+
+
ब्लग :

परीक्षा कसरी दिने ? शिक्षक, अभिभावक र विद्यार्थीलाई केही ‘टिप्स’ 

इन्द्रराज भट्टराई इन्द्रराज भट्टराई
२०८० चैत १३ गते ९:४५

विद्यार्थीको सिकाइ र बुझाइको मापन गर्न, उपलब्धि देखाउन, लक्ष्य प्राप्तिमा सहयोग गर्नका लागि परीक्षा लिने गरिन्छ। हरेक विद्यार्थीको एउटै लक्ष्य हुन्छ कि परीक्षा कसरी पास गर्ने, कसरी राम्रो अंक ल्याउने। यही कुरामा जोड दिन्छन् अभिभावक र शिक्षकले पनि।

नेपालभरिका सबै विद्यालयहरूमा यही चैत महिनाको पहिलो वा दोस्रो सातामा अन्तिम परीक्षा सुरु भएको छ वा हुँदैछ। हाम्रो मूल्यांकन प्रणाली अनुसार कक्षा ३ सम्म सम्पूर्ण रूपमा आन्तरिक मूल्यांकन गर्ने, कक्षा ४ देखि कक्षा ८ सम्म आन्तरिक र बाह्य मूल्याङ्कन ५०-५० प्रतिशत तथा कक्षा ९ र १० मा आन्तरिक २५ प्रतिशत र बाह्य ७५ प्रतिशत गरी मूल्यांकन गर्नुपर्ने निर्दिष्ट गरिएको छ।

त्यसैगरी १९९० सालबाट सुरूवात भएको तत्कालीन एसएलसी तर हालको माध्यमिक शिक्षा परीक्षा (एसईई) यही चैत १५ गतेबाट सुरू हुँदैछ जसमा झण्डै ५ लाख विद्यार्थी सहभागी हुँदैछन्। यस परीक्षाको लागि ५ लाख ४ हजार ४१४ जनाले परीक्षाको फारम भरेका छन्।

राष्ट्रिय परीक्षा बोर्डका अनुसार एसईईको तयारी अन्तिम चरणमा पुगेको बेला यसपटक ३५ प्रतिशत नम्बर नल्याउने विद्यार्थी फेल हुनेछन्। न्यूनतम ‘बी’ ग्रेड ल्याउनको लागि सैद्धान्तिकमा ३५ प्रतिशत अनिवार्य ल्याउनुपर्ने हुन्छ। यसपटक नयाँ लेटर ग्रेडिङ निर्देशिका अनुसार न्यूनतम बी ग्रेड ल्याउनको लागि सैद्धान्तिकमा ३५ प्रतिशत र प्रयोगात्मकमा ४० प्रतिशत अनिवार्य गरिएको छ।

विगतमा भन्दा यो पटक सैद्धान्तिक र प्रयोगात्मक दुवैमा छुट्टा–छुट्टै अङ्क ल्याउनुपर्ने व्यवस्था गरिएको हो।

हाम्रो परिवेशमा परीक्षाका बेला बालबालिकाहरूमा एक प्रकारका मानसिक तनाव सिर्जना हुन्छ। अझ फरक विद्यालयमा गएर परीक्षा दिने कुराले कतिपय बालबालिकामा मनोवैज्ञानिक त्रास उत्पन्न हुने गर्दछ। यो मूलत: हाम्रो परीक्षा प्रणालीको कारणले हो। परीक्षा आयो भनेर शिक्षक, अभिभावक तथा आफन्तले तनाव दिइरहेको समेत भेटिन्छ।

इन्द्रराज भट्टराई

हाम्रा बालबालिकाहरूलाई जीवनमा हालसम्म (करिब १२ वर्ष) धेरै परीक्षामा सहभागी भएको र आगामी दिनमा थुप्रै कठिन परीक्षा दिनुपर्ने कुरा बोध गराउन जरूरी छ। उनीहरूलाई तनाव मुक्त गराएर परीक्षा हाउगुजी होइन, बरु सिकाइको मूल्यांकन हो भन्ने कुरा स्पष्ट बनाउन सकेमा उनीहरूले सफलता प्राप्त गर्न सक्छन्।

यस अवस्थामा शिक्षक, अभिभावक र बालबालिकाहरूले के–कस्ता कुराहरूमा ध्यान दिने भन्ने कुरा यहाँ आग्रह गरेको छु।

