+
+

रेशम चौधरीलाई नाउपाको अध्यक्षमा निर्वाचन आयोगले दिएन मान्यता

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन २४ गते १९:०७

२४ फागुन, काठमाडौं । निर्वाचन आयोगले नागरिक उन्मुक्ति पार्टी (नाउपा) को अध्यक्षमा रेशमलाल चौधरीको नाम अद्यावधिक गर्न अस्वीकार गरेको छ ।

नागरिक उन्मुक्ति पार्टीले २७ पुसमा कैलालीको टीकापुरमा भएको महाधिवेशनबाट चौधरीलाई सर्वसम्मत रुपमा अध्यक्ष चयन गरेको थियो । त्यस अनुसार नाउपाले दलको अभिलेख अद्यावधिक गरिदिन निर्वाचन आयोगमा २९ माघमा निवेदन दिएको थियो ।

उक्त निवेदनमाथि निर्वाचन आयोगले बिहीबार निर्णय दिँदै उनलाई नाउपाको अध्यक्ष मान्न अस्वीकार गरेको हो । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार राजनीतिक दलसम्बन्धी ऐनको व्यवस्था अनुसार नाउपाको निर्वाचन आयोगमा यसअघि रहेको अभिलेख अद्यावधिक हुन नसक्ने निर्णय भएको छ । निर्वाचन आयोगमा भएको अभिलेखमा नाउपाको अध्यक्षमा रञ्जिता श्रेष्ठ चौधरी रहेकी छन् ।

कैलालीको टीकापुरमा २०६२ भदौमा ७ जना सुरक्षाकर्मी र एक नाबालकको मृत्यु हुने गरी भएको हिंसात्मक झडपमा जन्मकैदको सजाय पाएका रेशम चौधरी गत १५ जेठमा गणतन्त्र दिवसका अवसरमा राष्ट्रपतिबाट कैद मिनाहा पाएर रिहा भएका थिए । कारागारमै रहेका बेला आफ्नो सक्रियतामा गठन भएको नागरिक उन्मुक्ति पार्टीको अधिवेशन गरेर रेशमले आफैं अध्यक्ष बनेका थिए ।

उनले निर्वाचन आयोगमा दलको अभिलेख अद्यावधिक गर्न दिएको निवेदनविरुद्ध दुईवटा उजुरीसमेत परेका थिए ।  त्यसमा चौधरी ज्यान मुद्दामा दोषी ठहर भई राष्ट्रपतिबाट कैद छुट पाएका व्यक्ति हुनाले दलको अध्यक्ष बन्नु कानुन विपरीत भएको उल्लेख थियो । उजुरी परेपछि आयोगले नाउपा र अध्यक्ष चौधरीसँग जवाफ मागेको थियो ।

त्यस विषयमा चौधरीले जवाफ पठाएपछि बिहीबार दलको अभिलेख अद्यावधिक गर्न नसक्ने निर्णय गरेको प्रवक्ता पौडेलले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?