+
+

सुदूरपश्चिममा नाउपाका लक्ष्मणकिशोर चौधरी पनि मन्त्री बन्दै

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन २८ गते १४:५३

२८ फागुन, धनगढी । सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले सोमबार पनि मन्त्रिपरिषद विस्तारको तयारी गरेका छन् ।

उनले नागरिक उन्मुक्ति पार्टीका प्रदेशसभा सदस्य लक्ष्मणकिशोर चौधरीलाई सामाजिक विकास मन्त्री नियुक्त गर्न लागेका हुन् । । नाउपा अध्यक्ष रञ्जिता चौधरी निकट उनले दिउँसो ३ बजे प्रदेश प्रमुख देवराज जोशीबाट पद तथा गोपनीयाको शपथ लिने तय भएको स्रोतले बताएको छ ।

मुख्यमन्त्री शाहले यसअघि शुक्रबार नाउपा संसदीय दलका नेता घनश्याम चौधरीलाई आर्थिक मामिला मन्त्री, खुशीराम चौधरीलाई विना विभागीय मन्त्री र इन्दिरा गिरीलाई कृषि राज्यमन्त्री नियुक्त गरेका थिए ।

नाउपाबाट रामेश्वर चौधरी यसअघि नै भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री छन् । लक्ष्मणकिशोर चौधरी मन्त्री बनेपछि सुदूरपश्चिम सरकारमा नाउपाका मन्त्रीको संख्या ५ पुग्नेछ ।

२१ फागुनमा केन्द्रमा एमाले-माओवादीसहितको गठबन्धन सरकार बनेपछि मुख्यमन्त्री शाहले माओवादी केन्द्रका मन्त्रीहरु बर्खास्त गरे भने त्यसको केही दिनमा एकीकृत समाजवादीले पनि सरकार छाडेको छ ।

आफूलाई समर्थन दिएको दुई दलले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री शाहले आफ्नो पक्षमा बहुमत पुर्‍याउन सरकारमै रहेको नागरिक उन्मुक्ति पार्टीलाई थप मन्त्रालय दिएका हुन् ।

मुख्यमन्त्री शाहले स्वतन्त्र प्रदेशसभा सदस्य डा. ताराप्रसाद जोशी र राप्रपाकी खेमादेवी बिष्टलाई पनि मन्त्री नियुक्त गर्ने तयारी गरेका थिए, तर राप्रपाले केन्द्रको निर्णय पर्खिने बताएपछि स्वतन्त्र सांसद जोशी पनि तत्काल सरकारमा गएका छैनन् । जोशी भने सरकारमा जान सकारात्मक रहेको कांग्रेस नेताहरु बताउँछन् ।

नाउपाका सांसदलाई एकपछि अर्को मन्त्री नियुक्त गरिरहेका शाहले मन्त्रालय फुटाएर भएपनि जोशी र विष्टलाई पनि मन्त्री बनाउने आश्वासन दिएका छन् ।

दुवै जना सरकारमा आए मात्र शाहलाई बहुमत पुग्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?