+
+

सार्वजनिक सम्पत्ति खोजेर संरक्षण गर्न पोखरा महानगरलाई रास्वपाको ध्यानाकर्षण

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन २१ गते १९:१७

२१ फागुन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सार्वजनिक सम्पत्तिको खोजी गरेर महानगरको स्वामित्वमा ल्याउन पोखराका मेयर धनराज आचार्यलाई ध्यानाकर्षण पत्र बुझाएको छ । रास्वपाको केन्द्रीय सार्वजनिक मामिला विभागले सोमबार महानगरलाई ४ बुँदे ध्यानाकर्षण पत्र बुझाएको हो ।

रास्वपाले बुझाएको पत्रमा सार्वजनिक जग्गा महानगरको स्वामित्वमा ल्याएर संरक्षण गर्नुपर्ने, अवैध अतिक्रमण र भोगचलन गरिएको भए त्यसलाई हटाउन भनिएको छ । ‘ती ठाउँमा सार्वजनिक पहुँच विस्तार र व्यावसायिक प्रयोजनमा ल्याउँदा प्रतिस्पर्धाको आधारमा कर तथा भाडाको दायरामा ल्याइयोस्’, पत्रमा भनिएको छ ।

त्यस्तै, पोखराले ल्याएको ‘ग्रिन सिटी’ अवधारणासँगै अब बन्ने सबै संरचनामा हरियो रङ लगाउने भनिएकोबारे पनि प्रष्ट पार्न पनि सुझाइएको छ । ‘कृत्रिम हरियो रङले पोखराको पहिचान स्थापित हुन सक्दैन’, ध्यानाकर्षण पत्रमा भनिएको छ, ‘यदि रङ पोत्ने नीति नै हो भने हरियालाी संरक्षण र वृक्षारोपण अभियानमा रुपान्तरण गरियोस् ।’

रास्वपाले चैत महिलाबाट हरेक महिना चलाउने ५ वटा विरुवा रोप्ने अभियानलाई सघाउन पनि आग्रह गरिएको केन्द्रीय सार्वजनिक मामिला विभागका सदस्य उत्तम पौडेलले जानकारी दिए ।

त्यस्तै, रास्वपाले अधिक आवागमन हुने पोखराका मुख्यमुख्य चोकमा सार्वजनिक शौचालय बनाउन पनि सझाएको छ । भत्किएका मुख्य, सहायक र भित्री सडकले दुर्घटनाको जोखिम बढाएकाले त्यसलाई पुर्न पनि ध्यानाकर्षण गराएको छ ।

पोखरालाई चैत ३ गते पर्यटकीय राजधानी घोषणा गर्ने भनिए पनि आधारभूत चरित्र र दिनुपर्ने सेवासुविधाबारे पर्याप्त गृहकार्य नभएको बताएको छ ।

‘घोषणाले मात्रै तात्विक फरक नपर्ने भएकाले घोषणाको व्यवहारिक कार्यान्वयनका लागि निजी क्षेत्रसँगको सहकार्यमा आवश्यक र व्यवहारिक नीति, योजना र कार्यक्रम तय गरियोस्’, पत्रमा भनिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?