+
+
लोकतन्त्रको १८ वर्ष :

क्षमतावान् नेता भएनन्, क्षमता बढाउने चाहना पनि देखिएन

राजनीतिक नेतृत्वमा देशको नेतृत्व गर्ने क्षमताको अभाव देखियो । नियतमा म प्रश्न गर्दिनँ तर उनीहरूमा क्षमता नभएको पुष्टि नै भयो । अन्यत्र काम गर्ने क्रममा सिकेर पनि नेतृत्वले क्षमता बढाएको देखिन्छ, हाम्रोमा त्यो पनि भएन ।

विष्णु निष्ठुरी विष्णु निष्ठुरी
२०८१ वैशाख ११ गते ९:२१

पत्रकार महासंघको नेतृत्व र सञ्चार जगतको एउटा सदस्यको हैसियतमा १८ वर्षअघि हामी सडकमा निस्किएका थियौं । तत्कालको सपना, माग, एजेन्डा जे भने पनि प्रेस स्वतन्त्रताको पुनर्बहाली नै थियो । राजाले नागरिक अधिकार छिनेर लिएका थिए । मौलिक अधिकारहरू निलम्बनमा परेका थिए । मानिसहरूले स्वतन्त्रतापूर्वक केही पनि गर्न पाउँदैनथे । नागरिकको विवेक नै नियन्त्रणमा परेको अवस्था थियो ।

पत्रकार महासंघको तर्फबाट हेर्दा प्रेसमाथिको कुनै पनि अंकुश, नियन्त्रण, अवरोधहरू नरहोस् भन्ने प्रमुख माग थियो । तर त्यति मात्रै भन्दा सबै कुरा पूरा हुने अवस्था थिएन । सँगसँगै राजनीतिक स्वतन्त्रता आवश्यक थियो । यो नहुँदा बाँकी मौलिक अधिकार, नागरिक अधिकार, पेशागत स्वतन्त्रताहरू पुनर्बहाली हुन्छन् भन्ने कुरा सम्भव नै थिएन । त्यसको लागि त सुरुमा राजनीतिक अधिकार चाहिने रहेछ । राजनीतिक दलहरू पनि स्वतन्त्र हुनुपर्ने रहेछ ।

जनआन्दोलनमा आएका राजनीतिक शक्तिहरूसँग हामी सँगसँगै भयौं । उनीहरूले पनि हाम्रो एजेन्डालाई समर्थन जनाए । पत्रकारहरूले उठाएको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पुनर्बहालीको मुद्दा हाम्रो पनि सरोकारको विषय हो भनेका थिए उनीहरूले ।

हामीले राजनीतिक र विचारको स्वतन्त्रता नागरिकको जन्मसिद्ध अधिकार हो । त्यसैले दलहरूले उठाएको विषय पनि हाम्रो सरोकारको विषय हो भन्यौं । यसरी हामी आन्दोलनमा सँगसँगै भयौं । त्यस्तो आवाज उठाइरहँदा देशभित्रको निरंकुशता पक्षधर र राजाको सक्रिय शासनको पक्षमा रहेका बाहेकका सबै जनमत हाम्रो पक्षमा थियो ।

उनीहरू विस्तारै हामीसँग जोडिंदै आए । हाम्रो आवाज मुखरित हुँदैहुँदै सरहद छिचोलेर बाहिर पनि गयो । बाहिरको संसारले पनि नेपाली पत्रकारले उठाएको आवाजमाथि ध्यान दिन थाले र सौभाग्यवशः अन्तर्राष्ट्रिय पत्रकार महासंघले पनि सक्रिय रूपमा हाम्रो मागमा साथ दियो । फलतः आन्दोलनको एजेन्डा अगाडि बढाउन हामीलाई सहज भयो ।

आन्दोलनमा उत्रिइरहँदा हामीसँग त्यस्तो ठूलो योजनाबद्ध सपना थिएनन् । तर हामी रहेको क्षेत्र बलियो, राम्रो, व्यावसायिक र व्यवस्थित हुन्छ र यसमा काम गर्ने मानिसहरूले जीविकोपार्जनको लागि, परिवारको लालनपालनको लागि अरू कुनै क्षेत्रमा अतिरिक्त क्रियाकलाप गर्नुपर्दैन, स्वतन्त्र रूपमा व्यावसायिक ढंगले बाँच्न सक्छन् भन्ने अपेक्षा थियो ।

