+
+

‘ड्युन’को तेस्रो सिक्वेल बन्ने, विश्व बक्स अफिसमा उछाल कमाइ

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन २३ गते १२:१५

काठमाडौं । रिलिज भएको पाँच दिनमै हलिउड साइन्स-फिक्सन फिल्म ‘ड्युन २’ले विश्व बक्सअफिसमा १८२.५ मिलियन डलरको कमाइ गरेको छ । यो कलेक्सन सन् २०२४ को अहिलेसम्मको उच्च कमाइ हो ।

तिमोथी चालमेट र जेन्डाया स्टारर यो फिल्म आइएमडीबीमा अहिलेसम्म उच्च रेटिङ पाउने फिल्म समेत हो । अन्तर्राष्ट्रिय संचारमाध्यमले यसलाई ‘मास्टरपिस’को संज्ञा समेत दिएका छन् ।

दर्शकबाट सकारात्मक समीक्षा आउने वित्तिकै फिल्मको श्रृंखलाको आशा गर्न सकिन्छ । ‘ड्युन’ पनि यसको अपवाद रहेन । सिक्वेल बनाउनेबारे निर्देशक डेनिस भिलेनेउभले आफूले यसको कथा ट्रियोलोजी (तेस्रो श्रृंखला)सम्म पुरा हुने बताएका छन् । जसको अर्थ, दर्शकले ‘ड्युन’को तेस्रो श्रृंखला पनि हेर्न पाइनेछ ।

शुक्रबार विश्वब्यापी रिलिजअघि दक्षिण कोरियाली संचारमाध्यमसँग कुरा गर्दै निर्देशक भिलेनेउभले तेस्रो श्रृंखलाको पटकथा लेखन करिब टुंगिन लागेको बताएका छन् । ‘लेखन करिब टुंगिन लागेका छ । पूर्णरुपमा टुंगिएको चाहिँ हैन । तेस्रो फिल्मको सपना पनि छ । यसले मलाई पूर्णरुपमा त्यता लाग्न प्रेरित गरेको छ ।’

निर्देशकले तेस्रो श्रृंखलाबारे आशा मात्र जगाएका छैनन्, अहिल्यैदेखि सकारात्मक चर्चा पनि थालेका छन् । जसको कारण तेस्रो श्रृंखलाको कथावस्तुबारे पनि अनेक अड्कलबाजी हुन थालेका छन् ।

सीएनएनसँग कुरा गर्दै निर्देशक भिलेनेउभले तेस्रो श्रृंखलाको काम सुरु भएको तर, औपचारिकरुपमा घोषणा हुन बाँकी रहेका बताएका छन् । ‘मैले सुरुमा दुईवटा फिल्म साइन गरेँ । दुईवटै रिलिज भैसकेपछि मलाई लाग्यो, सबै ठीक छ । मलाई लाग्छ तेस्रो श्रृंखला पनि गरेर, पल एट्रेइड्सको कथालाई समाप्त गर्नु मेरो लागि अर्थपूर्ण हुनेछ । ‘ड्युन : मसिहा’को काम सुरु भएको छ ।’

सन् १९६५ मा प्रकाशित फ्रयांक हबर्टको विज्ञान कथामा आधारित फिल्मको मुख्य पात्र पल एट्रेइड्सको मुख्य भूमिकामा तिमोथी चालमेटले अभिनय गरेका छन् । सीएनएनसँगैको कुराकानीमा अभिनेता चालमेटले पनि ड्युनको तेस्रो श्रृंखला पनि सफल हुनुपर्छ भन्ने आशा आफूले राखेको बताए ।

जेन्डाया, फ्लोरेन्स पग, अस्टिन बटलर, रेबेका फर्गुसन, जोस ब्रोलिन, डेभ बाटिस्टा लगायतको यसमा शीर्ष भूमिका छ । फिल्मको आधिकारिक वितरण कम्पनी वार्नर ब्रोजले यसको तेस्रो श्रृंखलाबारे औपचारिकरुपमा केही बताएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?