 
																			११ वैशाख, काठमाडौं । मानवशास्त्री डोरबहादुर विष्टले ४० को दशकमै आफ्नो पुस्तक ‘फ्याटलिज्म एण्ड डेभलप्मेन्ट’ मा राज्य संरचनामा ‘आफ्नो मान्छे’ संस्कृति व्याप्त भएको लेखेका थिए । राज्यको उपल्लो तहमा आफ्नो मान्छे, साथीभाइ र नातागोता भए सहज अवसर पाइने र गलत क्रियाकलापमा सजायको भागीदार पनि हुनु नपर्ने उनको व्याख्या थियो ।
इतिहासले पनि राणाकालबाटै भाइभारदार, सेना प्रमुख नियुक्तिदेखि प्रहरी बन्नसमेत नातागोता र चिनजानका मान्छे हेरिन्थे भन्ने बताउँछ । राजतन्त्रमा पनि आफ्नो उदण्ड गतिविधिका कारण युवराजहरू आलोचित थिए । पूर्वयुवराज पारस शाह अझै आफ्नो हर्कतका कारण बेलाबखत विवादमा परिरहन्छन् ।
अहिले त्यही विरासतविरुद्ध लडेकाहरू पनि परिवारवादमा लिप्त भएको भन्दै पार्टीभित्रै प्रश्न उठ्न थालेका छन् । राजनीति नेतृत्वमा भएका नेताहरू छोराछोरीका शंकास्पद गतिविधिका कारण सार्वजनिक रूपमा समेत आलोचित छन् ।
गलत स्वार्थ भएकाहरूले कतिपय नेताका सचिवालयमा भएका तिनका छोराछोरीसँग सम्बन्ध बनाएर राज्यको उपल्लो तहसम्ममा पहुँच पुर्याएर आफू अनुकूल निर्णयहरू गराएका उदाहरण प्रशस्तै छन् ।
सत्तारुढ नेकपा माओवादी केन्द्रका सचिव राम कार्की स्वयम् माओवादी वा अरू पार्टीका नेता जोसुकैले सचिवालयमा आफ्ना छोराछोरी राखे पनि त्यो प्रश्नयोग्य भएको बताउँछन् । उनी सोध्छन्, ‘हिजो जंगलमा हिंडेका बेला दाङका थारु, रोल्पातिरका मगर र दलितले काम गर्ने, आज मन्त्री बनेर सचिवालयमा घुस्दा चाहिं सफा लुगा लगाएको मान्छे नै चाहिने ?’
माओवादीभित्र परिवारवाद हावी भएको निष्कर्ष सुनाउँदै मोहन वैद्य ‘किरण’ को नेतृत्वमा पार्टी छाडेका रामबहादुर थापा ‘बादल’ आफैंले पछि गृहमन्त्री बन्दा छोरा प्रतिक थापालाई स्वकीय सचिव बनाए । २०७३ सालमा मातृका यादव, मणि थापा, पम्पा भुसाल, जयपुरी घर्तीहरूसँगै फेरि माओवादी प्रवेश गरेपछि उनले गृहमन्त्री बन्ने अवसर पाएका थिए ।
सुरूवातमा गृह प्रशासनको काम उत्साहजनक नै देखिए पनि पछि छोराकै अस्वभाविक चलखेलका कारण प्रहरीका अधिकांश सरुवा–बढुवा विवादमा आए । प्रतिक गृहमन्त्रीको भूमिका अनुसारको व्यवस्थापनको काममा भन्दा ज्यादा विचौलियाका रूपमा देखा परे ।
अध्येता रमेश पराजुलीका अनुसार, महत्वपूर्ण पदमा रहँदा बाह्य व्यक्तिसँग समन्वय, कतिपय महत्वपूर्ण विषयमा विचार निर्माणका लागि गृहकार्य गरेर कामलाई प्रभावकारी बनाउन स्वकीय सचिव, विज्ञ राखेर सचिवालय बनाउने चलन हो ।
तर, बादल पुत्र प्रतिकको भूमिका गृहमन्त्री बुबाको कामलाई प्रभावकारी बनाउनेभन्दा बेसी विवादित बनाउनेतिर थियो । अधिकांश गतिविधि विवादित हुँदा बादलले केही महिनामै उनलाई सचिवालयबाट हटाउनुपर्यो । मन्त्रालयमा बसेर प्रहरीको सरुवा–बढुवामा नजर लगाएर असूली गर्न थालेको सूचना पाएपछि तत्कालीन प्रहरी महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनालले प्रतिकबारे बादलसँगै समेत गुनासो गरेका थिए ।
त्यसबेला प्रहरीमा रहेका एक उच्च अधिकृतका अनुसार बादलको कार्यकालको अधिकांश समय प्रतिक नक्सालस्थित प्रहरी हेडक्वार्टर पछाडिको एक रेस्टुरेन्टमा बस्थे । त्यहीं उनी प्रहरीका सरुवा बढुवाका आकांक्षीहरूसँग भेट्थे । गृह प्रशासनका सहसचिव/उपसचिवहरूलाई पनि त्यहीं बोलाउँथे ।
