+
+

कहाँ छन् जीबी राई ?

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन २४ गते १५:२४

२४ फागुन, काठमाडौं । सूर्यदर्शन सहकारीका संस्थापक अध्यक्ष गीतेन्द्रबाबु (जीबी) राईलाई प्रहरीले अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल) को सहयोगमा खोजी जारी राखेको छ ।

उनी भागेर नेपालबाहिर पुगेको आधारहरु फेला परेपछि उनलाई नियन्त्रणमा लिन जिल्ला प्रहरी कार्यालय, कास्कीको सिफारिसमा इन्टरपोलको नेशनल कन्ट्रोल ब्यूरो (एनसीबी) काठमाडौंले डिफ्यूजन नोटिस जारी गर्न महासचिवालयलाई अनुरोध गरेको थियो ।

त्यसआधारमा राईविरुद्ध डिफ्यूजन नोटिस जारी भएको केन्द्रीय प्रहरी प्रवक्ता डीआईजी भिमप्रसाद ढकाल बताउँछन् ।

राईविरुद्ध सहकारीमा बचतकर्ताले राखेको करिब सवा अर्ब रुपैयाँ हिनामिना गरेको भन्दै जाहेरी परेको थियो । इन्टरपोलमा जीबीसहित पूर्वअध्यक्ष भुपेन्द्र राई, वर्तमान अध्यक्ष थानबहादुर बुढामगरविरुद्ध समेत डिफ्यूजन नोटिस जारी भएको छ ।

डिफ्यूजन नोटिस जारी भएपछि इन्टरपोलका १९६ देशले सम्बन्धित व्यक्ति आफ्नो मुलुकमा भए/नभएको सूचना प्रदान गर्छ ।

उनी हालै मलेसियामा लोकेट भएको सूचना इन्टरपोल मलेसियाले एनसीबी काठमाडौंंलाई पठाएको प्रहरी प्रधान कार्यालय स्रोतको दाबी छ । त्यसपछि उनलाई डिपोर्ट गरेर ल्याउने प्रक्रिया स्वरुप डिफ्यूजन नोटिसलाई रेड नोटिसमा बदलिएको स्रोतले अनलाइनखबरलाई बतायो ।

हालै राईको कसूरका विवरणसहितको पत्र समेत प्रहरीले मलेसिया पठाइसकेको छ । यद्यपि, हालसम्म राई पक्राउ परिनसकेको प्रहरी स्रोत बताउँछ ।

राईविरुद्ध सूर्यदर्शन सहकारी ठगीमा अनुसन्धान सकेर कास्की प्रहरीले १ अर्ब ११ करोड १ लाख रुपैयाँ ठगी गरेको निष्कर्ष निकाल्दै रायसहितको प्रतिवेदन बुझाएको थियो ।

अदालतमा मुद्दा दर्ता भएपछि राईले नक्कली शेयर सदस्य खडा र कम्पनी खडा गरेर अनाधिकृत रुपमा ऋण प्रवाह गरेको भन्दै पुरक जाहेरी परेको थियो । जसमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको नाम समेत मुछिएको थियो ।

पीडितहरुले सवा अर्ब रुपैयाँ हिनामिना हुँदा व्यक्ति र कम्पनी गरेर ३ सय जना बढीले पैसा लगेको देखिएको भन्दै उनीहरु सबै छानबिनको दायरामा आउनुपर्ने माग गरेका थिए ।

पुरक जाहेरी परेपछि कास्की प्रहरीले काठमाडौंमा पूर्वडीआईजी छविलाल जोशीको घरमा छापा मारेर सहकारीको सर्भर बरामद गरेको थियो । त्यसबाट प्राप्त सूचनाका आधारमा प्रहरीले पुरक अनुसन्धान अघि बढाइरहेको थियो ।

सहकारीका सञ्चालक तथा पदाधिकारीले कृत्रिम सेयर सदस्य र खाता खोलेर रकम अपचलन गरेको, सहकारीको नाममा कुनै पनि सम्पत्ति नराखी व्यक्तिको नाममा गरेको प्रहरीले यसअघि गरेको अनुसन्धानबाट देखिएको थियो ।

हाल सहकारीका कोषाध्यक्ष कुमार रम्तेलसहितका व्यक्तिहरु पुर्पक्षका लागि थुनामा छन् । राईले सहकारीबाट ठगी गरेको रकम ग्यालेक्सी टिभीसहित अन्य विभिन्न कम्पनीमा लगानी गरेका थिए ।

राईले काठमाडौंमा स्वर्ण लक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था, बुटवलमा सुप्रिम बचत तथा ऋण सहकारी संस्था, वीरगञ्जमा सानो पाइला बचत तथा ऋण सहकारी संस्था, चितवनमा सहारा चितवन बहुउद्देश्यीय सहकारी संस्था र काठमाडौंमा हाम्रो नयाँ कृषि सहकारी संस्थामा बचत गरेको रकम पनि हिनामिना गरेको आरोप छ ।

यो मामलामा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले पनि अनुसन्धान गरिरहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?