+
+

अन्नपूर्ण र मनास्लु संरक्षण क्षेत्रको म्याद थप्ने निर्णयविरुद्ध गण्डकी प्रदेश सर्वोच्च जाने

१६ वटा स्थानीय तहले गरे म्याद थप्ने संघको निर्णय अस्वीकार

अमृत सुवेदी अमृत सुवेदी
२०८० फागुन १८ गते १८:४४

१८ फागुन, पोखरा । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) र मनास्लु संरक्षण क्षेत्र आयोजना व्यवस्थापनको जिम्मा संघीय सरकारले फेरि ५ वर्षका लागि राष्ट्रिय प्रकृति संरक्षण कोष (एनटीएनसी)लाई नै दिएपछि गण्डकी प्रदेश सरकारले कानुनी उपचार खोज्ने भएको छ ।

पुस ५ गते बसेको संघीय मन्त्रिपरिषदको बैठकले २०८५ असार मसान्तसम्मका लागि एक्याप र एमक्यापको जिम्मेवारी कोषलाई सुम्पिने निर्णय गरेपछि सर्वोच्चमा गण्डकी प्रदेश सरकारले रिट हाल्ने तयारी गरेको हो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वन तथा वातावरण मन्त्रालय, कानुन न्याय तथा संसदिय मामिला मन्त्रालय, राष्ट्रिय प्रकृति संरक्षण कोषको सचिवालय, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग, एक्याप र एमक्यापलाई विपक्षी बनाएर प्रदेशले रिटको तयारी गरेको मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बताएका छन् ।

समुदायमा हस्तान्तरण गर्ने अवधारणासहित सुरु भएको एकयाप, एमक्याप देश संघीयतामा गएपछि गण्डकी प्रदेश सरकारले मन्त्रिपरिषदकै निर्णय गरेर पटक पटक व्यवस्थापनको जिम्मा दिन माग गरेको थियो ।

एक्याप क्षेत्र समेटिएका  १५ वटा स्थानीय तह र एमक्याप समेटिएको १ वटा स्थानीय तहले पनि प्रदेश र स्थानीय तहलाई व्यवस्थापनको जिम्मा दिनुपर्ने माग गर्दै आएका थिए । तर, संघीय सरकारले त्यसको बेवास्ता गर्दै ५ वर्षका लागि एनटिएनसीलाई नै सुम्पिएपछि प्रदेश र स्थानीय तह रुष्ट छन् ।

संरक्षण क्षेत्र समन्वय परिषद बनाएर प्रदेश र स्थानीय तहको सहभागिता गराउने गरी सरकारले कोषलाई जिम्मेवारी दिएको छ । तर, देश संघीयतामा गइसकेपछि पनि केन्द्र सरकारले अधिकार र राजश्वको स्रोत आफ्नै मुठीमा राखेको भन्दै मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको निर्देशनमा मुख्य न्यायाधीवक्ताको कार्यालयले सर्वोच्चमा रिट हाल्नका लागि ड्राफ्टसमेत तयार पारिसकेको छ ।

मुलुक संघीय लोकतान्त्रिक गण्तन्त्रात्मक शासन व्यवस्थामा प्रदेश गरिसक्दा पनि संविधानले नै परिभाषित गरेको केन्द्रिकृत एकात्मक राज्य व्यवस्था र सोही व्यवस्थाले निर्माण गरेको प्रकृति संरक्षण कोष ऐन २०३९ को धरातललाई टेकेर प्रदेशसँग कुनै सहकार्य, समन्वय वा सहमतिबिनै संघले गरेको निर्णय मान्य नहुने प्रदेशले तयार गरेको रिटमा उल्लेख छ ।

गण्डकी प्रदेशको झण्डै ४५ प्रतिशत भूभागभित्रको जल, जंगल, जमिन र प्राकृतिक स्रोतउपर हैकम र एकाधिकार चलाउँदै आएको एक्याप, एमक्यापलाई ५ वर्षको म्याद थप्नु संविधान प्रदत्त हकमा गम्भीर आघात पुगेको र सो विषय गम्भीर संवैधानिक व्याख्याको विषय भएकाले निवेदन हाल्ने अवस्था आएको रिटको ड्राफ्टमा भनिएको छ ।

