+
+

हलिउड फिल्म ‘आइस रोड २’ को छायांकन काठमाडौं र भक्तपुरमा

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन २७ गते ११:५६

काठमाडौं । लियाम निसन स्टारर ब्लकबस्टर हलिउड फिल्म ‘आइस रोड २’ को छायांकन नेपालमा भएको छ । यसैसाता अरनिको राजमार्ग (कोदारी) आसपास, काठमाडौं  र भक्तपुरमा चार दिन लामो सुटिङ सकेर फिल्म टोली अमेरिका फर्किएको छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले दिएको जानकारीअनुसार काठमाडौं र भक्तपुरका सम्पदा स्थलहरु, ठमेल, भक्तपुर बसपार्कसहित अरनिको राजमार्गमा फिल्म छायांकन भएको हो ।

फिल्मका प्रमुख अभिनेता निसन चाहिं नेपाल आएका थिएनन् । चार-पाँचजना अन्य कलाकार र प्राविधिक छायांकनका लागि आएका थिए । अभिनेता निसन स्वयम नआएपनि उनको ‘बडी डबल’ कलाकार आएका थिए । फिल्मले मार्च ४ देखि १० सम्म छायांकनको अनुमति लिएको मन्त्रालयले जनाएको छ ।

स्रोतका अनुसार सुटिङ सकेर टोली फर्किइसकेको छ । गत महिना नेपालको सेट बनाएर यो फिल्मको सुटिङ अष्ट्रेलियाको भिक्टोरियास्थित वालहल्ला भन्ने ठाउँमा भएको थियो ।

फिल्मको मुख्य कथावस्तु अरनिको राजमार्ग र सिन्धुपाल्चोक आसपासको हो । भेराइटी म्यागजिनका अनुसार सन् २०२१ को हिट फिल्म ‘द आइस रोड’को यो दोस्रो श्रृंखला हो । फिल्ममा लियाम निसनले ट्रक चालक र उद्धारकर्ताको भूमिका निर्वाह गरेका छन् ।

यो फिल्मको अन्तर्राष्ट्रिय स्ट्रिमिङ अधिकार अमेजन प्राइमले खरिद गरेको छ । डेडलाइन हलिउड म्यागजिनका अनुसार हालैको कान्स फिल्म फेस्टिभलमा अमेजनले १७ मिलियन डलर रकममा उक्त फिल्म खरिद गर्ने सम्झौता गरेको हो । जोनाथन हेन्स्ले यो फिल्मका निर्देशक हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?