+
+

बर्खास्तीमा परेका प्रदेश प्रमुख : उपचारसँगै आरामका लागि समय मिल्यो

अमृत सुवेदी अमृत सुवेदी
२०८० फागुन २९ गते २०:०८
पृथ्वीमान गुरुङ । फाइल तस्वीर

२९ फागुन, पोखरा । केन्द्र सरकारको नेतृत्व गरिरहेको माओवादी केन्द्रले नेपाली कांग्रेस छाडेर नेकपा एमालेसँग नयाँ गठबन्धन बनाएलगतै गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङलाई लागेको थियो, ‘यसपटक मेरै पद पनि जानसक्छ ।’ नभन्दै सरकारले सोमबार गुरुङलाई बर्खास्त गरेर डिल्लीराज भट्टलाई नियुक्त गर्‍यो ।

‘तारन्तार काठमाडौं–पोखरा गरिरहनुभन्दा अब नियमित स्वास्थ्योपचार र आरामका लागि समय मिल्ने भयो,’ बर्खास्तीमा परेको समाचार सुनेपछि पृथ्वीमानले सोचे ।

पृथ्वीमानलाई शेरबहादुर देउवा नेतृत्वको सरकारले १२ साउन २०७८ मागण्डकीको प्रदेश प्रमुख नियुक्त गरेको थियो । ढाइ वर्षभन्दा लामो समय प्रदेश प्रमुख हुने अवसर पाएका पृथ्वीमान पछिल्लो समय प्याङ्क्रियाज क्यान्सरसँग जुधिरहेका छन् ।

डा. रमेशसिंह भण्डारीका अनुसार क्यान्सरका बिरामीमध्ये ३/४ प्रतिशत मानिसमा यस्तो किसिमको क्यान्सर देखिन्छ । ‘प्याङ्क्रियाजबाट फरक–फरक किसिमका इञ्जाइम निस्कन्छन् । उक्त इञ्जाइम आन्द्रा हुँदै पेटसम्म पुग्छ र खाना पचाउन सहयोग गर्छ,’ भण्डारी भन्छन्, ‘प्याङ्क्रियाजबाट विभिन्न किसिमका हर्मोन पनि निस्कन्छन् । शरीरका अन्य अंगमा जस्तै प्याङक्रियाजमा पनि क्यान्सर हुनसक्छ ।’

मेडिसिटी अस्पताल, नख्खुमा जाँच गर्दा उनलाई क्यान्सर पुष्टि भएको थियो । किमोथेरापी र नियमित जाँचका लागि काठमाडौं गइरहनुपथ्र्यो । सोमबार बर्खास्तीमा पर्दा पनि नियमित जाँचकै लागि उनी काठमाडौंमै थिए । ‘किमोथेरापीदेखि नियमित होलबडी चेकअप गर्नुपर्ने भएकाले काठमाडौंमै थिएँ’ उनले भने, ‘अनलाइनमा समाचार देखेर बर्खास्तीको खबर पाएँ । हङ पार्लियामेन्टमा यस्ता घटनाक्रमलाई सामान्य रुपमै लिनुपर्छ ।’

बर्खास्तीको खबर सुनेका उनले काठमाडौंमा भएका आफ्ना केही सामान भरतपुरतिर पठाइसकें । अब पोखरा गएर चितवनतिर लाग्ने योजनामा रहेका उनले भने, ‘अब चितवन बसेर स्वास्थ्यलाभ र सकेसम्म सामाजिक काममा लाग्ने छु ।’

लामो समय नेपाली कांग्रेसको राजनीति सक्रिय पृथ्वीमान सहिद हरि गुरुङका नाती हुन् । कास्कीको माछापुच्छे« गाउँपालिका, ल्वाङ घलेलबाट २०१४ साल उनका बुबा चितवन झरेका थिए । बुबालाई पछ्याउँदै पृथ्वीमान २०१८ सालमा चितवन पुगे । पोखराको पृथ्वीनारायण क्याम्पसमा पढाए, जनमत संग्रह भएको समयमा पनि पोखरामै सक्रिय थिए ।

