+
+

होस्टेलका विद्यार्थीमाथि सञ्चालकबाट हातपात

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन ३० गते १४:१५
होस्टलकी सन्चालक मधु रेग्मी कट्वाल

३० फागुन, विराटनगर । मोरङको विराटनगर महानगरपालिका-४ मा रहेको मुनलाइट गर्ल्स होस्टलकी सन्चालक मधु रेग्मी कट्वालले विद्यार्थीहरुलाई हातपात गर्दै दुर्व्यवहार गरेकी छन् ।

होस्टेलमा बसिरहेका विद्यार्थीहरुले अग्रिम रकम दिन नमानेपछि उनले विद्यार्थीहरुका सामान कोठाबाट बाहिर फ्याँक्दै हातपात समेत गरेकी थिइन् ।

सामाजिक सन्जालमा पोष्ट भएको एक भिडियोमा होस्टेल सन्चालक मधुले एउटा कोठाभित्र बसेका छात्राहरुसँग तीन-तीन हजार रुपैयाँ पेमेन्ट गरिदिन भनेको देखिन्छ । लगत्तै उनी जंगिंदै होस्टेलबाट ‘निस्किहाल्’ भन्दै जाइलागेको देखिन्छ । त्यही कोठाभित्र रहेका अन्य दुई छात्राले रोक्न खोजेको देखिन्छ तर सक्दैनन् ।

उक्त भिडियो मंगलबार बेलुकाको हो । सो होस्टेलको कोठामा विराटनगर नर्सिङ क्याम्पस पहिलो वर्षमा भर्ना भएका खनाल, गिरी र भण्डारी थरका तीन जना विद्यार्थीहरु यही फागुन ३ गतेदेखि बसिरहेका थिए ।

उनीहरुले ३ चैतसम्मका लागि अग्रिम आठ हजार रुपैयाँ बुझाएका थिए । कलेजकै होस्टेलमा बस्नेहरुको सूचीमा भर्खरै उनीहरुको पनि नाम निस्किएको थियो । त्यसैले उनीहरु मुनलाइट गर्ल्स होस्टल छाडेर कलेजकै होस्टेलमा सर्ने तयारीमा थिए ।

३ चैतसम्मको पैसा तिरिसकेको र त्यसअघि नै कलेजको होस्टलमा जाने बताउँदा बताउँदै पनि होस्टेल सन्चालक मधुले ती विद्यार्थीसँग एडभान्स भन्दै थप तीन-तीन हजार रुपैयाँ मागेपछि उनीहरुले रकम नदिने बताएका थिए । त्यसपछि होस्टेल सन्चालकले हातपात गरेकी थिइन् ।

मधुले हातपात गरेपछि आत्तिएका विद्यार्थीहरुले कलेजमा सम्पर्क गरेका थिए । त्यसपछि मंगलबार राति नै कलेज प्रशासनले ती विद्यार्थीहरुलाई आफ्नै होस्टलमा ल्याएर राखेको छ ।

कलेज प्रमुख मेनुका भण्डारीले छात्राहरुमाथि अमानवीय व्यवहार भएको बताइन् । ‘हिजो बेलुका हामीले विद्यार्थीलाई कलेजको होस्टलमा ल्याएका छौं,’ कलेज प्रमुख मेनुका भण्डारीले भनिन्, ‘अमानवीय व्यवहारका भिडियो भाइरल भएको छ, सञ्चालक विरुद्ध हामी कानुनी उपचार खोज्छौं ।’

३ चैतसम्म अगि्रम होस्टल शुल्क बुझाएका विद्यार्थीलाई अगाडि नै पैसा मागेको र नदिदा अमानवीय व्यवहार गरेको भण्डारीले बताइन् ।

होस्टल सञ्चालकको व्यवहारका कारण विद्यार्थी आत्तिएको बताउँदै उनले भनिन्, ‘दुई जना बेहोस पनि भए, विद्यार्थीहरु डराइरहेका छन्, उनीहरुलाई सम्झाइरहेका छौं, उनीहरुमाथि अमानवीय व्यवहार भएको छ ।’

उनका अनुसार कलेजको होस्टलमा बस्न नयाँ २३ जना विद्यार्थीको नाम निस्किएको छ । टाढाका विद्यार्थीलाई कलेजको होस्टलमा बस्न प्राथमिकता दिइएको बताउँदै उनले मुनलाइन होस्टलमा अमानवीय व्यवहारमा परेका तीन जना विद्यार्थीहरु पनि कलेजको होस्टलमा बस्नेहरुको सूचीमा छन् ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक नवराज कार्कीले घटनाको भिडियो आफूले पनि हेरेको बताउँदै उजुरी आए कानुनी कारवाही गर्ने बताए । होस्टल सञ्चालकले गरेको व्यवहार अमानवीय भएको बताउँदै उनले उजुरी आए पक्राउ गरी मुद्दा चलाउने बताए ।

होस्टलमा अमानवीय व्यवहार भएको भिडियो बाहिरिएपछि होस्टल सञ्चालक भने सम्पर्कमा छैनिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?