+
+

कमलनयनाचार्यको शक्ति : पञ्चकोटमा राष्ट्रपति, प्रधानमन्त्रीदेखि विशिष्टको लर्को

हिन्दु धार्मिक गुरु कमलनयनाचार्यको आयोजनामा बागलुङको पञ्चकोटमा भएको महायज्ञमा राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री प्रचण्ड, मन्त्रीहरु, मुख्यमन्त्रीसहितका विशिष्ट व्यक्तिहरु पुगिसकेका छन् ।

अमृत सुवेदी अमृत सुवेदी
२०८० फागुन १९ गते १९:३९

१९ फागुन, पोखरा । शनिबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेपाली सेनाको हेलिकप्टर चढेर बागलुङको पञ्चकोट पुगे ।

अनन्तश्री ब्रह्माण्डीय नाममा महायज्ञ भइरहेको पञ्चकोटमा ओर्लिनेबित्तिकै गाडीमा चढेर प्रधानमन्त्री प्रचण्ड हिन्दु धार्मिक गुरु स्वामी कमलनयनाचार्यको कुटीमा पुगे ।

प्रधानमन्त्रीको स्वागतमा सरकारी अधिकारी र विभिन्न पार्टीका नेता कार्यकर्ताहरु हेलिप्याडमै पुग्दा कमलनयनाचार्य भने कुटीमै थिए । प्रचण्ड आफैं कुटीभित्र छिरे र कमलनयनाचार्यसँग केही मिनेट एक्लाएक्लै कुराकानी गरेपछि दुबै जना बाहिर निस्किए । कमलनयनाचार्यले पञ्चकोटबारे केही जानकारी गराए र प्रधानमन्त्रीलाई घुमाउन आफ्ना सहयोगीलाई अह्राए ।

कुटीबाहिर उपस्थित सरकारी अधिकारीहरु खासखुस गर्दै थिए, ‘स्वामीको शक्ति त मान्नैपर्छ । राष्ट्रपति, प्रधानमन्त्री ल्याएर कुटीमा झुकाइदिएका छन् ।’

प्रधानमन्त्री कमलनयनार्चको बस्ने कुटीमा गएका बेला पञ्चकोटको महायज्ञमा आएका दर्शनार्थीलाई महायज्ञस्थल मन्दिर परिसरमा जान रोकिएको थियो ।

पञ्चकोटमा निर्माण गरिएका धार्मिक संरचनाको अवलोकन गर्दै प्रधानमन्त्री प्रचण्ड महायज्ञ स्थलमा पुग्दा कमलनयनाचार्य पनि त्यहीँ आइपुगे ।

महायज्ञस्थलमा आयोजित छोटो औपचारिक कार्यक्रममा ३ जनामात्रै वक्ता थिए । बागलुङ घर भएका नेपाल उद्योग वाणिज्य संघका अध्यक्ष चन्द्रप्रसाद ढकाल, प्रधानमन्त्री प्रचण्ड र स्वामी कमलनयनाचार्य ।

प्रचण्डलले स्वामी कमलनयनाचार्यको खुलेर प्रशंसा गरे भने कमलनयनाचार्यले आफूमाथि वन मुद्धा लाग्दा बिहानै ६ बजे गएर प्रचण्डलाई भेटेपछि समस्या समाधान भएको स्मरण गरे ।

प्रधानमन्त्रीले कमलनयनाचार्यले नवलपरासीको गजेन्द्र मोक्षधामदेखि पञ्चकोट, मुक्तिनाथ क्षेत्र र दामोदय कुण्डसम्म धार्मिक पर्यटनको विकासमा ठूलो योगदान पु¥याएको प्रचण्डले बताए । कमलनयनाचार्यले भने गजेन्द्र मोक्षधाम बनाउँदा सञ्चार माध्यमले विपक्षमा समाचार लेखेको सुनाए ।

‘त्यस्तो बेलामा बिहानै ६ बजे प्रधानमन्त्रीज्यूको निवासमा पुगेका थिएँ । अरु प्रधानमन्त्री र देशका प्रभुत्व व्यक्तिलाई पनि आग्रह गरेको थिएँ’, कमलनयनाचार्यले प्रचण्डलाई जोड्दै भने, ‘कसैले हलका रुपमा लिनुभयो । उहाँले विकासवादी स्वामीका रुपमा लिएका छौं, त्यस्तो कहाँ हुनुहुन्छ र हामी साथ छौं भनेपछि गजेन्द्र धाम दिव्यधामको रुपमा बनिदियो ।’