प्रहरीका जुनियर कर्मचारीदेखि डीआईजीसम्मै उनलाई भेट्न रेस्टुरेन्ट धाउने गरेको ती अधिकृत बताउँछन् । ‘पछि पुल्चोक क्वाटरमा पनि प्रायः नजाने र बुबासँग पनि अलि टाढिएका जस्तो देखिएका थिए । त्यसबेला प्रतिकबारे धेरै गुनासो आएपछि बादलले स्वकीय सचिवबाट हटाए’, ती अधिकृत भन्छन्, ‘यद्यपि, प्रतिकको चलखेल भने रोकिएको थिएन ।’
बादल पुत्र थापा अहिले प्रहरीको खोजी सूचीमा छन् । नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने गिरोहलाई सहयोग गरेको देखिएपछि उनीविरुद्ध पक्राउ पूर्जी जारी भएको छ । तर फेसबुकमा स्ट्याटस लेखेर कानूनलाई सहयोग गर्ने बताएका उनी हालसम्म फरार छन् ।
प्रकरणका एक जना आरोपित रामशरण केसीले अदालतमै आफूले सम्पत्ति नै बन्धकी राखेर दुई करोड रुपैयाँ तत्कालीन गृहमन्त्री बादलका छोरा प्रतिकलाई बुझाएको भनेका थिए ।
‘बादल पहिले त्यति साह्रो विवादित पात्र थिएनन्, गृहमा हुँदा सुरूमा राम्रै गर्न खोजेको पनि देखिएको थियो’, उनी निकट माओवादीका एक नेता भन्छन्, ‘तर, छोराको रुचि सम्बोधन हुन थालेपछि गृहका सरुवा–बढुवादेखि अन्य निर्णयहरू पनि विवादित भए ।’
त्रिभुवन विश्वविद्यालय, मानवशास्त्रका प्राध्यापक डा. जनक राई यही प्रवृत्तिलाई जरैदेखि फाल्छु भनेर क्रान्तिको नेतृत्व गरेको पार्टी नै त्यसैमा लिप्त हुनु विकृतिको पनि चरम रूप भएको बताउँछन् ।
‘१० वर्ष जनयुद्ध गरेर आएकाहरूमा पनि राजतन्त्र र पञ्चायतमा जस्तै प्रवृत्ति संस्थागत छ, यसले व्यवस्था फेरिए पनि व्यवहारतः भिन्नता देखिएको छैन भन्ने संकेत गर्छ’, राईले भने, ‘अझ दुःखद् कुरा त नयाँ भनेर आएका पार्टीका गतिविधिहरू पनि शंकास्पद देखिन्छन् ।’
सहकारीदेखि सुन तस्करीसम्म
गणतान्त्रिक नेपालका दोस्रो उपराष्ट्रपति नन्दबहादुर पुन पासाङका छोरा जितेन्द्र पुनबारे पनि प्रहरीले अहिले अनुसन्धान गरिरहेको छ । चिनियाँ सुन कारोबारीसँग गरेको संवादसहितको भिडियो सार्वजनिक भएपछि गृह मन्त्रालयले जितेन्द्रबारे छानबिन गर्न प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) लाई निर्देशन दिएको छ ।
तत्कालीन विद्रोही माओवादीका कमान्डर पासाङका जेठा छोराबारे प्रहरीले अनुसन्धान गरिरहेका बेला कान्छा छोरा दिपेश पुन जिल्ला कारागार, रुपन्देहीको थुनामा छन् । बुटवलको सुप्रिम सहकारीमा बचतकर्ताको रकम हिनामिना भएको प्रकरणमा अनुसन्धान गर्न प्रहरीले २ चैतमा उनलाई पक्राउ गरेको थियो ।
अदालतले उनलाई ७ वैशाखमा ४ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश त दियो । तर, अर्को मुद्दामा फेरि पोखरा लैजाने अधिकृतहरूको तयारी बुझेपछि उनले धरौटी बुझाएनन् । बरु कारागार नै चलान भए ।
त्यसो त दिपेशमाथि सुन तस्करी प्रकरणमा छानबिन गर्न पठाइदिनू भन्दै सीआईबीले रुपन्देही प्रहरीलाई पनि पत्राचार गरिसकेको थियो । सुन तस्करीबारे छानबिन गर्न बनेको पूर्वन्यायाधीश डिल्लीराज आचार्य नेतृत्वको उच्चस्तरीय समितिले पनि चिनियाँ सुन तस्करसँग उनको भूमिका शंकास्पद रहेको भनेको छ ।
माओवादी केन्द्रको भातृ संगठन अखिल क्रान्तिकारीका महासचिव समेत रहेका पुनसँग आयोगले बयान लिएर ६१ किलो सुन प्रकरणका आरोपी बेल्जियन नागरिक दावा छिरिङबारे सोधपुछ समेत गरेको थियो ।