संविधानको अनुसूची ६ को १९ नम्बरअनुसार प्रदेशको एकल अधिकार सूची अन्तर्गत राष्ट्रिय वन, जल उपयोग तथा वातावरण व्यवस्थापन गर्ने प्रावधान छ । सो अधिकार सूचीलाई सरकारले पारित गरेको कार्यविस्तृतीकरण प्रतिवेदनले थप व्याख्या गर्दै संरक्षण क्षेत्र र चरन क्षेत्रको व्यवस्थापन गर्ने जिम्मा पनि प्रदेशलाई दिइएको छ ।

एक्याप, एमक्याप कोषलाई सुम्पिने प्रधानमन्त्री तथा मन्त्रिपरिषदको निर्णय नै बदरभागी रहेको गण्डकी प्रदेश सरकारको ठहर छ । गण्डकी प्रदेशले हालै ल्याएको प्रदेश वन ऐनअनुसार पनि संविधानको मर्मअनुसार संरक्षण क्षेत्र व्यवस्थापनको दायित्व प्रदेश सरकारलाई हुने उल्लेख छ ।

गण्डकी प्रदेश सरकारले मुद्धा हाल्ने तयारी गर्नुको प्रमुख कारण एक्याप र एमक्याप क्षेत्रबाट आउने राजश्व हो । अहिलेसम्म एक्याप, एमक्यापको राजश्व कोषको खातामा जाने गरेको छ । संरक्षण क्षेत्रको स्रोत, साधन उपयोगमासमेत स्थानीय तह र एक्यापको लामो समयदेखिएको द्वन्द्व छ ।

एक्याप, एमक्याप क्षेत्रबाट प्राप्त हुने राजश्वसमेत बाँडफाँड नगरी कोषले आफ्नै व्यवस्थापन खर्च गर्ने गरी राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगलाई धुमिल पार्ने काम भएको गरेको मुख्यमन्त्री पाण्डेको ठम्याइ छ ।

एक्याप, एमक्याप क्षेत्र प्रदेशमा नेपालीका लागि १ सय रुपैयाँ, सार्क राष्ट्रका पर्यटकलाई १ हजार रुपैयाँ र अन्य विदेशी पर्यटकलाई ३ हजार रुपैयाँ प्रवेश शुल्क उठाउँदै आएको छ । एक पटकका लागिमात्र यो शुल्क हो । एक्याप, एमक्याप क्षेत्रकै अर्को प्वइन्टमा गयो भने फेरि शुल्क लाग्छ । व्यावसायिक हेलिकप्टर उडानको प्रतिपटक ३ हजार रुपैयाँ उठाउने गरेको छ ।

संरक्षण क्षेत्रमा बनेका संरचना र होटल तथा रेस्टुरेन्टको पनि नवीकरण तयारी एक्याप, एमक्यापले गरिरहेको छ । दाउरा, काठ तथा गाउँलेले प्रयोग गर्ने ढुंगा गिटी बालुवा लगायतको शुल्क समुदायमा रहेको संरक्षण क्षेत्र व्यवस्थापन समितिले उठाउने गरेको एक्यापको कार्यालय पोखराका प्रमुख रविन कडरियाले जानकारी दिए ।

काठ, रुख कटान र नदीजन्य पदार्थको उपयोगबारे स्थानीय तह र एक्याप, एमक्यापबीच द्वन्द्वसमेत सिर्जना भएको छ । एक्याप क्षेत्रबाट अघिल्लो वर्षमात्रै ३० करोड रुपैयाँ राजश्व उठेको थियो । त्योभन्दा अघिल्लो साल २१ कराड रुपैयाँ र कोभिडकालमा ८० लाख रुपैयाँ पनि राजश्व संकलन भएको कडरियाले जानकारी दिए । एमक्यापबाट ५ करोड रुपैयाँसम्म राजश्व उठ्ने गरेको छ ।

