+
+

नेपालको नक्कली सेट बनाएर हलिउडले यसरी गर्दैछ ‘आइस रोड २’ को छायांकन (तस्वीर)

अनलाइनखबर अनलाइनखबर
२०८० माघ ३ गते १६:४६

काठमाडौं । लियाम निसन स्टारर हलिउडको ब्लकबस्टर फिल्म ‘आइस रोड २’ को छायांकन यसैसातादेखि अष्ट्रेलियाको भिक्टोरियास्थित वालहल्ला भन्ने ठाउँमा भइरहेको छ ।

कथावस्तु र सेटिङ पूरै नेपालको भएपनि नेपालको नक्कली भूगोल र घरहरुको सेट खडा गरेर हलिउड फिल्मको सुटिङ सुरु भएको हो । फिल्मको मुख्य कथावस्तु चाहिं कोदारी (अरनिको) राजमार्ग र बाह्रबिसे आसपासको हो ।

प्राप्त तस्वीरमा फिल्मको लोकेसन र सेट देखिन्छ, जुन दुरुस्तै नेपालको जस्तो तुल्याइएको छ । केही दिनअघि सेट ज्वाइन गरेका हलिउड अभिनेता नेसनको एक फोटोमा नेपाली अक्षरमै ‘पहेंलो पुतली लज’ लेखिएको छ ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार वालहल्ला भन्ने ठाउँका सबै घरमा रङ पोतेर नेपालको जस्तै तुल्याइएको छ । ‘नेपाल पुलिस’ भन्दै नेपाल प्रहरीको भ्यान पनि छ । अर्को एक फोटोमा दरबाङ फ्रेस हाउस तथा तरकारी पसल भनिएको छ । तर दरबाङ म्याग्दीको गाउँको नाम हो । फिल्ममा भने कोदारी भन्दै दरबाङ लेखिएको छ ।

भेराइटी म्यागजिनका अनुसार सन् २०२१ को हिट फिल्म ‘द आइस रोड’को यो दोस्रो श्रृंखला हो । फिल्ममा लियाम निसन ट्रक चालक र उद्धारकर्ताको भूमिका निर्वाह गरेका छन् ।

यो फिल्मको सुटिङ यसअघि उत्तरी क्यानडामा गर्ने योजना थियो तर फिल्मको निर्माण अष्ट्रेलियाको भिक्टोरिया राज्यमा सारिएको हो । डाई हार्ड विथ अ वेन्जेन्स, आर्मगेडन र जुमान्जी फेम्ड लेखक जोनाथन हेन्सले यो फिल्मको निर्देशन गरिरहेका छन् ।

अष्ट्रेलियाका संघीय र राज्य सरकारले स्थान प्रोत्साहन योजना, भिक्टोरियन स्क्रिन प्रोत्साहन र क्षेत्रीय स्थान सहायता कोषमार्फत फिल्मलाई आर्थिक सहायता प्रदान गर्ने घोषणा गरेका छन् । यो फिल्मको छायांकनबाट भिक्टोरिया राज्यलाई २० मिलियन अमेरिकी डलर फाइदा हुने बताइएको छ ।

उक्त छायांकनले भिक्टोरिया राज्यमा रोजगारी सिर्जना गर्ने र आर्थिक गतिविधिलाई बढावा दिने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?