 हामी पञ्चायतको पृष्ठभूमिबाट पत्रकारितामा आएकाहरू नै आन्दोलनको नेतृत्वमा थियौं । पञ्चायतको नियन्त्रण रहेको बेलामा पछि बहुदल आएपछि फेरि पनि उतारचढाव भइरहेको सन्दर्भमा राजनीतिक स्वतन्त्रतामाथि नियन्त्रण र विचलन गर्ने काम भइरहेको थियो । एकप्रकारको अस्थिरता थियो । त्यो सबै संकटहरूमा सहभागी भएको, साक्षात्कार गरेको पुस्ता नै त्यो आन्दोलनको अग्रमोर्चामा थियौं ।

यसरी हामीले लोकतन्त्र स्थापना गर्‍यौं । तर विस्तारै परिवर्तनको नेतृत्व गर्ने नायकहरूमा प्रतिबद्धताको कमी देखियो । सुशासन, शान्तिपूर्ण र भयरहित समाज, राजनीतिक स्थायित्व र देशको समृद्धि भन्दा पनि तपसिलका कुराहरूमा उहाँहरूको बढी ध्यान गएको देखियो ।

यसबीचमा सबै शक्तिहरूको पटक–पटक परीक्षण भइसकेको छ । जुनसुकै इतिहास, योगदान, दर्शन, आदर्श र विचार बोकेका राजनीतिक दलहरू भए पनि उनीहरूको परीक्षणबाट के सिद्ध भइसकेको छ भने उनीहरू एउटा लामो दूरीको यात्रा गर्न तयार भइसक्नुभएको रहेनछ ।

ठट्टा गर्दा भन्ने गरिन्छ, नाकको टुप्पोसम्मको पनि भविष्य नदेख्ने नेताहरू ! हाम्रा नेताहरू लगभग त्यस्तै सिद्ध हुनुभएको छ । म कुनै पार्टी विशेषको कुरा गरिरहेको छैन, सबै पार्टीको । लामो, २०–२५ वर्ष, ५० वर्षको योजना खोइ त नेपालको ? उहाँहरूलाई सत्तामा पुर्‍याउन सबै लागे, धेरै त्याग, समर्पण, बलिदानहरू भएका छन् । तर उहाँहरूसँग नेपाल यस्तो बनाउँछु भन्ने कुनै योजना रहेनछ ।

स्थायित्व त झन् हुँदै भएन । उदाहरणका लागि शिक्षा हेरौं । आज स्कुल कलेजहरूमा विद्यार्थीको अभाव छ । कहाँ गए त विद्यार्थी ? न निजीमा न सरकारीमा न सामुदायिकमा । किन यस्तो भयो ? पक्कै पनि तयारी नभएर हो । रोजगारीको सवालमा यस्तै समस्या छ । पत्रकारितामा पनि यस्तै समस्या छ । राम्रो लेख्न सक्ने २५ जना मान्छे खोज्दा भेटिंदैन । तर पत्रकारको संख्या १० हजार छ ।

समग्रमा, हाम्रो राजनीतिक नेतृत्वमा देशलाई कुशल व्यवस्थापक बनेर नेतृत्व गर्ने क्षमताको अभाव देखियो । नेतृत्वको नियतमा म प्रश्न त गर्दिनँ तर उनीहरूमा क्षमता नभएको पुष्टि भयो । धेरै देशमा काम गर्ने क्रममा सिकेर पनि नेतृत्वले क्षमता बढाएको देखिन्छ । तर हाम्रोमा त्यो पनि भएन । हाम्रो लोकतन्त्रले क्षमतावान् नेता नै जन्माएन ।

हामीले दुई तिहाइ बहुमत पाएर चलाएको सरकार पनि देख्यौं । संसद्मा त्यति बलियो भएर पनि किन अघि बढ्न सकेन ? किन अल्पायुमै अर्को चुनावको कुरा भयो ? यी सबै हामीले भोग्यौं । हिंसात्मक द्वन्द्व हुनुअघि नेपाली कांग्रेसले पनि बलियो सरकार चलाउने अवसर पाएको थियो । उसले पनि बीचैमा संसद् भंग गर्नुपर्ने अवस्था आयो, त्यो पनि आफ्नै कारणले ।

