मेडमलाई थाहा नहोस् नि भनेर भन्दा यसको भावना कति विक्षिप्त होला भन्ने लाग्दो हो कि नाइँ ?

दाजु बनेर तीजको दर नखुवाई नहुने मान्छे, राखी नबाँधी नहुने मान्छे, हरेक पल मेरो भरोसा बन्न खोज्ने मान्छे जब मैले आँखाबाटै मलाई पिइरहेको थाहा पाउँछु नि ! त्यो अवस्थामा मेरो मनमा चल्ने त्यो हुण्डरी कस्तो हुन्छ होला ?

त्यसको अनुमान ती दाइ भन्नेले गर्छन् कि गर्दैनन् होला ? उच्च ओहोदाका व्यक्तिदेखि सामान्य अवस्थाका अधिकांश व्यक्तिहरूबाट पाएको यी र यस्तै प्रकृतिका तमाम उपहार त केवल दुई दशकका मात्रै हुन् । अझै यी र यस्ता अथाह उपहार चाङका भकारी म मर्नेबेलासम्म कतिवटा भरिएलान् । उफ् !

तिम्रो परिवारले कुटेर लखेटेको जटिलता पचाउनु भन्दा अरू मसँग विकल्प थिएन । आँसुको घुट्कोसँगै मैले जिन्दगी त गुजारेकै थिएँ । एकातिर २० वर्ष बित्दा समेत मलाई तिम्रो मृत्यु स्वीकार्न कठिन भइरहेको अवस्था थियो । संसारको जता पुगे पनि म तिम्रो साथमा छु भन्ने अनुभूति मसँग ज्यूँका त्यूँ थियो । मलाई कहिल्यै एक्लो महसुस हुँदैनथ्यो ।

भन्न मन लागेको छ बाँचेर त हेर तिम्री प्यारी कति अपमानित बनेकी छ । पलपल बाँचेर पनि मरिरहेकी छ । तर तिमी त मरेर पनि बाँचिरहेका छौं । मरेर पनि बाँचिरहेका छौं

तर अर्कोतिर दुनियाँले सधैं एक्लो देखेर खेदिरहन्थे । भनिदेऊ न पि्रय दुनियाँलाई, उनी केवल मेरी मात्रै हुन् । अहँ ! अरू कसैकी बन्ने छैनन् । भनिदेऊ न दुनियाँलाई मेरी उनी संसारमा एक्लो छैनन् । मेरो सामीप्यमा बाँचिरहेकी छन् । तिम्रो पुरुषत्व तिमीसँगै गाँठो पारी जतनले राख । मेरी प्यारीको अगाडि खोल्ने प्रयत्न नगर । तिम्रो आकृतिले त मलाई देखिरहेको छ होइन र प्रिय ?

किन चुपचाप छौ ? बोल न मेरो मुटु बोल ! उच्च ओहोदामा कार्यरत आफूलाई निकै सभ्य भनिने व्यक्तिहरूदेखि सामान्यभन्दा पनि सामान्य व्यक्तिको लखेटाइले मान्छे कति ढोंगी रहेछ भन्ने बुझ्न र सहन मलाई कत्ति कठिन भएको होला । आजकल त सजिलोसँग प्रविधिको प्रयोग गर्दै मैले तिमीलाई मनकी रानी मानेको छु भन्न निकै सजिलो बनाएको छ । त्यो एक्लो मान्छेको मनोदशा कस्तो हुन्छ होला ।

बिहे गरेको एक वर्ष नपुग्दै आफ्नो खुसी लुटिंदा बाँच्न कति कठिन छ ? कसैले अनुमान लगाउने कोसिस गर्ला ? यो र यत्तिको मान्छेसँग त मैले संगत गर्न हुन्छ भन्यो अनि दोहोरिन्छ उही व्यवहार । जहाँ जहाँ पाइला चाल्यो, आदर गरेको, सम्मान गरेको, उमेरले ८० वर्ष पुगेको व्यक्ति छ भने पनि सजिलैसँग अर्काको भावनामा खेल्न खोजिहाल्ने हुनेरहेछ ।

