+
+

३ वर्षे स्नातक तह लागू हुन समय लाग्छ : उपकुलपति बराल

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन १८ गते ८:०२

१८ फागुन, काठमाडौं । त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा.केशरजंग बरालले स्नातक तह यसै वर्ष तीन वर्षे बनाउन सम्भव नहुने बताएका छन् ।

बरालले उपकुलपति पद बहाली हुँदा मानविकी तथा व्यवस्थापन संकाय चार वर्षे स्नातक तहलाई तीन वर्षे बनाउने घोषणा गरेका थिए ।

उपकुलपतिको घोषणाले यी संकायहरुमा अध्ययनरत विद्यार्थीहरुलाई यही वर्षदेखि तीन वर्षे हुने हो वा अर्को वर्षदेखि भन्ने अन्योल सिर्जना भएपछि उपकुलपति बरालले यो वर्षदेखि सम्भव नहुने स्पष्ट पारेका हुन् ।

उनले भने, ‘यो वर्षदेखि स्नातकलाई तीन वर्षे कार्यक्रम बनाउन सम्भव हुँदैन किनभने त्यसको लागि धेरै कामहरु गर्नुपर्ने हुन्छ ।’

चार वर्षे स्नातक तहलाई तीन वर्षे बनाउनको लागि पाठ्यक्रम नै परिमार्जन गर्नुपर्ने भएकोले समय लाग्ने बताए । उनले टिम बनेपछि (रेक्टर तथा रजिष्ट्रार नियुक्ति भएपछि) छलफल गरेर प्रक्रिया थाल्ने बताए ।

सञ्चालनमा रहेको चार वर्षे स्नातक तहलाई तीन वर्षे बनाउनको लागि पाठ्यक्रम परिमार्जनको लागि सम्बन्धित संकायहरु तथा विद्यार्थीहरुसँग छलफल गर्ने, विषय समितिहरुसँग छलफल गरेर निर्णय गर्ने बताए । निर्णय भइसकेपछि पनि विभिन्न प्रकृयाहरु पूरा गर्नुपर्ने भएकोले समय लाग्ने उनको भनाइ छ ।

छिमेकी मुलुक तथा अमेरिकामा पनि तीन वर्षे स्नातक सञ्चालन भइरहेको र नेपालको लागि पनि तीन वर्षे स्नातक नै उपयुक्त हुने भएकोले तीन वर्षे बनाउनुपर्ने उपकुलपति बरालले तर्क गर्दै आएका छन् । तर, यूरोप तथा अमेरिका जहाँ चार वर्षे स्नातक पढाइ हुन्छ त्यस्ता देश जान चाहने विद्यार्थीको लागि थप एक वर्षे कोर्ष राख्ने गरी परिमार्जन गर्ने बताए ।

तीन वर्षे कोर्ष बनाउँदा उपयुक्त हुने कार्यक्रमहरु चार वर्षे बनाएर विद्यार्थी, विश्वविद्यालयको समय खर्च भैरहेको बताउँछन् ।

उनको भनाइ अनुसार नेपालमा स्नातक तहलाई चार वर्षे बनाइएको एक दशक पनि पूरा नहुँदै फेरि तीन वर्षे हुने भएको छ ।

यस शैक्षिक वर्षको शुरुवातदेखि नै केही प्राध्यापक तथा शिक्षकहरुले चार वर्षे कोर्षको औचित्यमाथि प्रश्न उठाउन थालेका थिए ।

२०५२ सालसम्म दुई वर्षको रहेको स्नातक तहलाई २०५३ सालदेखि २०७१ सम्म तीन वर्षको बनाइएको थियो । तर, विदेशका कतिपय विश्वविद्यालयमा चार वर्षे स्नातक तह रहेको र नेपाली विद्यार्थी ती विश्वविद्यालयमा पढ्न जाँदा स्नातकमै थप एक वर्ष पढ्नुपर्ने कारण देखाएर नेपालमा २०७२ सालदेखि चार वर्षे स्नातक कार्यक्रम सुरु भएको थियो ।

मुलुककै ठूलो त्रिभुवन विश्वविद्यालयले विज्ञान, व्यवस्थापन, शिक्षा संकायमा २०७२ सालदेखि र मानविकी तथा सामाजिक शास्त्र संकायमा २०७६ सालदेखि र शिक्षा संकायमा २०७४ सालदेखि स्नातक कार्यक्रम चार वर्षको बनाइएको थियो । तर, हिजोआज स्नातक तहमा भर्ना हुने विद्यार्थी घटिरहेको र भर्ना भएकाहरूले पनि धेरै समय लाग्ने भन्दै बीचैमा पढाइ छाड्ने गरेको पाइएको प्राध्यापकहरू बताउँछन् ।

चार वर्षे शैक्षिक कार्यक्रम पढेका विद्यार्थीको समयमा परीक्षा तथा नतिजा सार्वजनिक नहुँदा स्नातक तह सक्न पाँच वर्षभन्दा बढी लाग्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?