+
+

जहाज दुर्घटनामा मृतकको क्षतिपूर्ति १ लाख डलर पुग्दै, मन्त्रिपरिषद्ले दियो सैद्धान्तिक स्वीकृति

यात्रा क्रममा बोर्डिङ चेक गरेपछि वायुयानभित्र जाने क्रमका प्रक्रिया वा यात्रा अवधिभरि वायुयान भित्र रहँदा वा वायुयानबाट उत्रिने प्रक्रियामा कुनै दुर्घटना भई चोटपटक लागे वा मृत्यु भए सम्बन्धित वायुसेवा संस्थाले क्षतिपूर्ति बापत १ लाख अमेरिकी डलर बेहोर्नुपर्ने यस विधेयकको प्रावधान छ ।

अच्युत पुरी अच्युत पुरी
२०८० फागुन २९ गते १७:५९
१ माघ २०७९ मा पोखरामा भएको जहाज दुर्घटना/फाइल तस्वीर

२९ फागुन, काठमाडौं । आन्तरिक जहाज दुर्घटनामा ज्यान गुमाउने यात्रुका परिवारले पाउने बीमा बापत् क्षतिपूर्ति रकम १ लाख अमेरिकी डलर पुर्‍याउन कानुनी प्रक्रिया अगाडि बढेको छ ।

मन्त्रिपरिषद्को सोमबारको बैठकले ‘हवाई यातायात सेवा सञ्चालन संस्थाको दायित्व तथा बीमा व्यवस्था गर्ने विधेयक’ तर्जुमा गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई सैद्धान्तिक सहमति प्रदान गरेको छ ।

यो विधेयकमा आन्तरिक तर्फका जहाज दुर्घटनामा ज्यान गुमाउने यात्रुको परिवारले पाउने क्षतिपूर्ति रकम १ लाख डलर पुर्‍याउने गरी प्रस्ताव गरिँदैछ ।

अहिले यस्तो रकम २० हजार डलरमात्र छ । विधेयक संसदबाट पास भई कार्यान्वयनमा आएपछि क्षतिपूर्ति रकम ५ गुणाले बढ्ने छ ।

पर्यटन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेका अनुसार मन्त्रिपरिषद्ले विधेयक तर्जुमा स्वीकृति दिएसँगै अब मन्त्रालयले विधेयकको मस्यौदा मन्त्रिपरिषद् लैजाने छ । मन्त्रिपरिषद्‍बाट संसद पुगेर पास भए विधेयक कार्यान्वयनको बाटो खुल्ने छ ।

तीन वर्षपछि लियो गति

सरकारले यो विधेयक बनाउन २०७७ चैतमा एक कार्यदल गठन गरेको थियो । कार्यदलको नेतृत्वमा सहसचिव लामिछाने तोकिएका थिए । उक्त कार्यदलले मस्यौदा तयार पारे पनि प्रक्रिया अगाडि बढेको थिएन ।

नेपालले अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आईकाओ) को मन्ट्रियल महासन्धी १९९९ लाई सन् २०१८ मा मात्र अनुमोदन गरेको थियो । यो अनुमोदन गरेसँगै अन्तर्राष्ट्रिय उडानका जहाज दुर्घटनामा पर्दा यात्रुले पाउने बीमा बापत क्षतिपूर्ति १ लाख ६५ हजार डलर हाराहारी पुगेको सहसचिव लामिछानेले जानकारी दिए ।

आन्तरिक उडानका जहाजका हकमा क्षतिपूर्ति रकम अन्तर्राष्ट्रियको तुलनामा केही कम गरी तोक्न लागिएको छ । मन्ट्रियल महासन्धीमा दुर्घटना मात्र नभई हवाई यात्राका दौरान हुन सक्ने विलम्ब, यात्रा स्थगन, यात्रुलाई लाग्न सक्ने चोटपटक, अंगभंग वा मृत्यु तथा वायुयानबाट ओसार–पसार गरिने मालसामान ओसार पसार क्रममा विलम्ब, नष्ट वा हराउने र बिग्रिने भएको अवस्थामा पाउने क्षतिपूर्तिको व्यवस्था गरिएको छ ।

के–के व्यवस्था गरिँदै छ ?

वायुसेवा सञ्चालन संस्थाको यात्रु, ब्यागेज र कार्गो सम्बन्धी दायित्वभित्र टिकट जारी गर्ने, निर्धारित मिति र समयमा सुरक्षित यात्रा गराउनुपर्छ ।

निर्धारित समयमा उडान रद्द वा स्थगन भए कम्तीमा तीन घण्टा अगाडि नै यात्रुलाई जानकारी गराउनुपर्ने व्यवस्था यस विधेयकमा हुनेछ । तीन घण्टा अगाडि उचित कारण देखाएर भएको उडानमा वायुसेवा कम्पनीलाई कुनै जरिवाना लाग्ने छैन ।

यात्रा क्रममा बोर्डिङ चेक गरेपछि वायुयानभित्र जाने क्रमका प्रक्रिया वा यात्रा अवधिभरि वायुयान भित्र रहँदा वा वायुयानबाट उत्रिने प्रक्रियामा कुनै दुर्घटना भई चोटपटक लागे वा मृत्यु भए सम्बन्धित वायुसेवा संस्थाले क्षतिपूर्ति बापत १ लाख अमेरिकी डलर बेहोर्नुपर्ने यस विधेयकको प्रावधान छ ।

जहाज दुर्घटनामा घटनास्थलमै यात्रुको मृत्यु भएसमेत सोही रकम बराबर क्षतिपूर्ति मृतकको नजिकको हकवालालाई उपलब्ध गराउनुपर्ने छ । दुर्घटनामा घाइते वा अंगभंग भए सम्बन्धित वायुसेवा कम्पनीले उपचार गर्नुपर्ने छ । वायुसेवा कम्पनीले ऐनमा तोकिएको रकमभन्दा कम हुन नहुने गरी आफ्नो दायित्व सीमा तोक्न नपाउने समेत विधेयकको मस्यौदामा उल्लेख छ ।

यात्रुको लापरबाहीबाट यात्रुलाई चोटपटक लागे वा यात्रुलाई पहिलेदेखिकै गम्भीर रोगका कारण जहाजमा मृत्यु भएमा भने क्षतिपूर्ति दायित्व भर्न वायुसेवा कम्पनी बाध्य हुने छैन । दुर्घटना भएको मितिले ३० दिनभित्र वायुसेवा सञ्चालन संस्थामा क्षतिपूर्ति रकम दाबी गर्नुपर्ने गरी नियम बनाइँदै छ ।

२८ फागुन २०७४ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यूएस बाङ्ला एयरलाइन्सको जहाज दुर्घटनामा ठूलो संख्यामा नेपाली नागरिकको मृत्यु भएपछि नेपालमा पनि मन्ट्रियल महासन्धी अनुमोदन गर्न दबाब बढेको थियो ।

लेखकको बारेमा
अच्युत पुरी

आर्थिक पत्रकारितामा सक्रिय पुरी पर्यटन तथा नागरिक उड्डयन विषयमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?