एक्यापको मुख्य कार्यालयसहित ७ ठाउँमा संरक्षण कार्यालय, ९ वटा चेकपोस्ट ३ वटा काउन्टर र एउटा संग्राहलय छ । ५७ वटा संरक्षण क्षेत्र व्यवस्थापन समिति छन् । कर्मचारी १ सय २ जना कर्मचारी रहेको कडरियाले जानकारी दिए । एक्याप, एमक्यापले उडाएको राजश्व संघीय विभाज्य कोषमा जम्मा नगरी मनपरी ढंगले प्रयोग गरेको प्रदेश र स्थानीय तहले बताइरहेका छन् ।

गण्डकी प्रदेशलाई प्रभावकारी सेवा व्यवस्थापन र खर्च गर्नका निम्ति प्रभावकाली वित्तीय व्यवस्थापन आवश्यक पर्ने र संघको निर्णयले प्रदेश सरकारको वित्त व्यवस्थापनमा नै नकारात्मक असर पर्ने भन्दै रिट हाल्न लागिएको हो ।

१६ पालिकाको निर्णयः संघको निर्णय अस्वीकार गर्ने

सर्वोच्चमा रिट हाल्ने तयारी गरेको गण्डकी प्रदेश सरकारले एकयाम र एमक्याप क्षेत्रका स्थानीय तहको राय पठाउन लिखितरुपमा आग्रह नै गरेको थियो । माघ ११ गते प्रदेशले पत्र काटेर राय पठाउन भनेर १६ वटा पालिकाको बैठक बसेर फागुन ४ गते संघको निर्णय अस्वीकार गर्ने लिखित निर्णय नै गरेका छन् ।

माछापुच्छ्रे गाउँपालिकामा बसेको १६ वटा स्थानीय तहले एक्याप, एमक्यापको व्यवस्थापनको म्याद थपेर फेरि संरक्षण कोषलाई नै संविधानबिपरीत भनेका छन् ।

पालिकाले निर्णय प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयलाई पठाउँदै संघलाई निर्णय सञ्चाउन दबाब दिनुपर्ने बताएका छन् । यसअघि गाउँपालिका महासंघ गण्डकीको बैठकबाटै एक्याप, एमक्यापको व्यवस्थापनको जिम्मा दिनुपर्ने माग राखेका थिए ।

मुद्धा हाल्ने तयारी गरेको गण्डकी प्रदेश सरकार, नेपाल सरकारका मुख्य सचिव, वन मन्त्रालयका सचिव, एक्याप, एमक्यापका प्रतिनिधि, स्थानीय तहसमेतको गत फागुन ५ गते गण्डकीमै बैठक बसेको थियो । बैठकमा संघलाई निर्णय सच्याउन आग्रह गर्दै गण्डकीका मुख्यमन्त्री पाण्डेले कानुनी लडाईँको तयारी गरेको बताएका थिए ।

मुख्यमन्त्री एक्याप, एमक्यापका विषयमा आक्रोसित बनेपछि मुख्य सचिव वैकुण्ठ अर्यालले यो विषयमा एक महिनाभित्र केही न केही सहजीकरण हुने गरी काम गर्ने बताएका थिए । तर, संघले निर्णय सच्याउने छाँटकाँट नगरेपछि स्थानीय तहहरुकोसमेत सहकार्यमा सर्वोच्चमा  रिछ हाल्ने तयारी गण्डकी प्रदेश सरकारले गरेको हो ।

‘हाम्रा असहमतिका बाबजुद पनि एक्याप र एमक्यापको रिन्यु भएको छ । जसलाई हामीले घोर अब्जेक्सन गरेका छौं,’ बुधबार संसद बैठकमै मुख्यमन्त्री पाण्डेले भने, ‘रोस्टममा उभिएर म मानीयज्यूहरुको अगाडि यो पनि जानकारी गराउन चाहन्छु । हामिले समयसीमा दिएका छौं । यदी त्यो समय सीमाभित्र सच्याइएन भने संवैधानिक निराकरणको उपाय खोज्नका लागि कानुनी उपचारमा जान्छौं ।’