पोखरामै बसेर गण्डकी प्रदेशको प्रदेश प्रमुख भएर काम गर्न पाएकोमा पृथ्वीमान खुसी छन् । गण्डकीको प्रदेश प्रमुख हुँदा विवादमा फसेनन् । डेढ दर्जन जति कानुन प्रमाणीकरण गरे । ‘संविधानले तोकेको ऐन प्रमाणीकरण गर्नेदेखि सरकारको नीति तथा कार्यक्रम संसदमा प्रस्तुत गर्नेसम्म काम त भइहाल्यो, यहाँको माटो, समाज, राजनीति पनि अझै बुझ्ने अवसर पाएँ,’ पृथ्वीमानले भने ।

प्याङ्क्रियाज क्यान्सरलाई जितेर फेरि समाजसेवा र राजनीतिसँग पनि जोडिने उनको योजना छ । ‘कांग्रेसको क्रियाशील सदस्य त जिन्दगीभर हुन्छु, स्वास्थ्यले साथ दिएसम्म सामाजिक काममा लागिरहने छु,’ पृथ्वीमान भन्छन्, ‘पहिलोजस्तो तन्दुरुस्त हुँदिन होला अब । त्यसैले सक्रिय राजनीति कति गर्न सक्छु, त्यो थाहा छैन ।’

जनताले प्रदेशको भूमिका देख्न पाएनन्

झण्डै ढाइ वर्ष गण्डकीको प्रदेश प्रमुख बनेका पृथ्वीमानको विश्लेषण छ, संघका कारण प्रदेश संसद पनि प्रभावित हुँदा जनताले प्रदेशको भूमिका देख्न पाएका छैनन् । संविधान (निर्वाचन प्रणाली) का कारण एउटै पार्टीको बहुमत नआउने भन्दै उनले भने, ‘जहिले पनि हङ पार्लियामेन्ट, जहिले पनि कोलिसन गभर्मेन्ट हुने भयो । त्यसको प्रतिछायाँ प्रदेशमा पनि पर्ने नै भयो ।’

गठबन्धनमा कतिबेला कसले के भूमिका खेल्छ र सरकारको अस्तित्व कुन रुपमा जान्छ भन्ने थाहा नहुने हुँदा नेताहरुको मानसिकता पनि अस्थिर देखिएको उनले सुनाए । कोसँग गठबन्धन गर्दा सत्ता जोगिन्छ भनेर अस्थिरतामै रहनुपर्ने भएकाले पनि प्रदेशको भूमिका कम देखियो भन्ने पृथ्वीमानलाई लागेको छ ।

प्रदेशलाई बलियो बनाउनेतिर संघीय सरकारले पनि सक्रियता नदेखाएको अनुभव छ । ‘प्रदेश सरकारलाई आवश्यक ऐनकानुन समयमै बनाइदिएन । निजामती ऐन, प्रहरी समायोजन ऐन, शिक्षा ऐन बनाइदिएन,’ पृथ्वीमान भन्छन्, ‘यी कानुन बेलैमा बनाएर हस्तान्तरण गरेको भए प्रदेशको भूमिका अलि बढी देखिन्थ्यो । प्रदेश पनि सशक्त छ भन्ने महसुस जनताले गर्ने थिए ।’

मुख्यमन्त्रीहरुले कानुन बनाउन प्रधानमन्त्रीलाई भेटिरहनुपर्ने र जनताको कामभन्दा सत्ता जोगाउन ध्यान दिनुपर्ने भएकाले संघीयतालाई अप्ठ्यारो पारिरहेको उनको विश्लेषण छ ।

लेखकको बारेमा
अमृत सुवेदी

पोखरामा रहेर पत्रकारिता गरिरहेका सुवेदी अनलाइनखबरका गण्डकी प्रदेश ब्युरो प्रमुख हुन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?