+
+

लुम्बिनीमा आयोजित शिखर सम्मेलन स्थगित

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन २२ गते १७:३४

२२ फागुन,बुटवल । लुम्बिनी प्रदेश सरकारले फागुन २८ र २९ गते बुद्ध जन्मस्थल लुम्बिनीमा आयोजना गर्न लागेको लोरेट एण्ड लिडर अन्तर्राष्ट्रिय चौथो शिखर सम्मेलन स्थगित भएको छ ।

केन्द्रमा नयाँ गठबन्धन बनेपछि प्रदेशले आयोजना गर्न लागेको बालबालिका, विकास र शान्तिका लागि अन्तर्राष्ट्रिय चौथो शिखर सम्मेलन स्थगित भएको हो ।

लुम्बिनीको मंगलबार बसेको मन्त्रिपरिषद बैठकले सम्मेलन स्थगित गर्ने निर्णय गरेको सामाजिक विकास मन्त्री चन्द्रकेश गुप्ताले जानकारी दिए । ‘मुख्यमन्त्रीज्यूले विशेष कारणवश भनेर सम्मेलन स्थगित गर्ने निर्णय गरिएको जानकारी गराउनुभयो, अरु व्याख्या गर्नुभएन’–मन्त्री गुप्ताले भने ।

लुम्बिनीमा शिखर सम्मेलन गर्ने भनी प्रदेश सरकारले १८ असोजमा र संघीय सरकारले २ कात्तिकमा शिखर सम्मेलन गर्ने निर्णय गरेको थियो ।
सम्मेलनमा १० जना नोबेल पुरस्कार विजेतासहित विभिन्न देशका राष्ट्र प्रमुख, पूर्वप्रधानमन्त्रीसहित १८ जना विशिष्ट अतिथि आउने निश्चित भएको थियो ।

सम्मेलनसंग चीन विरुद्ध विद्रोह गरेका नोबेल पुरस्कार विजेता दलाई लामाको नाम जोडिएको र उनले विद्रोह गरेको दिन मार्च १० देखि १२ सम्म सम्मेलनको मिति तय भएपछि चीनले गम्भीर चासो र अदृश्य असन्तुष्टि राखेको थियो ।

यता प्रदेश सभाका सभामुख तुलाराम घर्ती, माओवादी केन्द्रका सांसद इन्द्रजित थारु र प्रमुख प्रतिपक्षी एमालेले शिखर सम्मेलन मुख्यमन्त्री डिल्लीबहादुर चौधरीको स्वार्थमा आयोजना गरिएको र प्रदेश सभालाई जानकारी नदिई निजी भ्रमण भनेर लोरेट एण्ड लिडर नामक अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाको अमेरिका र भारतमा रहेका कार्यालयमा भ्रमण गरेको भन्दै गम्भीर प्रश्न उठाएका थिए ।

संघीय संसदमा समेत एमाले सांसद सूर्य थापाले यो सम्मेलनले चीनसंगको सम्बन्ध बिगार्ने भन्दै सम्मेलन स्थगित गर्न माग गरेका थिए । यी श्रृंखलाका बीच केन्द्रमा सत्ता समीकरण परिवर्तन भएपछि एमालेले नैतिकताका आधारमा सम्मेलन स्थगित गर्न प्रदेशमा माग गरेको थियो ।

अन्तिम समयसम्म मुख्यमन्त्री चौधरी र गृहमन्त्री सन्तोष पाण्डेय सम्मेलन गर्नका लागि प्रधानमन्त्रीसहितको नेतृत्वसंग कुरा गर्न सोमबार दिनभर काठमाडौँ बसे पनि सकारात्मक संकेत नपाएपछि निराश भएर फर्केका थिए । दाङ फर्केसंगै मन्त्रिपरिषद बैठक डाकेर विशेष कारणवश भन्दै सम्मेलन स्थगन गर्ने निर्णय गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?