२०७६ माघ ४ गते म्याद सकिएपछि अर्को व्यवस्था नभएसम्मका लागि (एक्याप) र एमक्यापको १ वर्ष व्यवस्थापन संरक्षण कोषले नै गर्ने सरकारले निर्णय गरेको छ । त्योभन्दा अगाडि नै गण्डकी प्रदेश सरकारका तत्कालीन मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ एक्याप, एमक्याप हस्तान्तरण गर्न मन्त्रिपरिषदबाटै निर्णय गरेर माग गरेका थिए ।

त्यसको ठिक १ वर्षपछि २०७७ माघ ४ गते फेरि गण्डकी प्रदेशको मन्त्रिपरिषदको बैठकले पनि प्रदेशलाई व्यवस्थापनको जिम्मा दिन संघीय सरकारसँग अनुरोध गरेको थियो । २०७६ साल माघमै वन तथा वातावरण मन्त्रालयको नेतृत्वमा पोखरामै भएको छलफलमा संघीयताको ढाँचाअनुसार खाका तयार गर्ने र १ वर्षभित्र प्रदेशलाई हस्तान्तरण गर्ने निर्णय नै भएको थियो । तर, संघले प्रदेशलाई हस्तान्तरण गरेन भने प्रकृति संरक्षण कोषसँग म्याद नथपिए पनि एक्याप, एमक्यापले नियमित काम गरिरहेका थिए ।

२०४८ सालदेखि एक्यापको व्यवस्थापन नेपाल सरकारले राष्ट्रिय प्रकृति संरक्षण कोष (एनटिएनसी) लाई दिएको छ । विश्वकै उत्कृष्ट १० पदमार्गमध्ये पर्ने अन्नपूर्ण सर्किटसहित एक्याप क्षेत्रमा हुने पर्यटकीय गतिविधिबाट उठ्ने करोडौं रुपैयाँ संरक्षण कोषले प्रयोग गर्दै आएको छ ।

२०७१ सालमा अन्तिमपटक भन्दै एनटिएनसीलाई ५ वर्षका लागि एक्याप व्यवस्थापन गर्न दिइएको थियो । म्याद माघ ३ म्याद सकिनुभन्दा पहिले नै खाका र व्यवस्थापनको आधार तयार पारेर समुदायमा हस्तान्तरण गर्ने भनिएको थियो । तर, ठूलो राजस्व प्राप्त हुने एक्याप प्रदेशलाई दिनुको सट्टा कोषलाई नै सुम्पिएपछि प्रदेश र स्थानीय तह रुष्ट बनेका हुन् ।

देशमा गणतन्त्र र नयाँ संविधान आइसकेको अवस्थामा पनि पुरानै कानुन समातेर बस्दा स्थानीय र जनप्रतिनिधिबीच द्वन्द्व बढेको पूर्व संघीय सांसद प्रेमप्रसाद तुलाचनको भनाइ छ ।

नेपाल सरकारबाट एक्याप व्यवस्थापनको जिम्मेवारी राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ बमोजिम राष्ट्रिय प्रकृति कोषले गर्दै आएको छ । २०७२ सालमा संविधान जारी भएर संघीयताअनुसार ३ तहको सरकार बने पनि एक्याप भने पुरानै ऐन, संरक्षण क्षेत्र व्यवस्थापन नियमावली २०५३ र संरक्षण क्षेत्र व्यवस्थापन निर्देशिका २०५६ अनुसार कोषले व्यवस्थापन गर्दै आएको छ ।

७ हजार ६ सय २९ बर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको एक्याप गण्डकी प्रदेशभित्र पर्ने एक्याप देशकै ठूलो संरक्षण क्षेत्र हो । कास्की, लमजुङ, मनाङ, मुस्ताङ र म्याग्दीसम्म फैलिएको छ । २०४३ मंसिरदेखि कास्कीको घान्द्रुकबाट परीक्षण सुरु भएको आयोजना २०४९ साउनमा नेपाल सरकारले संरक्षण क्षेत्रको चार किल्ला तोकेको थियो ।

लेखकको बारेमा
अमृत सुवेदी

पोखरामा रहेर पत्रकारिता गरिरहेका सुवेदी अनलाइनखबरका गण्डकी प्रदेश ब्युरो प्रमुख हुन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?