+
+

‘ड्युन २’ हेर्नुअघि जान्न जरुरी छ अघिल्लो भागका यी महत्वपूर्ण कुरा

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन १७ गते १३:३१

काठमाडौं । डेनिस भिलेनुभ निर्देशित साइन्स-फिक्सन फिल्म ‘ड्युन २’ शुक्रबारदेखि विश्वव्यापी रिलिज हुँदैछ । फ्यांक हबर्टको सोही नामको पुस्तकमा आधारित यो फिल्मलाई लिएर विश्वव्यापी पर्खाइ छ ।

विश्व फिल्मको तथ्यांक राख्ने पोर्टल आईएमडीबीमा अहिलेसम्म धेरै रेटिङ पाएको यो फिल्मको पर्खाइ नेपालमा समेत छ । दोस्रो श्रृंखलामा नयाँ पात्र र नयाँ कथा देख्न पाइनेछ । समीक्षकले पनि यसलाई प्रशंसा गरेका छन् ।

शुक्रबार तपाईं ‘ड्युन २’ हेर्न सिनेमा हलमा जाँदै हुनुहुन्छ भने तपाईंले निम्न कुरा जान्नु अवश्यक छ । मिलेसम्म नेटफ्लिक्समा गत साता रिलिज भएको यो फिल्मको पहिलो भाग हेर्दा राम्रो हुनेछ ।

अर्राकिस नामक काल्पनिक ग्रह

यो काल्पनिक बलौटे ग्रहमा उपलब्ध मूल्यवान पदार्थको नियन्त्रणका लागि पृथ्वीबाट पुगेका मानिस र उक्त ग्रहका आदिवासीबीच हुने लडाइँ यसको कथावस्तु हो । अर्राकिस ग्रहलाई ‘हाउस हर्कोनन्’ले नियन्त्रण गर्थ्यो तर अब नियन्त्रणको यो शक्ति ‘हाउस एट्रेइड्स’ नामक सम्राटसामु पुगेको छ । मानिस समेत बस्न सक्ने यो मरुभूमि ग्रहका आदिवासीलाई फ्रेमेन भनिन्छ, जसको नेतृत्व जेभियर बार्डेमले गरेका छन् । फ्रेमनहरु बाहिरी विश्वबाट आउने मानिसलाई विश्वास गर्दैनन् किनभने प्राकृतिक स्रोत लुट्न आएको शंका उनीहरुलाई छ । फ्रेमेनसँग बाहिरी विश्वबाट पुगेका मानिसलाई रोक्न सक्ने चाल पनि छ ।

हाउस एट्रेइड्स

‘हाउस एट्रेइड्स’ ड्युक लेटो एट्रेइड्स (ओस्कर आइज्याक)द्वारा शासित छ, जो यो कठिन थलोमा फस्छ जब सम्राटले उसलाई अर्राकिस कब्जा गर्न आदेश दिन्छ । सम्राटको उद्देश्य गलत रहेको शंका गर्दै उसले आफ्ना भरपर्दो लेफ्टिनेन्ट डंकन इडाहो (जेसन मोमोआ)लाई फ्रेमेनसँग गठबन्धन बनाउन अर्राकिसमा पठाउँछ । सम्राट लेटो आफ्नो परिवारको सुरक्षालाई लिएर चिन्तित छ । उसको परिवारमा पत्नी लेडी जेसिका (रेबेका फर्गुसन) र छोरा पल एट्रेइड्स (तिमोथी चालमेट) छन् ।

उसको चिन्ता यतिबेला सत्य सावित हुन्छ, जतिबेला हाउस अफ एट्रेइड्सका विश्वासिलाले धोका दिन्छन् । जसले गर्दा उनका सल्लाहकार गुर्नी हलेक (जोस ब्रोलिन) सहितका उनका अधिकांश सेना परास्त हुन्छन् । लेडी जेसिका र पल मरुभूमिमा भागेर ज्यान जोगाउँछन् तर लेटो मारिन्छ ।

