+
+

पोखरा भवनको शिलान्यास, १८ महिनामा सकिने

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन २७ गते १५:३१

पोखरा । सूचना केन्द्र, आर्ट ग्यालरी, पुस्तकालय र घण्टाघर रहने पोखरा पोखरा भवनको आइतबार शिलान्यास भएको छ । पोखरा पृथ्वीचोकमा बन्ने उक्त भवन पोखरा महानगरपालिकाको सातौं स्थापना दिवसको अवसरमा मेयर धनराज आचार्यले शिलान्यास गरे ।

१८ महिनामा सक्ने गरी पोखरा भवन कोजु इन्जिनियरिङ, आरुषी, एबीएसी जेभीले ठेक्का पाएको हो । उक्त भवन बनाउन भ्याटबाहेक ६ करोेड ९३ लाख रुपैयाँमा महानगरले जेभीसँग ठेक्का सम्झौता गरेको हो ।

‘पोखरा भवन’को भुइँतलामा सूचना केन्द्र, दोस्रो तलामा पुस्तकालय, तेस्रो तलामा ग्यालरी र त्यसमाथि घण्टाघर बन्ने महानगर भवन तथा पूर्वाधार महाशाखा प्रमुख इन्जिनियर सुरेन्द्र पाण्डेले जानकारी दिए । उनका अनुसार यो भवनको भूमिगत पार्किङमा एकैपटक ४० वटा मोटरसाइकल पनि पार्किङ गर्न मिल्नेछ ।

पोखरा महानगरले आर्ट ग्यालरी, पुस्तकालयसहित नयाँ भवन बनाउने निर्णय गरेको करिब ५ वर्षपछि भवनको शिलान्यास भएको हो ।

तत्कालीन महानगर प्रमुख मानबहादुर जिसी नेतृत्वमा १ चैत ०७५ मा बसेको कार्यपालिका बैठकले महेन्द्रपुलबाट आर्टग्यालरी र पुस्तकालय हटाउने निर्णय गरेको थियो ।

महेन्द्रपुलमा रहेको आर्ट ग्यालरी र पुस्तकालय दशकौं पुरानो भएको र साँघुरो भएकाले खुला ठाउँमा सुविधासम्पन्न भवन बनाएर स्थानान्तरण गर्ने महानगरको योजना थियो । सुरुमा महेन्द्रपुलबाट नयाँबजारस्थित प्रदेश संग्रहालयमा ग्यालरी बनाउने महानगरले बताएको थियो ।

तर, संग्रहालय प्रदेशको मातहतमा रहेको र महानगरले समन्वयबिना नै निर्णय गरेको भन्दै प्रदेश संग्रहालयले स्वीकृति नदिएपछि उक्त योजना कागजमै सीमित थियो । तत्कालीन महानगर प्रमुख जिसी आफ्नो निर्णय कार्यान्वयन नगरेरै महानगरबाट बिदा भए ।

महानगरको नयाँ मेयरका रुपमा निर्वाचित भइसकेपछि धनराज आचार्यले २३ भदौ ०७९ मा महेन्द्रपुलको आर्ट ग्यालरी र पुस्तकालयमा डोजर चलाएका थिए । मेयर आचार्यले बिना विकल्प ग्यालरी र पुस्तकालय भत्काएको भन्दै तत्कालीन समयमा कलाप्रेमीहरुले आलोचना गरेका थिए ।

त्यसपछि महानगरले विज्ञप्ति जारी गरेर पृथ्वीचोकमा पोखरा घर बनाउन लागेको र त्यतिञ्जेलसम्मका लागि नयाँबजारस्थित क्षेत्री समाजघरलाई अस्थायी रुपमा ग्यालरी र पुस्तकालय बनाइएको जानकारी दिएको थियो ।

अहिले महेन्द्रपुलमा रहेको आर्ट ग्यालरी भत्काएर गैर अवासीय नेपाली संघको १ करोड लगानीमा सार्वजनिक शौचालय र पुस्तकालय भत्काएर लायन्स क्लबको करिब ७० करोड लगानीमा अन्तर्राष्ट्रिय झण्डा पार्क बनाइएको छ ।

पोखरा भवन बनाउने भन्दै महानगरले ०७९ माघ १७ गते गोलघर भवन भत्काएर ‘पोखरा घर निर्माणाधीन स्थल’को बोर्ड राखेको थियो । तर, एक वर्षम्म भवन निर्माणको‍ कुनै प्रक्रिया सुरु नगरेपछि कलाकर्मीहरुले विरोध जनाएका थिए ।

सिर्जनशील कलाकार समूहका डिबी गुरुङ पोखरामा आर्ट ग्यालरी नहुँदा बंगलादेश, भारतलगायत ठाउँबाट प्रसिद्ध कलाकार आएर पनि फर्किएको सुनाए । ‘उहाँहरु कतिपटक आउनुभएको थियो । ठाउँ भए पो एक्जिविसन गर्ने ! निराश भएर फर्किनुभयो’, उनले भने ।

अहिले पोखरा भवन शिलान्यास भएपछि भने कलाकर्मीमा केही आशा पलाएको छ । सिर्जनशील कलाकार समूहका डिबी गुरुङ सवारी साधनले गर्दा व्यस्त ठाउँमा ग्यालरी बनाउन लागिएको भए पनि शिलान्यास हुँदा खुसी लागेको बताए ।

उनले भने, ‘यो ठाउँमा पनि बल्लबल्ल शिलान्यास भएको छ । अब १९ महिनासम्म कुरौं भन्ने हो । ग्यालरी हुँदा र नहुँदा धेरै फरक हुन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?