पत्रकारिताको समीक्षा

नेपाली प्रेसको समीक्षा हामीले कुनै संकोच वा अप्ठ्यारो नमानिकन गर्नुपर्छ । हामीले आफ्नै कामको समीक्षा गर्नुपर्छ । हामी व्यावसायिक र इमानदार हुन सकेनौं । हामीले व्यावसायिक बनेर उभिने हैसियत नै बनाएनौं । हरेक व्यक्ति यो दोषको भागीदार छैन होला । तर हाम्रो समुदाय व्यावसायिक भएर बस्न सकेन । यो राजनीतिक छातामा अडिन गयो । गुटबन्दीमा गयो । पत्रकारका प्रशस्तै वैचारिक संगठनहरू जन्मिए ।

पत्रकार महासंघको नेतृत्व छान्नुपर्‍यो भने पार्टीहरू लडिरहेका हुन्छन् । पार्टीका प्रधान कार्यालयहरूमा पत्रकार महासंघको उम्मेदवार तोकिन्छ । प्रधान कार्यालयबाट सरेर त्यो शक्ति बालुवाटार पनि छिर्‍यो । पूर्वप्रधानमन्त्री र बहालवाला प्रधानमन्त्रीहरू बसेर सहमति गरे । महासंघको निर्वाचनमा खेलाडी र किङमेकर त पत्रकार नै हुनुपर्ने हो । तर उनीहरू बसेर दलगत भागबन्डा गर्छन् । भनेपछि हामीले अरू के भूमिका निर्वाह गर्‍यौं होला ? के कल्पना गर्नु ?

यसरी हेर्दा प्रेस जगतले बाटो बिराएको कारणले पनि लोकतन्त्र अहिलेको अवस्थामा पुगेको हो । हामीले जिम्मा लिनुपर्छ र समीक्षा गरेर सच्चिंदै अगाडि बढ्नुपर्छ । एउटा उदाहरण, मैले २०४८ मा संसद्को पहिलो बैठकको रिपोर्टिङ गरें ।

हामी संसदीय रिपोर्टिङ बारे केही जान्दैनथ्यौं । कुनै शब्दावली पनि थाहा थिएन । तर सिक्दै सिक्दै हामीले गर्‍यौं। म आजकल संसद् अधिवेशन कसरी चलिरहेको छ भनेर संसद्का कर्मचारी, पुराना साथीभाइ र सांसदसँग कुराकानी गर्छु ।

उनीहरू भन्छन्— राष्ट्रिय सभा त पत्रकारहरूको आँखैमा पर्दैन । प्रतिनिधि सभामा पत्रकारहरू आउँछन् । त्यहाँ दाइको, कमरेडको, भाउजुहरूको अथवा आफ्नो नजिकको नेताको विवरण लिन्छन् । सम्बन्धित पात्रको बोल्ने पालो सकिएपछि पत्रकार संसद्बाट निस्कन्छ । हाम्रो भूमिका यसरी सीमित भइरहेको छ ।

यसबीचमा प्रविधिमा धेरै बदलाव आएको छ । गतिशील समाज बदलिने भइहाल्यो । तर हामी गन्तव्य नभएका यात्री जस्ता भएका छौं । राजनीति पनि लगभग त्यस्तै भयो । अरू पेशागत संगठनहरू पनि त्यस्तै भए ।

सामान्यतः नेगेटिभ हेडलाइन र कन्टेन्ट बढी उपभोग हुन्छ । विकसित देशहरूमा पनि लगभग यस्तै देखिन्छ । हाम्रोमा समाजमा नकारात्मकता बढाउने कुरामा जानी–नजानी पत्रकारिताको योगदान बढ्यो । हामी दैनिक रूपमा कन्टेन्टमा काम गर्नेहरू छौं ।

