+
+

कञ्चनपुरको जोगबूढा नदीमा तटबन्ध बन्दा स्थानीयलाई राहत

रासस रासस
२०८० फागुन १८ गते १२:४३

१८ फागुन,कञ्चनपुर। बर्सेनि बाढी कटानले सताउने कञ्चनपुरको दोधारा चाँदनी–१० कुतियाकबरस्थित जोगबूढा नदीमा तटबन्ध बनाइएको छ । । महाकाली र जोगबूढा नदीको कटानले आजित बनेका स्थानीय तटबन्ध बनेपछि राहत पाएका छन् ।

जनताको तटबन्ध कार्यालय महेन्द्रनगरले जोगबूढा नदीमा यस वर्ष २ सय १ मिटर तटबन्ध निर्माण गरेको छ । कुतियाकबर जोड्ने जोगबूढा नदीमाथिको झोलुंगे पुलबाट २ सय मिटर नदीमा कटान नियन्त्रणका लागि तटबन्ध गरिएको जनताको तटबन्ध कार्यालय महेन्द्रनगरका इन्जिनियर करुणाकर पन्तले बताए ।

‘जोगबूढा नदीमा तटबन्ध निर्माणको काम सकिएको छ’, इन्जिनियर पन्तले भने, ‘यस वर्ष महाकाली नदीमा ५–६ ठाउँमा तटबन्ध मर्मतको काम हुन्छ ।’ उनका अनुसार महाकाली र जोगबूढा नदी मिसिने ठाउँमा करिब ८ सय मिटर तटबन्ध नयाँ निर्माण तथा मर्मत गरिने छ ।

दोधारा चाँदनी नगरपालिका–१० स्वास्थ्य चौकी नजिक महाकाली नदीमा गत वर्ष डेढ सय मिटरभन्दा बढी तटबन्ध निर्माण भएको थियो । दोधारा चाँदनी–१ स्थित नेपाल–भारत सीमा प्रारम्भविन्दुमा कंक्रिट ब्लक निर्माणको काम भइरहेको इन्जिनियर पन्तले जानकारी दिए ।

महाकाली र जोगबूढा नदीमा तटबन्ध निर्माण तथा मर्मतका लागि गत वर्ष १६ करोड बजेट आएको थियो । सो बजेटमा तटबन्ध निर्माण र मर्मतको काम भइरहेको हो । यसको ठेक्का शंकर जोशी जेभीले पाएको थियो । ‘काम सम्पन्न हुँदासम्म बजेट अपुग हुने सम्भावना छ । त्यसैले बजेट थपका लागि जनस्रोत तथा सिँचाइ विभागलाई पत्राचार गरेका छौं’, उनले भने ।

जोगबूढा नदीमा तटबन्ध निर्माण भएपछि स्थानीय बासिन्दा खुसी छन् । बर्सेनि कटान र बाढीको चपेटामा पर्ने कुतियाकबरका स्थानीयलाई तटबन्ध निर्माणपछि निकै राहत हुने दोधारा चाँदनी नगरपालिका–१० का अध्यक्ष चन्द्रबहादुर सिंह बताउँछन् ।

‘भारतले जोगबूढामा पानी छाडेपछि तटबन्ध निर्माण गर्न सकिँदैनथ्यो । २ सातामै तटबन्ध निर्माणको काम सकियो’, सिंहले भने, ‘यहाँका किसानको खेत कटान तटबन्धले नियन्त्रण गर्ने विश्वास छ ।’

दोधारा चाँदनी–१० मा पर्ने कुतियाकबर बस्तीलाई जोगबूढा र महाकाली नदीले घेरेको छ । बर्सेनि यहाँका स्थानीय कटान र बाढीको समस्या झेल्दै आएका छन् । महाकाली र जोगबूढा नदीको कटानले स्थानीय बासिन्दाको जमिन कटान गरेर यहाँबाट विस्थापित हुने अवस्था आएको छ ।

जोगबूढामा यस वर्ष तटबन्ध निर्माणपछि त्यहाँबाट आउने बाढी र गर्ने कटान नियन्त्रण हुने आशा पलाएको कुतियाकबरका स्थानीय बासिन्दा खड्के बुढाले बताए । ‘जोगबूढामा तटबन्ध निर्माण भएपछि झोलुंगे पुल भएर बस्ती पस्ने बाढी र हुने कटान रोकिन्छ’, उनले भने, ‘अझै ८ सय मिटर तटबन्ध निर्माण भए जोगबूढाको समस्या समाधान हुन्थ्यो ।’

कुतियाकबरमा नेपाली सेनाले ‘सेफ हाउस’ पनि बनाइरहेको छ । कुतियाकबरस्थित महाकाली नदीमा तटबन्ध नभएकाले त्यस क्षेत्रबाट कटानको उच्च जोखिम रहेको बुढाले बताए ।

‘गत वर्ष महाकालीले दुई बिघा जमिन कटान गर्यो, महाकालीतिर तटबन्ध छैन’, उनले भने, ‘बर्सेनि हुने कटानले गाउँ नै जाने सम्भावना छ । महाकालीमा पनि तटबन्ध निर्माण गरेर कटान रोक्नुपर्छ ।’

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?