बेने गेसेरिट/द भ्वाइस

‘बेने गेसेरिट’ एक शक्तिशाली धार्मिक व्यवस्था र राजनीतिक शक्ति हो । गेसेरिट एक महिला समूह हो जसलाई आवाजको माध्यमबाट मानिसलाई नियन्त्रण गर्न सक्ने अलौकिक शक्तिको तालिम दिइएको छ । तीमध्ये लेडी जेसिका उक्त समूहकी एक सदस्य हुन् जसले आवाजलाई कसरी प्रयोग गर्ने भनेर छोरा पललाई तालिम दिइरहेकी छिन् । तर ऊ अहिले पनि मान्छेजस्तै बोल्छ । आफ्नो नेता मदर रेभेरेण्डसँग बेने गेसेरिटको आफ्नै खाले मुद्दा छ । उनी ब्यारोन भ्लादिमिर हार्कोनेनसँग गोप्य सम्झौता गर्छिन् ।

पलको दृष्टिकोण/मुआदिब

जवान पल सुतेको बेला केही सपनामा केही चीज देख्छ । उसले अर्राकिस र रहस्यमय फ्रेमेनी आदिवासी केटीलाई सपनामा देख्छ । उसले आमा लेडी जेसिका र डन्कनलाई आफ्नो सपनाबारे बताउँछ । तर उनीहरु र त्यसको अर्थ के हो भनेर बुझ्न असमर्थ छ । उसले अर्राकिसलाई लिएर झनै रोचक सपना देख्न थाल्छ ।

सपनामा उसले अर्राकिसमा फ्रेमेन मानिसले ‘मुआदिब’ नारा लगाउँदै आफ्नो नाममा हजारौंले रक्तपातपूर्ण युद्ध लडेको देख्छ । पलले के बुझ्छ भने ऊ कुनै प्रकारको मुक्तिदाता हो तर त्यसो गर्न अनिच्छुक छ । जब पल र जेसिकालाई स्टिल्गारका मानिसले उद्दार गर्छन्, पलले आफ्नो सपनामा देखेकी केटी चानी (जेन्डाया)लाई भेट्छ ।

मरुभूमिको शक्ति/द स्यान्डवर्म्स

अर्राकिसको कुरा आउँदा ड्युक लेटो एट्रेइड्स मरुभूमिको शक्तिलाई कसरी उपयोग गर्ने भन्नेबारेमा कुरा गरिरहन्छ । मरुभूमि शक्तिको अर्थ के हो भनेर यसलाई कहिल्यै व्याख्या गरिएको छैन, तर यसले धेरै चीजलाई संकेत गर्न सक्छ । सबैभन्दा पहिलो– लडाइँ लड्दा परम्परागत रुपमा शरिरलाई ढालको माध्यमबाट जसरी सुरक्षित गरिन्छ, त्यो अर्राकिसमा बेकार छ । फ्रेमेन आदिवासीले लडाइँको यस्तो कौशलता विकास गरेका छन्, जसलाई ढाल चाहिंदैन ।

सबैभन्दा डरलाग्दो एट्रेइड्स योद्धा इडाहोले पनि फ्रेमेन योद्धासँग लड्दा आफू झण्डै मरेको बताएका थिए । मरुभूमि शक्तिलाई उपयोग गरेर फ्रेमेनले मरुभूमिमा बाँच्नका लागि गरेको औजार विकासको तरिकालाई पनि बुझाउन सक्छ । जस्तै, शरीरको ओसिलोपन जोगाउने, यसलाई पुनः प्रयोग गर्ने र लगाउनेलाई खुल्ला ठाउँमा हप्तासम्म बाँच्न दिने स्टिल सुट ।

सम्भवतः मरुभूमिको शक्तिले स्यान्डवार्म्ससँग फ्रेमेनको सम्बन्धलाई पनि यसले संकेत गर्छ । ड्युनको पहिलो भागको अन्त्यमा पलले एक फ्रेमेनलाई स्यान्डवर्ममा सवार गरेको देख्छ । तपाईंले तीमध्ये धेरैलाई ‘ड्युन २’ मा देख्न सक्नुहुन्छ । शुक्रबार रिलिज हुन लागेको यो फिल्मलाई विश्वभर ‘बक्स अफिस’ इभेन्टको रुपमा वर्णन गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?