सुन तस्करी प्रकरणका एक नाइके दावासँग दीपेशको बाक्लो उठबस रहेको अनुसन्धानबाट देखिएको थियो । पहिले सीआईबीले अनुसन्धानका लागि बोलाउँदा समेत उनी नयाँ फोन लिएर पुगेका थिए । युवा पुस्ताका विश्लेषक नविन तिवारी हिजोका राजा, महाराजाका शैली नै गणतन्त्रका नेताहरू र तिनका सन्तानले पछ्याइरहेको आफूले महसुस गरेको बताउँछन् ।
‘चुनावको बेलामा आम मान्छेलाई यो गर्छु, त्यो गर्छु भनेर भनेको हुन्छ, त्यो बीचमा लाखौं पैसा खर्च गरिरहेको हुन्छ’, तिवारी भन्छन्, ‘पछि सचिवालयमा आफ्नै नातागोता राख्नु र स्वार्थ समूहसँग साँठगाँठले ठिक संकेत गर्दैन, एकपटक सोच्नुस् त त्यो पैसा कहाँबाट उठ्छ ?’
कुनै बेला शालीन र भद्र नेताका छवि भएकाहरू पनि छोराछोरीका संदिग्ध गतिविधिका कारण विवादमा मुछिएका छन् । जनयुद्ध ताका शालीन नेताका रूपमा चिनिएका कृष्णबहादुर महरा माओवादीले सशस्त्र संघर्ष थाल्नुअघि रोल्पामा शिक्षक थिए ।
त्यसबेला उनले धेरै चेलालाई माओवादी आन्दोलनसँग जोडेका थिए, त्यसैले महरा माओवादीभित्र लामो समयसम्म ‘महरा सर’का रूपमा चिनिए । तर, माओवादी शान्ति प्रक्रियामा आएको १८ वर्षपछि महरा आफैं अहिले काण्डैकाण्डमा मुछिएर विवादित छन् ।
सभामुख भएकै बेला जबरजस्ती करणीको आरोप खेपेका महरा छोरा राहुल महराका साझेदारले ल्याएको विद्युतीय चुरोट (भेप) छुटाउन भन्सार प्रशासकलाई फोन गर्दा आफैं तस्करका मतियार बन्न पुगे ।
भेपमा लुकाएर तस्करी भएको ९ किलो सुनमा संलग्नता देखिएपछि उनका छोरा राहुल महरा अहिले पुर्पक्षका लागि थुनामा छन् भने सुन आयोगको सिफारिसपछि पक्राउ परेका महरा बयान दिएर छुटेका छन् ।
हाल फरार रहेका चिनियाँ तस्कर दावाजिन वाङले भेपभित्र लुकाएर सुन ल्याएका थिए । राहुल त्यो सुन छुटाउन भन्दै तत्कालीन प्रमुख भन्सार प्रशासक अरुण पोखरेललाई भेट्न पुगेका थिए । राहुलले भेप छुटाउन आफूहरूलाई पटकपटक दबाब दिएको भन्सार अधिकृत मुक्ति श्रेष्ठले सरकारी वकिलको रोहबरमा प्रहरीसँग दिएको बयानमा पनि भनेका छन् ।
भन्सारबाट काम हुने छाँट नदेखेपछि उनले बुबालाई भन्सार प्रशासक पोखरेललाई फोन गर्न लगाएका थिए । त्यसपछि उनले ‘छोरा आउँछ, जलविद्युत् परियोजनामा काम गर्नेका लागि ल्याएको सामान अड्कियो रे, हेर्दिनु’ भन्दै उनलाई फोन गरेका थिए ।

