+
+

पोखराले ल्यायो वडाअनुसार सडक र पेट्रोल पम्पको मापदण्ड

‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रको हकमा नागरिक उड्ड्यन प्राधिकरणको पछिल्लो स्वीकृत मापदण्ड लागू हुनेछ ।’

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन १४ गते १८:५२

१४ फागुन, पोखरा । पोखरा महानगरपालिकाले पहिलोपटक वडा अनुसार सडकको मापदण्ड तयार गरेको छ । महानगरपालिकाको सोमबार प्रकाशित राजपत्रमा भवन तथा पूर्वाधार मापदण्ड–२०८० को परिच्छेद ४ मा वडागत सडक मापदण्डको व्यवस्था गरेको छ ।

उक्त मापदण्डअनुसार महानगरका ३३ वटै वडाका सडक स्थानीय मार्ग, शाखा मार्ग, पहुँच मार्ग, कच्ची, पक्की, ग्राभेल, पिच आदिबाट विभाजनसमेत गरेको छ ।

‘पहिले समग्र महानगरभरि एउटै खालको मापदण्ड थियो । तर, अब वडाहरुको भौगोलिक बनावटअनुसार फरक-फरक मापदण्ड हुनेछ’, महानगर नक्सा शाखा प्रमुख वरिष्ठ इन्जिनियर सुरेन्द्र पौडेलले भने, ‘यसले स्थानीयलाई सहज हुने विश्वास छ ।’

वडाअनुसारको नयाँ सडक मापदण्डले व्यक्तिहरुको नाम तोकेरै सडक बर्गीकरण गरिएकाले स्थानीयले सहज रुपमा बुझ्न सक्ने महानगरको दाबी छ ।

‘साधारण जनताले पनि सजिलै बुझ्ने गरी ठाउँअनुसार वैज्ञानिक मापदण्ड लागू गर्न खोजेका हौं’, उनले भने, ‘अब स्थानीयले आफ्नो ठाउँको मापदण्ड बुझ्न तेस्रो व्यक्ति खोजिरहनुपरेन । यसबाट सुशासन पनि कायम हुने हाम्रो विश्वास हो ।’

उक्त मापदण्डअनुसार बजार क्षेत्र, ग्रामीण क्षेत्रमा बनेका सडकस्तर र वडाअनुसार सडकको केन्द्र रेखाबाट २.५ देखि ६१ फिटसम्म मापदण्ड लाग्नेछ ।

पेट्रोल पम्प र विमानस्थलको पनि मापदण्ड

महानगरले पहिलो पटक नै विमानस्थल र पेट्रोल पम्पको पनि मापदण्ड बनाएको छ । मापदण्डको परिच्छेद ६ मा पेट्रोलपम्प निर्माण तथा विमानस्थलसम्बन्धी आवश्यक मापदण्डबारे उल्लेख गरेको छ ।

जसमा ३० मिटरभन्दा कम चौडाइ भएका साना सडकबाट ५० मिटर र त्योभन्दा बढी चौडाइ भएका ठूला सडकबाट सय मिटरको दूरीमा पेट्रोल पम्प बनाउनु पर्नेछ । पेट्रोल पम्प राख्न सडकको न्यूनतम २० मिटर चौडाइ हुनुपर्नेछ भने पम्पको अधिकतम उचाइ र अगाडिको सेटब्याक ६ मिटर हुनुपर्नेछ । त्यस्तै, विमानस्थलहरु भने नेपाल नागरिक उड्डयन प्राधिकरणको नियममा आधारित हुने महानगरले उल्लेख गरेको छ ।

‘एअरपोर्ट वरिपरिको क्षेत्रमा हुने निर्माणसम्बन्धी कुनै पनि विषयमा नेपाल नागरिक उड्ड्यन प्राधिकरणद्वारा जारी गरिएको सबैभन्दा पछिल्लो नियममा उल्लेख भएअनुसार हुनेछ’, मापदण्डमा भनिएको छ ।

मापदण्डले पोखरा महानगरपालिकामा अब ५ तलासम्म अग्लो भवन बनाउन पाइने व्यवस्था गरेको छ । यसअघि पोखरामा साढे ३ तलासमम मात्रै अग्लो भवन बनाउन पाइने मापदण्ड थियो ।

‘अब भवन ५ तलासम्म बनाउन पाइन्छ । तर, त्यो ५ तलासम्म बनाउन पनि सुरुमा माटो परीक्षण गर्नुपर्छ’, वरिष्ठ इन्जिनियर पौडेलले भने, ‘३ तलाभन्दा माथि माटो परीक्षणपछि मात्रै कहाँ कस्तो ठीक हुन्छ, त्यहीअनुसार डिजाइन तयार गर्न लगाउँछौं ।’

तत्कालीन मेयर मानबहादुर जिसी नेतृत्वको महानगरपालिकाले २०७५ असोजमा इन्जिनियर प्रा.डा. भरतराज पहारीको संयोजकत्वमा भवन मापदण्ड पुनरावलोकन समिति गठन गरेको थियो । उक्त समितिले पोखरामा जग्गाको आकार अनुसार उचाइ निर्धारण गर्ने गरी नयाँ मापदण्ड ल्याउन सुझाव दिएको थियो ।

जग्गाको क्षेत्रफल, उपयोग र भवनको किसिमअनुसार ‘फ्लोर एरिया रेसियो’ अर्थात भुइँ क्षेत्रको अनुपातमा उचाइ निर्धारण गर्ने सो समितिको सुझाव थियो । ‘केही सुझाव उक्त प्रतिवेदनअनुसार पनि हो । तर, सबै हुबहु ल्याएका छैनौं’, इन्जिनियर पौडेलले भने ।

तत्कालीन अञ्चलाधीश शंकरराज पाठक नेतृत्वको समितिले पहिलो पटक २०३१ सालमा पोखरामा घर तथा भवन बनाउने मापदण्ड तोकेको थियो । उक्त मापदण्ड पुनरावलोकन हुनुपर्ने माग बढेपछि ०५७÷५८ सालतिर पनि अध्ययन भएका थिए । तर, ती अध्ययनले पनि शंकरराज पाठक नेतृत्वकै मापदण्डलाई सदर गरेका थिए ।

महानगरले ल्याएको मापदण्डमा पोखराका फेवातालसहित ९ वटा ताल र खोला नालाको पनि मापदण्ड तोकिएको छ । जसमा फेवातालको ६५ मिटर र सेती नदीको ३० मिटर कायम गरिएको छ ।

मापदण्डले बेगनास ताल र रुपा ताल १ सय मिटर र अन्य तालको ५० मिटर मापदण्ड कायम गरेको छ । तर, कास्कीकोटको ठूलीपोखरी, कमलपोखरी, खुँडे पोखरीसहितका साना पोखरीलाई भने जम्मा ६ मिटर मापदण्ड तय गरेको छ । महानगरले पोखरालाई वातावरणमैत्री बनाउने भन्दै ऊर्जा प्रभावकारी मापदण्ड पनि ल्याएको छ ।

महानगरको भवन तथा पूर्वाधार मापदण्डको परिच्छेद ५ मा ऊर्जा प्रभावकारिताबारे उल्लेख छ । उक्त मापदण्डअनुसार अब बन्ने पोखराका भौतिक संरचना भूगोलको उचाइअनुसार फरकमात्रै हुनेछैनन्, वातावरणमैत्री झ्याल, ढोका पनि राख्नुपर्नेछ ।

हेर्नुहोस् मापदण्डको पूर्णपाठः

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?