बालबालिकाले ध्यान दिनुपर्ने कुरा

  • परीक्षालाई सामान्य रूपमा लिने वा परीक्षासँग नडराउने, परीक्षाबारे अनावश्यक तनाव नलिने
  • पर्याप्त पानी पिउने तथा विभिन्न मौसमी फलफूल खाने
  • आलस्यता र कब्जियतबाट बच्न जंकफुडबाट टाढा रहने
  • पढ्दै गर्दा समय–समयमा ब्रेक लिने। शरीरलाई सक्रिय र गतिशील बनाउने तथा गीत सुन्ने
  • सम्भव भएसम्म साथीसँग बसेर पढ्ने तथा पढेको कुरा शेयर गर्ने
  • परीक्षा तयारी गर्दा सकेसम्म लेखेर, सूची तयार पारेर वा चित्र (डायग्राम) बनाएर पढ्ने
  • परीक्षाका लागि आवश्यक पर्ने शैक्षिक सामग्री (कलम, ज्यामिति बक्स, स्केल लगायत) को उचित व्यवस्थापन गर्ने
  • परीक्षा सुरू हुनुभन्दा अघिल्लो दिन अभिभावक वा साथीसँग परीक्षा केन्द्र जाने तथा उक्त केन्द्र कहाँ छ र आफ्नो बासस्थानबाट कति समय लाग्छ भनी जानकारी लिने
  • पहिलो दिन आधा घण्टा अगाडि र अरू दिन कम्तीमा १५ मिनेट अगाडि परीक्षा केन्द्रमा पुग्ने
  • कहिलेकाहीं घरबाट परीक्षा केन्द्र जाँदै गर्दा प्रवेशपत्र बिर्सिएर घर फर्कंदा हतार र तनावमा दुर्घटना हुनसक्ने वा मानसिक दबाब हुनेभएकोले परीक्षा केन्द्रमा पुगेर अभिभावक वा विद्यालयका प्रधानाध्यापकलाई सम्पर्क गर्ने
  • परीक्षा हलमा मुस्कान सहित निरीक्षकलाई नमस्कार वा कुनै अभिवादसहित प्रवेश गर्ने
  • उत्तरपुस्तिकामा सिम्बोल नम्बर (अंक र अक्षरमा), मिति, विषय, परीक्षा केन्द्र लगायत आवश्यक विवरण स्पष्टसँग लेख्ने
  • प्रश्नपत्र राम्रोसँग पढ्ने र सुरूमा आफूलाई सजिलो लाग्ने प्रश्नको उत्तर लेख्ने
  • परीक्षा हलमा परीक्षार्थी साथीहरूलाई अनावश्यक हैरानी नगर्ने
  • मर्यादित र शालीन ढंगले परीक्षामा सहभागी हुने
  • नबुझेका प्रश्नहरू निर्धक्कसँग निरीक्षकसँग सोध्ने
  • सकेसम्म सबै प्रश्नको उत्तर लेख्न कोशिश गर्ने अर्थात् कुनै पनि प्रश्न नछोड्ने
  • उत्तर लेख्ने क्रममा कुनै प्रश्नको उत्तर अस्पष्ट भएमा विषय शिक्षकले कक्षामा पढाउँदै गरेको सम्झने र उत्तर लेख्ने कोसिस गर्ने
  • प्रश्नपत्रमा उल्लिखित निर्देशन पूर्ण रूपमा पालना गर्ने।

अभिभावकले ध्यान दिनुपर्ने कुरा

  • बालबालिकाहरूको व्यक्तिगत स्वास्थ्यमा विशेष ध्यान दिने
  • पौष्टिक आहार वा भोजनको प्रबन्ध गर्ने
  • बेलाबेलामा उनीहरूको सिकाइमा सहयोग हुने गरी छलफल र अन्तरक्रिया गर्ने
  • सकारात्मक कुरा भनेर पढाइमा प्रेरित गर्ने
  • तिमीले पहिलाभन्दा मिहिनेत गरेका छौ है भनेर पढाइमा उत्प्रेरित गर्ने
  • समयमा उठ्न र पढ्नका लागि प्रेरित गर्ने तथा सहयोग गर्ने
  • बालबालिकालाई आवश्यक पर्ने शैक्षिक सामग्रीको उचित व्यवस्थापन गरिदिने
  • अन्य समयमा भन्दा बढी सद्भाव, माया र हेरविचार पुर्‍याउने
  • बालबालिकाको लागि अन्य समयमा भन्दा बढी वा आवश्यक समय दिने।
  • पढाइमा व्यस्त हुँदा उनीहरूको अगाडि आफू मोबाइल तथा टेलिभिजनमा व्यस्त नहुने।

विद्यालय प्रशासन तथा शिक्षकहरूले ध्यान दिनुपर्ने कुरा

  • बालबालिकालाई ‘अत्यन्त कमजोर छौ, सक्दैनौ वा सम्भव नै छैन’ जस्ता शब्दावली प्रयोग गरी निरुत्साहित नगर्ने
  • बालबालिकालाई सकारात्मक तरिकाले पढाइमा प्रेरित गर्ने
  • उनीहरूका लागि आवश्यक सूचना स्पष्टसँग दिने
  • कतिपय अभिभावकले समयमा शुल्क नतिरेका कारण विद्यालयमा प्रशासन वा शिक्षकले बालबालिकाहरूलाई अनावश्यक दबाब दिने गरेको समेत सुनिन्छ। त्यस्तो व्यवहार नगरी अभिभावकसँग समन्वय गर्ने
  • सकारात्मक सोचका साथ उनीहरूको सिकाइमा प्रेरित गर्ने
  • परीक्षार्थीहरूको प्रवेशपत्रको एक प्रति फोटोकपी विद्यालयमा राख्ने र एक प्रति विद्यार्थीलाई राख्न लगाउने
  • परीक्षाको दिन कम्तीमा आधा घण्टा अगाडि परीक्षा केन्द्र पुग्ने र परीक्षार्थी बालबालिकालाई भेटेर हौसला दिने ।

माथि उल्लिखित कुराहरूमा विद्यालय प्रशासन/शिक्षक, अभिभावक र बालबालिकाले ध्यान पुर्‍याउन वा आ-आफ्नो भूमिका र दायित्व पूरा गर्न जरूरी छ। यति गर्न सकियो भने स्पष्ट छ कि पक्का पनि बालबालिकाले राम्रो नतिजा प्राप्त गर्नेछन्। सकेसम्म परीक्षामा राम्रो गरेर उत्कृष्ट ग्रेड ल्याउने कोशिश गरौं। तर एसइई वा अन्य परीक्षाको नतिजा ‘ए’ आएको, ‘ए प्लस’ नआउँदैमा जिन्दगी बर्बाद हुन्छ भन्ने कुराबाट सबै पक्ष मुक्त बनौं।

(भट्टराई बाल अधिकार संरक्षण, परामर्श लगायत विभिन्न सामाजिक अभियानमा सक्रिय छन्।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?