+
+

अब भारतीयले नेपालको फोन पेमार्फत क्यूआर भुक्तानी गर्न पाउने

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन २५ गते १५:१७
दुई पक्षबीच क्रस बोर्डर क्यूआर भुक्तानी सेवासम्बन्धी सम्झौता/फाइल तस्वीर

२५ फागुन, काठमाडौं । अब नेपालमा आउने भारतीयहरुले क्यूआर भुक्तानी गर्न पाउने भएका छन् । भारतको यूपीआई प्रयोग गरिरहेका भारतीयहरुले नेपालको फोन पेको क्यूआरमार्फत भुक्तानी गर्न पाउने भएका हुन् ।

भारतको पेमेन्ट्स कर्पोरेन अफ इन्डिया (यूपीसीआई) अन्तर्गतको अन्तर्राष्ट्रिय भुक्तानी सेवा दिने कम्पनी एनआईपीएल र नेपालको फोनपे पेमेन्ट सर्भिस लिमिटेडले शुक्रबार युनिफाइड पेमेन्ट इन्टरफेस (यूपीआई) मार्फत नेपाल–भारत क्रसबोर्डर कारोबार सुरू भएको जानकारी गराएका हुन् ।

भारतको मुम्बईमा गत सेप्टेम्बरमा नेपाल राष्ट्रबैंकका गभर्नर महाप्रसाद अधिकारीको उपस्थितिमा यूपीआईमार्फत क्रसबोर्डर भुक्तानीमा सहकार्य गर्न एनआईपीएल र फोन पेबीच सहमति भएको थियो ।

सोही सहमतिअन्तर्गत भारतीय पर्यटक तथा आगन्तुकले नेपालमा क्यूआर कोडमा आधारित पर्सन–टु–मर्चेन्ट (पीटूएम) भुक्तानी सञ्चालनमा लाइएको दुई कम्पनीले जनाएका छन् । यसको अर्थ यूपीआई प्रयोगकर्ता भारतीयले नेपालका पसल, होटल, रेष्टुराँलगायत फोन पेमा आबद्ध व्यवसायीलाई क्यूआर कोड स्क्यान गरी रकम भुक्तानी गर्न सक्ने भएका छन् । तर, नेपालीले भने यस्तै सुविधा अहिल्यै भारतमा पाउने छैनन् ।

यो परिघटना दुई मुलुकबीचको क्रसबोर्डर कारोबारमा क्रान्तिकारी रुपान्तरण भएको दुई कम्पनीले जारी गरेको संयुक्त विज्ञप्तिमा उल्लेख छ ।

नेपालको फोन पेसँगको सहकार्यमा क्रसबोर्डर भुक्तानी सुरू हुँदा त्यसले दुई मुलुकबीचको व्यापार तथा सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने एनआईपीएलका प्रमुख कार्यकारी अधिकृत रितेश शुक्लाले बताए ।

क्रसबोर्डर कारोबारका कारण दुई मुलुकबीचको आर्थिक सम्बन्ध, व्यापार तथा पर्यटनलाई उल्लेखनीय रुपमा बढाउने फोनपेका प्रमुख कार्यकारी अधिकृत दिवस कुमारले जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?