नवलपरासीमा निकुञ्ज क्षेत्रका रुख काटिएपछि उनको आलोचना भएको थियो भने सार्वजनिक जग्गा हडपेर संरचना बनाएको भन्दै उनी विवादितसमेत भएका थिए । त्योबेला प्रचण्डकै आडभरोसाले गजेन्द्र मोक्षधामको योजना अगाडि बढेको बताएका कमलनयनाचार्यले पञ्चकोटमा भने जग्गाहरु केही आफैंले किनेर र केही दानमा लिएर धार्मिक संरचना बनाइरहेका छन् ।

कमलनयनाचार्य पञ्चकोटमा बनाउन सुरु गरेको धार्मिक संरचनाको लागि आर्थिक सहयोग जुटाउन महायज्ञ आयोजना गरेका छन् । सोही महायज्ञको ११ औं दिनमा प्रधानमन्त्री प्रचण्ड सहभागी भएका हुन् ।

कमलनयनाचार्यको महायज्ञमा आउने प्रधानमन्त्री प्रचण्डमात्रै होइनन् । राष्ट्रपति रामचन्द्र पौडेल, उपसभामुख इन्दिरा राना, मन्त्रीहरु डा. प्रकाशशरण महत, मोहनबहादुर बस्नेत र गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे पनि पुगिसकेका छन् ।

महायज्ञको पूर्वसन्ध्यामा २९ माघमा गण्डकीको मन्त्रिपरिषदको बैठक पञ्चकोटमै बसेको थियो । मन्त्रिपरिषद बैठकपछि महायज्ञमा आवश्यक सहयोग र सहभागिताका लागि प्रदेश सरकारले सार्वजनिक आह्वान नै गरेको थियो ।

९ फागुनमा महायज्ञ सुरु भएको दिन गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे सहभागी थिए भने १० फागुनमा राष्ट्रपति रामचन्द्र पौडेल अतिविशिष्ट व्यक्तिले प्रयोग गर्ने नेपाली सेनाको हेलिकप्टरमार्फत पञ्चकोट पुगेर उद्घाटन गरेका थिए ।

पञ्चकोट क्षेत्रमा विश्वकै अग्लो कलश निर्माण गर्ने र त्यसबाट धार्मिक पर्यटक भित्र्याउने योजना बनाइएको छ । कमलनयनाचार्यले पञ्चकोटमा ५ अर्बका संरचना बनाउने गुरुयोजना अगाडि सारेका छन् र यसपटक स्थानीय तह, प्रदेशदेखि संघीय सरकारसम्मको सहयोगको अपेक्षासमेत राखेका छन् ।

२३ गते समापनमा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली सहभागी हुने कार्यक्रम जानकारी पाएको बागलुङ प्रहरी प्रमुख ऋषिराम कँडेलले बताए । ‘आज प्रधानमन्त्रीज्यू आउनुभयो अब २३ गते पूर्वप्रधानमन्त्री केपी शर्मा ओली आउने सूचना प्राप्त भएको छ ।’

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले पञ्चकोटले बागलुङलाई मात्रै होइन, देशलाई नै फाइदा पु¥याइरहेको बताए । धार्मिक पर्यटनको माध्यमबाट देशले ठूलो फाइदा लिन सक्ने उनको भनाइ छ ।

२०७१ मा महायज्ञमार्फत धार्मिक संरचना तयार हुँदै आएको पञ्चकोटमा थप पूर्वाधार निर्माणकै लागि भनेर फेरि महायज्ञ गरिएको हो ।अहिलेसम्म ५० करोड रुपैयाँभन्दा बढी लागतका संरचना निर्माण भइरहेको कमलनयनाचार्य बताउँछन् ।

गुरुयोजना सफल बनाउनकै लागि विभिन्न विषयमा सम्मेलनसमेत गर्ने गरी गरिएको महायज्ञ नेपालमै पहिलो पटक भएको उनको दाबी छ । सम्मेलनमा जल, ऊर्जा, विकास, वातावरण, देश विकास र सुशासनका विषयमा छलफल भइरहेको उनले बताएका छन् ।

लेखकको बारेमा
अमृत सुवेदी

पोखरामा रहेर पत्रकारिता गरिरहेका सुवेदी अनलाइनखबरका गण्डकी प्रदेश ब्युरो प्रमुख हुन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?