+
+

दाह्रीले मिनिबस तानेर युक्रेनी युवाले राखे विश्व कीर्तिमान (भिडियोसहित)

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन ३० गते १२:५३

दुईवटा विश्व कीर्तिमान कायम गरेको केही महिनामै एक बलशाली युक्रेनी युवाले थप तीनवटा कीर्तिमान कायम गरेका छन् ।

युक्रेनको डिनिप्रोमा बस्ने ३५ वर्षीय डिमिट्रो ह्रुन्स्कीले आफ्नो दाह्री, दाँत र घाँटीले गाडी तानेर तीनवटा फरक-फरक विश्व कीर्तिमान कायम गरेका हुन् ।

उनले आफ्नो दाह्रीले दुई हजार ५८० केजी वजन भएको मिनीबस तानिदिए । त्यस्तै आफ्नो घाँटीले ७ हजार ७६० केजी वजन भएको गाडी ताने भने दाँतले ७ वटा कार ताने ।

यसअघि सन् २०१९ मा पनि उनले आफ्नो दाह्रीले गाडी तान्ने प्रयास गरेका थिए, तर त्यतिबेला सफल भएनन् ।

त्यसपछिका वर्षहरुमा उनले आफ्नो दाह्री मज्जाले बढाए र दाह्रीलाई डोरीजस्तै बलियो बनाउनका लागि विभिन्न खालका अभ्यास गर्दैआए ।

अन्ततः उनले यसपटक आफ्नो दाह्रीमा रसी बाँधेर २.५८ टनको मिनीबस मज्जाले तानिदिए । योसँगै उनले १० वर्षअघि लिथुआनियाका एन्तानास कोन्त्रिमासले एक हजार ९५२ केजीको गाडी तानेर राखेको कीर्तिमान भंग गरे ।

दाह्रीले गाडी तानेर विश्व कीर्तिमान कायम गर्न सफल भएपछि लगत्तै उनी दोस्रो कीर्तिमानी कामतर्फ लागे । त्यसक्रममा उनले आफ्नो घाँटीले ७.७ टन वजनको ट्रक तान्नु थियो ।

स्मरण रहोस् डिमिट्रोले यसअघि आफ्नो घाँटीले ३२ हजार ५ सय केजी वजनको रेल तानेर कीर्तिमान कायम गरिसकेका छन् । त्यसैले सडकमा गुड्ने करिब ८ टनको गाडी पनि घाँटीले तान्न सकिन्छ भन्नेमा उनी ढुक्क थिए ।

घाँटीमा डोरी बाँधेर ट्रक तानिरहँदा उनलाई निकै सकस भयो । तथापि उनले निक्कै बल लगाउँदै त्यो भीमकाय ट्रकलाई ५ मिटर वरसम्म तान्न सफल भए । त्यो सँगै उनी घाँटीले यतिधेरै तौलको ट्रक तान्ने विश्वकै पहिलो व्यक्ति बने ।

दोस्रो कार्यमा पनि सफलता प्राप्त गरेसँगै डिमिट्रो दाँतले कार तान्ने कामतर्फ लागे । उनले यसअघि एकसाथ आफ्नो दाँतले ६ वटा क्याब ट्याक्सी तानेर राखेको आफ्नै कीर्तिमान भंग गर्दै ७ वटा कार तानिदिए । यतिमात्र होइन ती सबै कारभित्र चालक पनि बसेका थिए । यसअर्थमा उनले आफ्नो दाँतले एकसाथ सातवटा कार र सातजना मान्छे नै तानिदिए ।

ती सातवटै कार न्युट्रल गिएरमा राखिएको थियो र त्यहाँ बसेका ड्राइभरहरुले ती कार सीधा रेखामा अगाडि बढ्न सहयोग गरेका थिए ।

उनले दाँतले तानेका सातवटै कार र त्यसभित्रका मान्छेको कुल तौला ८ हजार ७८४ केजी थियो ।

डिमिट्रोले गतवर्षको अगष्टमा सबैभन्दा तिव्र गतिमा दाँतले कार तानेर अर्को कीर्तिमान कायम गरेका थिए ।

गिनिज वल्र्ड रेकर्डस् डटकमबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?