भन्सारको नियम अनुसार सूर्तिजन्य पदार्थ लिलाम हुने थिएन । फेरि ३/४ लाख रुपैयाँ मूल्य पर्नेमा राहुलसहित चिनियाँ नागरिकहरूले निरन्तर ताकेता गर्न थालेपछि भन्सारका अधिकृतहरूलाई शंका लाग्यो । त्यसक्रममा गोदाममा गएर हेर्दा भेप साटिइसकेको थियो । यसपछि भन्सारले अनुसन्धान गर्न भन्दै सीआईबीलाई पत्राचार गरेपछि भेपमार्फत तस्करी भएको सुनको मामला सतहमा आएको थियो ।
माओवादी र एमाले मिलेर बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विघटनपछि एमाले रोजेका पूर्वमाओवादी नेता टोपबहादुर रायमाझी अहिले केन्द्रीय कारागार, सुन्धारामा छन् । उनका छोरा सन्दीप पनि भुटानी शरणार्थी प्रकरणमा मुछिएकासँगको शंकास्पद गतिविधिका कारण पक्राउ परेका थिए ।
यी प्रसंगहरूले राजतन्त्र हटाउने आन्दोलनको बिउ रोपेका माओवादी नेताहरू नै अहिले आफ्ना छोराछोरी र संदिग्ध व्यक्तिहरूसँगको अस्वभाविक सम्बन्धका कारण आलोचित बनिरहेको देखाउँछ ।
‘पञ्चायतमा राजा वीरेन्द्रभन्दा रानी ऐश्वर्य शक्तिशाली थिइन् भनिन्छ, त्यही परिवारवाद र पारसहरू जस्ताका उदण्डताविरुद्ध लडेका शक्तिहरू त्यस्तैमा लिप्त देखिन्छन्’, मानवशास्त्री प्राध्यापक डा. राई भन्छन्, ‘ऐश्वर्यको उदाहरणले पहिले पनि परिवारका मान्छेलाई हातमा पार्न पायो भने राज्य संयन्त्रलाई प्रभावमा पार्न सकिन्छ भन्ने सोच राख्ने प्रवृत्ति रहेछ भन्ने देखिन्छ । अहिले पनि सचिवालयमा भएका नातेदारमार्फत स्वार्थ समूहले प्रभाव पारिरहेको देखिन्छ ।’
यो रोग माओवादी नेता र तिनका छोराछोरीमा मात्र भने होइन । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका छोरा जयविर देउवाका गतिविधिमाथि पनि आजभोलि प्रश्न उठ्न थालेका छन् । सूचना प्रविधिसम्बन्धी काममा जोडिएका जयविरको यस क्षेत्रका विवादस्पद पात्रहरूसँग उठबस रहेको अनुसन्धानबाट देखिएको छ । भलै त्यो उठबस कुन तहसम्मको हो भन्ने पुष्टि भइसकेको छैन ।
पूर्वगृहमन्त्री समेत रहिसकेका बामदेव गौतमका छोरा हरिशदेव पनि प्रहरी प्रशासनभित्र चिनिएको नाम हो । चीनमा अध्ययन गरेर फर्किएका उनको नागपोखरीस्थित कार्यालयमा कुनै बेला प्रहरी अधिकृतहरूको लस्कर लाग्थ्यो । एक उच्च अधिकृतका अनुसार, छोरामार्फत अधिकृतहरूले आकर्षक पोस्टिङ पाउन चलखेल गर्थे ।

एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालका छोरा निर्भिक चित्रकार पनि ठेक्कापट्टामा जोडिएर विवादमा पर्ने गरेका छन् । गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका क्रममा विवादमा मुछिएका उनको कम्पनी कालोसूचीमा छ । कर्जा सूचना केन्द्रले उनीसहित ४ जना रहेको कम्पनीलाई कालो सूचीमा राखिएको विवरण वेवसाइटमा राखेको छ ।
त्रिभुवन विश्वविद्यालयका प्राध्यापक समेत रहेका राई शीर्ष नेता पुत्रहरूको संदिग्ध गतिविधिले राजनीतिक व्यवस्था परिवर्तन भए पनि संस्कार परिवर्तन भएको नदेखिएको बताउँछन् ।
‘व्यवस्था परिवर्तनसँगै ती सबै कुरामा सुधार होलान् भन्ने अपेक्षा थियो, तर व्यवस्था परिवर्तन भए पनि शासकहरूको शैली, प्रशासन र प्रशासन संयन्त्र उस्तै रहे भन्ने उदाहरण हो यो’, राई थप्छन्, ‘हिजो माफियातन्त्र चलाउनेकै अहिले पनि रजगज छ, यो त राजनीतिक इमान्दारिको मात्र प्रश्न पनि भएन ।’
कतिपय प्रकरणमा आफैं गम्भीर अपराधमा मुछिए पनि राज्य संयन्त्रमा पहुँच भएकाले अतिरिक्त सुविधा पाएको उनी बताउँछन् । शीर्ष नेतृत्वलाई राजनीतिक संस्कारबारे कुनै चिन्ता नभएको भन्दै नेतृत्वमा नैतिकता र इमान्दारिको खडेरी देखिएको राई बताउँछन् ।
आफ्नो सचिवालयमा राजनीतिक विश्वासका लागि नातागोतालाई राख्ने प्रवृत्तिले नै गलत कामलाई प्रश्रय दिएको जानकारहरू बताउँछन् ।
‘आफ्नो छोराछोरी, ज्वाइँ, भान्जा लगायतलाई सचिवालयमा राखेपछि जस्तो सुकै गलत कामको पनि गोपनियता रहने भयो’, एक माओवादी नेता भन्छन्, ‘नत्र सचिवालयमा आफ्नै घरपरिवारको मान्छे राख्नुपर्ने भन्ने कसरी हुन्छ ?’
फेरि सचिवालयमा आफ्नै छोराछोरी हुँदा गलत कामबारे थाहा हुँदा पनि उनीहरूले कारबाही गर्न नसक्ने स्थिति बन्ने उनी बताउँछन् ।
सचिवालयमा आफ्ना सन्तान राख्ने प्रवृत्तिको सरुवात भने माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नै गराएको माओवादी नेताहरू बताउँछन् । प्रचण्डले पहिलो पटक प्रधानमन्त्री हुँदा स्वकीय फोटोग्राफरका रुपमा प्रकाश दाहाललाई सचिवालयमा प्रवेश गराएका थिए । पछि सरकारमा हुँदा या बाहिरै रहँदा पनि सचिवालयको नेतृत्व उनैले गरे ।
बाआमाले दिने शिक्षा
विगतमा कतिपय नेताहरू कस्तासम्म थिए भने बुबा प्रधानमन्त्री भएका बेला छोरा पक्राउ परेको उदाहरण पनि छन् । कांग्रेस नेता मातृकाप्रसाद कोइराला प्रधानमन्त्री भएका बेला त्रिचन्द्र क्याम्पस पढ्ने छोरा कमल कोइराला पक्राउ परेका थिए ।
२२ दिनसम्म हिरासतमा बसेर फर्किएका कोइरालापछि परिवारबाटै एक मात्र कम्युनिष्ट बने । मनमोहन अधिकारी प्रधानमन्त्री भएका बेला पनि डा. प्रकाश अधिकारी उनका छोरा हुन् भनेर कमैले मात्र थाहा पाउँथे । त्रिभुवन विश्वविद्यालयमा पढाउन जाँदा पनि उनी सार्वजनिक सवारी साधन प्रयोग गर्थे ।
माओवादी नेता राम कार्की छोराछोरी विवादास्पद गतिविधिमा संलग्न हुनुमा बुबाआमाको पनि दोष देख्छन् । ‘स्कुलबाट एक दिन छोराले कलम लिएर आएको रहेछ भने एउटा बुबाले कसको ल्याइस्, किन ल्याइस् भनेर प्रश्न गर्छ र भोलि फर्काउन भन्छ, अर्को बुबाले राम्रो रहेछ, स्कुल नलानु यहीं राख्छु भन्छ’, कार्कीले भने, ‘यो पनि ठ्याक्कै उही हो, बुबाआमाले दिने शिक्षामा भर पर्ने कुरा हो ।’
लोकतन्त्रमा भइरहेका यस्ता गतिविधिका कारणले व्यवस्थाको विरोधमा भएकाहरूले पनि प्रश्न उठाउने ठाउँ पाएका छन् । त्यसो भन्दैमा गणतान्त्रिक प्रणाली नै गलत भन्ने नभएको त्रिभुवन विश्वविद्यालयका प्राध्यापक डा.जनक राई बताउँछन् ।
उनी भन्छन्, ‘गणतन्त्र भएकै कारण आज हामीले राजकुमारहरूलाई प्रश्न गर्न सकेका हौं । पहिले भए जेल हालिसक्थे । प्रणाली चलाउनेहरूको खराब प्रवृत्ति र कमजोरी हो यो । यसलाई सच्याउँदै जानुपर्छ ।’
 
                









 
                     
                                     
                                 
                                                         
                                                         
                                                         
                                                         
                                                         
                                                         
                                                         
                                                         
                                                         
                                                         
                                                         
                                                         
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4