+
+

शिल्पीको प्रष्टीकरण : ‘केपी ओली आफैं फर्किनुभएको हो, फर्काइएको होइन’

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन २३ गते १३:२४

काठमाडौं । नाटक हेर्न शिल्पी थिएटरमा पुगेका एमाले अध्यक्ष केपी शर्मा ओलीलाई फर्काइएको भनिएको चर्चाले सामाजिक सञ्जाल गर्माएको छ । ओली नाटक हेर्न आउने भन्दै थिएटरले पहिलेदेखि नै सामाजिक सञ्जालमा यसबारे जानकारी पनि दिएको थियो ।

उक्त थिएटरमा अहिले चेतन आङ्थुपो निर्देशित ‘झोडा’ मञ्चन भइरहेको छ । गणेश रसिकको उपन्यास ‘आकाशगंगाको ओतमुनि’मा आधारित यो नाटकले २०२० देखि २०३४ सम्म झोडाबासीको भोगाइलाई प्रस्तुत गर्छ ।

नाटक हेर्न ओली जाने खबर केही पहिलेदेखि नै चलेको हो । एमाले उपाध्यक्ष विष्णु पौडेललाई लिएर ओली गत सोमबार शिल्पीमा पुगेका पनि हुन् । तर उनले नाटक हेरेनन् । साहित्यकार तथा गीतकारसमेत नेता विजय सुब्बाको पहलमा ओली शिल्पी पुगेका थिए । नाटक नहेरी ओली फर्किएपछि सुब्बाले सामाजिक सञ्जालमार्फत शिल्पीमाथि आक्रोश पोखेका छन् ।

सुब्बाले हलमा पस्न मिल्दैन भनेर फर्काइएको उल्लेख गरेका छन् । उनले राजनीतिक घटनाक्रमको कारण ओली नाटक घरमा ढिलो पुगेको दाबी समेत गरेका छन् । सुब्बाले सामाजिक सञ्जालबाट थिएटरमाथि आक्रोश पोखेपछि शिल्पीले यो घटनाबारे प्रष्टीकरण पनि दिएको छ ।

शिल्पी थिएटरका अध्यक्ष कुमार आलेले अनलाइनखबरसँग कुरा गर्दै ओलीलाई नफर्काइएको र उनी आफैं फर्किएको बताए । उनका अनुसार नाटक आधा मञ्चन भइसकेपछि ओली पुगेका थिए । ‘नाटक त यति सक्कियो भनेर हामीले भन्यौं । उहाँ आफैंले म बीचमा गएर डिस्टर्ब पनि हुन्छ भन्नुभयो । आधा नाटक पनि के हेर्नु भन्नुभयो । अँध्यारोमा धेरैबेर बस्न नसक्ने पनि कुरा गर्नुभयो,’ आलेले भने, ‘मेरो कारणले अवरोध नहोस् भनेर उहाँ बाहिरै बस्नुभयो । भएको यत्ति हो ।’

सोमबार साढे ५ बजेबाट नाटक मञ्चन सुरु भएको थियो । एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष अष्टलक्ष्मी शाक्यसहितका ५० जना नेता-कार्यकर्ताले भने नाटक हेरेका थिए । ‘अध्यक्ष ओली आउने भन्ने खबरपछि हामीले फेसबुकमा म्यासेज पनि हाल्यौं । तत्कालै राजनीतिक उथलपुथल भएकाले उहाँ आउन नसक्ने खबर आयो । तर अन्तिम समयमा फेरि आउँदै हुनुहुन्छ भन्ने खबर आयो । यतिबेलासम्म नाटक सुरु भइसकेको थियो,’ आलेले भने ।

ओलीले माहोल बुझेरै नाटक नहेर्ने निर्णय लिएको समेत आलेले बताए । यो कुरालाई लिएर शिल्पी र विजय सुब्बाबीच सामाजिक सञ्जालमा भनाभन परिरहेको छ । शिल्पीले फेसबुकमा नाटक सुरु भएपछि निस्कन र पस्न नपाइने नियम संसारभर रहेको स्मरण पनि गराएको छ । ‘पद वा शक्तिको आधारमा कसैलाई पनि नाटक सुरु भएपछि छिर्न वा निस्कन दिने हाम्रो चलन छैन,’ शिल्पीले भनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?