देशको हित र समृद्धि हुने र दीर्घकालीन रूपले फाइदा हुने विषयहरूको सकारात्मक रिपोर्टिङ गरेर समाचार पस्कने भन्दा पनि नेगेटिभ कुरामा बढी रुचि छ हामीलाई पनि । भ्रष्टाचारको एउटा अनुसन्धानमूलक रिपोर्टिङ गर भनिन्छ । कुनै न कुनै रूपमा नकारात्मक कुरामा ध्यान जान्छ । अदालतको समाचारमा जानुस्, अख्तियार, प्रहरी, सेना जहाँ पनि हामी यस्तो समाचार चाहन्छौं कि जसले हल्लीखल्ली मच्चाओस् ।

एउटा व्यक्तिको माइण्डसँग हामी खेल्न सक्छौं । पत्रकारिताको त्यो तागत छ । सबैभन्दा बढी भाषाको प्रयोग गर्ने पेशा हाम्रो । हरेक समाचारबाट हामी व्यक्तिको मस्तिष्कमा पुगिरहेका हुन्छौं । हुँदाहुँदा मान्छे नकारात्मक रूपमा प्रभावित हुने भए । सबै पत्रकार यसमा दोषी छैनन्, पत्रकारितामा राम्रो गर्ने पनि छन् तर अधिकांशमा यस्तो समस्या देखिन्छ ।

म पाठक मात्रै होइन, एकजना रिपोर्टरको हिसाबले पनि भनिरहेको छु । यो मेरो कार्यक्षेत्रको अनुभव पनि हो । सुन तस्करीको छानबिन भन्नासाथ मेरो ध्यान कसले कति ओसारेछ भन्नेतिर गयो । हामी समस्याको स्रोतमा गएनौं । नेपालमा सुन किन प्रवेश गर्छ, यसको स्रोतमा हामी गएनौं । न आयोग गयो न पत्रकार न सरकारका संयन्त्र । हामी सतहमा चिप्लिइरहेका छौं ।

कसरी सुध्रने, को सुध्रने ?

नतिजा राम्रो आउन सबै क्षेत्रमा इमानदारी चाहिन्छ । राजनीतिक नेतृत्वमा पनि गणतन्त्र स्थापनाको यो १८ वर्षको अवधिको अलि कठोर चिरफार र समीक्षा गर्नुपर्छ । हामी व्यावसायिक भन्नेहरूले पनि राम्ररी आफ्नो भूमिका निर्वाह गर्न सकेनौं । राजनीति सफा गर्न हामीले अरूलाई अर्ति–उपदेश मात्रै दिने होइन कि हामी स्वयम्ले पनि आफ्नो बारेमा समीक्षा गर्नुपर्छ ।

यसरी समीक्षा गर्दा कम्तीमा १० वटा बुँदा त निस्केलान् । तिनलाई विस्तारै घटाउन थाल्नुपर्‍यो । हरेक वर्ष कमजोरी घटाउँदै शून्यमा झार्ने प्रयास गर्नुपर्‍यो ।

अन्ततः राजनीतिक नेतृत्व नै निर्णायक हुन्छ । सबै कुरालाई दिशानिर्देश गर्ने, नेतृत्व गर्ने ठाउँमा उनीहरू नै हुन्छन् । कम्तीमा लड्खडाउँदै भने पनि मेनरोडमा हिंडिराख्नुपर्‍यो । आफ्नो लेन छाड्नुभएन । चालकले आफ्नो लेन छाडेन भने कम्तीमा दुर्घटना हुँदैन । यात्रुलाई पनि लेनमै हिंडाउँछ र गन्तव्यमा पुर्‍याउँछ ।

अहिले नेतृत्वसँग नागरिकको भरोसा टुटेको छ, यही हाम्रो समस्या हो । कतिबेला कुन चालक चढ्छ र को ओर्लन्छ थाहा हुँदैन । यात्री गाडीमा बसिरहन्छ । हिंड्दाहिंड्दै ओर्लने हो कि ब्रेक लगाएर ओर्लने हो, त्यो थाहा छैन ।

दुर्भाग्य के भयो भने हाम्रो नेताहरूमा ‘नो’ भन्ने हिम्मत नै छैन । यो मान्छेलाई यो अवसर दिनुपर्‍यो, यसलाई यहाँ नियुक्त गर्नुपर्‍यो भन्दा दुई दिन रोकेर, बुझेर ‘हुन्न’ भन्न सक्नुपर्छ । नियुक्ति, सिफारिस, ठेक्कापट्टा र ठूला समझदारीहरूमा ‘नो’ भन्न सक्ने आँट हुनुपर्छ ।

