२४ फागुन, काठमाडौं । महाशिवरात्रि पर्वको अवसरमा गौशालास्थित पाशुपत क्षेत्र आसपास आज बिहीबार रातिदेखि नै दर्शनार्थीहरूको भीडभाड हुने भएकाले सवारी साधनलाई डाइभर्सन गरिने भएको छ ।
गौशाला क्षेत्रतर्फ जाने सवारी साधनलाई चाबहिल, पुरानो-बानेश्वर, ज्ञानेश्वर, मैतीदेवीमोड, रातोपुल, सेतोपुल, कालोपुल, सिफलचौर, कुटुवहाल, गौरीघाट र तिलगंगाबाट आवश्यकता अनुसार डाइभर्सन गरिने ट्राफिक प्रहरीले जनाएको छ ।
त्यसैगरी मालवाहक सवारी साधनहरूलाई तीनकुने, जोरपाटी नारायणटार, चुच्चेपाटी, चावहिल, सिनामंगलपुल र बसुन्धाराबाटै डाइभर्सन गरिनेछ ।
गौशाला क्षेत्रमा शिवरात्रिका दिन शुक्रबार गरिने सवारी व्यवस्थापनमा थप सहयोगी भूमिका निर्वाह गर्न काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक जीवनकुमार श्रेष्ठले सबैलाई आग्रहसमेत गरेका छन् ।
उनका अनुसार महाशिवरात्रि मेलाको ट्राफिक व्यवस्थापन गर्नको लागि ५१३ जना ट्राफिक प्रहरी खटाइएको छ । प्वाइन्ट ड्यूटी, पार्किङ्ग ड्यूटी, डाइभर्सन ड्यूटी लगायतमा ट्राफिक प्रहरी परिचालन गरिने छ ।
आवश्यकता अनुसार डाइभर्सन गरिने स्थानहरु:–
- चाबहिलबाट गौशालातर्फ ।
- पुरानो बानेश्वरबाट गौशालातर्फ ।
- ज्ञानेश्वर मैतिदेवि मोडबाट रातोपुल हुँदै गौशालातर्फ ।
- द्वारीका होटलको उत्तरतर्फको शाखा मार्ग ।
- सिफल चौरबाट जयबागेश्वरीतर्फ ।
- लामोपोखरी कुटुवहालबाट मित्रपार्कतर्फ ।
- गौरीघाटबाट उमाकुण्ड तथा मित्रपार्कतर्फ ।
- तिलगंगाबाट गौशालातर्फ ।
- मालबावहक सवारी साधनहरु तीनकुनेबाट सिनामंगल, तिलगंगातर्फ ।
- जोरपाटी नारायणटारबाट करिडोर बाटो हुँदै आउने मालवाहक सवारी साधनहरु गौरीघाटतर्फ ।
- सिनामंगल पुलबाट करिडोरको मार्ग हुँदै होटल महाराजा निस्कने मार्ग ।
- जोरपाटी, बौद्धतर्फबाट आउने मालवाहक सवारी साधन चुच्चेपाटीबाट चावहिलतर्फ ।
मालबाहक सवारी साधनलाई गरिने डाइभर्सन
- कोटेश्वर, तिनकुने, गौशाला हुदैं बौद्ध वा सुकेधारातर्फ जाने मालवाह सवारी साधनहरु जडीबुटी, काँडाघारी हुँदै बौद्धतर्फ संचालन हुने,
- कोटेश्वर तिनकुने हुँदै पशुपति वरपर तर्फ जाने मालवाहक सवारी साधनहरु तीनकुने आसपास व्यबस्थापन गरिने ।
- महाराजगंज, चाबहिल हुँदै पशुपति वरपर जाने मालवाहक सवारी साधनहरु धुम्वाराहीमा मेला अवधिभर कुर्नुपर्ने ।
- कोटेश्वर वा गठ्ठाघरबाट बौद्ध जोरपाटी जाने मालवाहक सवारी साधनहरु जडीबुटी, पेप्सीकोला, गोठाटार पुल हुदैं बौद्ध जोरपाटीसम्म पुग्न सक्ने ।
पार्किङ्गको व्यवस्थापन गरिएका स्थानहरु
सिफल चौर (दर्शानार्थीहरुको)
कोषको कार्यालय (सरकारी र सुरक्षाकर्मीका सवारी साधनहरु)
भण्डारखाल (सरकारी र सुरक्षाकर्मीका सवारी साधनहरु)
तिलगंगाको खाली स्थान र करिडोरमा (तिर्थयात्री, दर्शानार्थी र पर्यटकका सवारी साधनहरु)
वनकाली (शिविर सञ्चालन गर्ने संघ संस्थाहरु, दमकल, एम्बुलेन्स, खानेपानी र सुरक्षाकर्मीका सवारी साधनहरु)
गुह्येश्वरी पारि (तीर्थयात्री, दर्शानार्थीहरुको सवारी साधनहरु)
प्रतिक्रिया 4