८० वर्षको वयस्कसँग सजिलैसँग यौनसम्बन्ध राख्छन् भन्ने भाष्य कसरी विकसित भएको होला र तिनकी श्रीमतीहरूले मनमा शंका-उपशंका गर्छन् होला । आखिर कपडाभित्रका अङ्ग त सबैको एउटै होलान् । घरमा भएको मान्छेलाई ढाँट्दै अरूलाई यातना दिन कसरी मनले मानेको होला ? मलाई कहिलेकाहीं त लाग्छ कि सारा बस्त्र उतारेर सडकका गल्ली-गल्लीमा हेर दुनियाँ ! मसँग भएको यत्ति हो, के गर्न मन छ गर ! भनेर चिच्याउँदै छाती खोलेर दुनियाँलाई चुनौती दिऊँ !

नातागोता, छरछिमेक, कार्यस्थल, मनबाट सम्मान गरेको व्यक्ति, जहाँ पुगे पनि ठोक्किने र भोग्नुपर्ने भएपछि तिमीप्रतिको त्यो अभाव मलाई समय अन्तरालमा अझै गहिरोसँग महसुस भएको छ । थाहा छैन मलाई अपमान, हेपाइको सगरमाथा अझै कति चढ्नुपर्ने हो । जीवनमा अझै कति आँसुको घुट्का पिउनुपर्ने हो । मुटु कति छियाछिया पार्नुपर्ने हो ?

सायद त्यसैले होला मेरा बाले पुनःविवाह गराउन सधैं हत्ते हाले । मेरै पीरले उनी मूर्झाउँदै गएथे । कैयौं वर्ष उदासीनताको सिकार समेत बने । उनलाई थाहा रहेछ त ? एकल बनेर बाँच्न कति जटिलता रहेछ । उनले बुझेका रहेछन् गिद्धहरूले मेरो शरीर लुछ्न तँछाडमछाड गर्नेछन् तर तिमीले किन थाहा पाएनौ र मलाई एक्लो पारेर आफू मात्रै लुसुक्क गयौ ! जाने बेला किन त्यति धेरै हतार गर्‍यौ ? मलाई सुइँको समेत दिएनौ !

मलाई तिमीले पनि त तड्पाएर गएका थियौ । तिमी त मर्‍यौ भन्छन् सबैले तर केवल एक पटक मात्रै । टुक्रा-टुक्रा पारेर काटियौ भन्छन् केवल एक पटक मात्रै अनि बन्यौ रे शहीद । तर आजको मितिसम्म मैले भन्छु म जिउँदै हजार पटक, पलपल काटिएकी छु तिनका गिद्धे नजरबाट । म्यासेन्जरमा खस्ने टुप्लुक्क म्यासेजबाट । तिनका स्पर्शबाट । तिनका शब्दबाणबाट ।

थाहा छैन जीवनको अन्तिम घडीसम्म अझै कतिपटक मर्नेछु ? कति पटक काटिनेछु ? कति पटक लुछिनेछु ? कति ड्रम आँसुको घुट्का पिउने र खसाल्ने छु ? अझै मेरो शरीर देखेर कति र्‍याल चुहाउने, काढिने हुन् ? मेरो निर्जीव बनाइएको शरीरसँग खेल्न खोज्ने हुन् र भन्ने हुन् तिमी मेरी संसारकी प्यारी हौ । भनिदेऊ न प्रिय मेरो युद्ध कहिले सकिन्छ र म शहीद घोषणा हुनेछु ? अनि तिमीसँगै सदाको निम्ति विलीन हुनेछु ।

खैर तिमी विनाको दुई दशक मेरो निम्ति फलामको चिउरा चपाए जस्तै थियो, छ, हुनेछ । अनि भन्न मन लागेको छ बाँचेर त हेर तिम्री प्यारी कति अपमानित बनेकी छ । पलपल बाँचेर पनि मरिरहेकी छ । तर तिमी त मरेर पनि बाँचिरहेका छौं । मरेर पनि बाँचिरहेका छौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?