नेताहरूले हुँदैन भन्न नसक्दा गलत तत्व अर्को ढोकाबाट सत्तामा छिर्न पाए । राजनीतिमा मात्र होइन, उनीहरू सत्तामै पुगिसके । यस्तो अवस्थामा सत्ताको दुरुपयोग गर्न चाहने तत्व जनमत भन्दा बलियो भएर आयो । राजनीतिक नेतृत्वमा नीतिगत कुरामा अडान लिने, सम्झौता गर्दिनँ भन्ने हिम्मत र साहस देखिएन ।

अहिले धेरै खालका सञ्चारमाध्यमहरू छन् । नयाँ माध्यमहरू पनि परिपक्व भइरहेका छन् । काम गर्दै जाँदा गल्ती हुन्छन्, परिपक्वता यस्तै अनुभव र अभ्यासबाट आउने हो । तर, सञ्चार गृहहरू माथि पनि आम मानिसहरूको शंकाको नजर देखिन्छ ।

अहिले मानिसहरू प्रश्न गर्न थालेका छन्, यो मिडिया कसले चलाइरहेको छ ? स्वामित्व, लगानीबाट सिर्जित नागरिकको शंकालाई हामीले मुक्त बनाउनुपर्छ । आम मानिसले शंकाको दृष्टिले हेर्न थाले भने राम्रो काम गर्दा पनि कसका लागि गरेको भन्ने आरोप व्यहोर्नुपर्ने हुन्छ ।

यस्तो शंकाको वातावरण किन भयो ? मानिसले भरोसा गर्ने ठाउँ नपाएर त होला नि ! यस्ता आशंका हटाउन सुरुमा पत्रकार व्यक्तिगत र संस्थागत रूपमा दलगत प्रभाव र छत्रछायाँबाट बाहिर आउनुपर्छ । पत्रकार र सञ्चार संस्था फलानो दल र नेताको भनेर बाहिर चियापसलमा गनिने अवस्था छ ।

किन यस्तो भयो ? हामीले गरेको काम सन्तुलित भएन होला । हाम्रो कामको अडिट बाहिर आम पाठक, दर्शक र श्रोताले गरिरहेका हुन्छन् । हामी राजनीतिक (दलगत) प्रभाव क्षेत्रबाट बाहिर आउनुपर्छ । व्यक्तिगत झुकाव त सबैको हुन्छ । त्यसलाई कसैले रोक्ने वा कसैको निर्देशन चल्ने भन्ने हुँदैन । तर संस्थागत र व्यावसायिक भूमिकामा चाहिं हामी राजनीतिक प्रभावबाट बाहिर आउनुपर्छ ।

संकटको बेला पत्रकारहरूको संरक्षण कसैले गरेन । व्यावसायिक सुरक्षा सुनिश्चित भएन । संकटमा पत्रकारलाई कसैले पनि जोगाएनन् वा जोगाउन चाहेनन् । कोभिडको समयमा मिडिया हाउसले संस्था नै बन्द गरेर पत्रकारलाई सडकमा पठाए । जतिबेला पत्रकारलाई जसरी पनि जोगाउनुपथ्र्याे ।

आज पत्रकारहरूले चाहेर नचाहेर पनि पार्टीसँग नजिक हुनुपर्ने परिस्थिति आउनुको एउटा कारण त्यो पनि हो । हामीले त्यो पाटो बिर्सनुहुँदैन । हुरी–बतास चलेको बेला छानाबाट बाहिर जा, मेरो छानो छोड भनेपछि मानिस कहाँ जान्छ ? सडकमा । सडकमा धेरैबेर बस्न नसकेपछि जहाँ ओत लाग्न पाइन्छ, त्यहीं जान्छ ।

(नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष निष्ठुरीसँग अनलाइनखबरका लागि सुदर्शन खतिवडाले गरेको कुराकानीमा आधारित ।)

तस्वीरः चन्द्रबहादुर आले/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?