
News Summary
Generated by OK AI. Editorially reviewed.- मेरो छोरी अध्ययनरत अमेरिकाको कक्षा ३ मा विद्यार्थीलाई चार समूहमा बाँडेर समष्टिगत दक्षताका आधारमा मूल्याङ्कन गरिएको थियो।
- अमेरिकाको महिला फुटबल टोलीमा प्रशिक्षकले सबै खेलाडीलाई विशेषता अनुसार पुरस्कार वितरण गरी प्रोत्साहन र आत्मसम्मान प्रदान गरे।
- नेपालमा एसईई नतिजा सार्वजनिक भएपछि जीपीएमाथि अत्यधिक ध्यान दिँदा अन्य विद्यार्थीप्रति अन्याय भइरहेको र शिक्षा प्रणालीमा सुधार आवश्यक रहेको उल्लेख गरिएको छ।
केही वर्षअगाडि अमेरिकामा कक्षा ३ मा अध्ययनरत मेरी छोरीको प्रथम त्रैमासिक परीक्षाको नतिजा आउने दिन म अभिभावकको रूपमा उनको विद्यालय गएको थिएँ। ३० जना विद्यार्थी अध्ययनरत उनको कक्षामा उनकी क्लास शिक्षिकाले कक्षाभरिको नतिजा देखाउँदै भनिन्- ३० जनामध्ये हामीले विद्यार्थीलाई चार समूहमा बाँडेका छौं। जसमध्ये ५ जना औसतभन्दा धेरै माथि अर्थात् अहिले नै कक्षा तीनभन्दा माथिको कक्षामा पढ्न सक्ने खुबी भएका छन्। १० जना औसत भन्दा अलिकति माथि र अन्य १० जना औसत छन् अर्थात् यी दुवै समूह तीन कक्षाकै लागि ठिक छन्। बाँकी ५ जना औसतभन्दा अलिकति तल रहेको हुनाले यिनीहरूले ३ कक्षाकै तहमा आउन थोरै मिहिनेत गर्नुपर्नेछ। यीमध्ये तपाईंकी छोरी कक्षा ३ कै तहको लागि ठीक छिन् र औसत भन्दा अलिकति माथि रहेका १० जनामा पर्छिन्।
ती शिक्षिकाले कुन विद्यार्थी कक्षामा प्रथम, द्वितीय वा तृतीय हुन् भन्ने कुरा गरिनन्। उनले प्रत्येक विद्यार्थीको समष्टिगत स्थानको मात्र कुरा गरिन्। हामीलाई दिएको छोरीको प्राप्ताङ्क मध्येमा उनको परिपक्वता, उनले अन्य साथीहरूलाई गर्ने सहयोग, अरूसँग सहयोग माग्न सक्ने उनको खुबी, आफ्ना साथीहरूसँग सामूहिक रूपमा मिलेर काम गर्न सक्ने दक्षता (टिम-वर्क) जस्ता कैयौं व्यक्तिगत र सामाजिक जीवनमा आवश्यक पर्ने दक्षताहरू समावेश थियो। विद्यार्थीलाई विषयगत प्राप्तांक मात्र होइन, उनीहरूको जीवनमा आइपर्ने अत्यन्त आवश्यक सीप र दक्षताको आधारमा मूल्याङ्कन गरिएको थियो।
दोश्रो उदाहरण, अमेरिकाको ग्रीष्मकालीन २-३ महिनाको छुट्टीमा विद्यार्थीले विभिन्न अतिरिक्त क्रियाकलापमा भाग लिने हुनाले केही नेपाली विद्यार्थी पनि महिला फुटबल टोलीमा समावेश थिए। कक्षा ६ देखि ८ सम्मका विद्यार्थीलाई समावेश गरिएको उक्त महिला फुटबल टोलीको अन्तिम दिन विद्यार्थीलाई प्रमाणपत्र दिने कार्यक्रम थियो। कार्यक्रम सुरु हुनभन्दा अगाडि फुटबलका कोचले ढिला नगरी सिधै विद्यार्थीको नाम बोलाउँदै पुरस्कार वितरण गर्न शुरु गरे।
हामीले साधारणतया सोच्ने गरे जस्तै त्यहाँ सबैभन्दा बढी गोल गर्ने वा गोल रोक्ने खेलाडीले मात्र पुरस्कार पाएनन्। प्रशिक्षकले टिमका सबै जनालाई समग्रमा राम्रो खेल्ने, गोल गर्ने र गोल रोक्ने लगायत सबैभन्दा मिहिनेती, सहयोगी, टिम स्पिरिट (समूहमा खेल्ने भावना) भएको, आफ्ना साथीहरूलाई प्रोत्साहन गर्ने जस्ता प्रत्येक खेलाडीको विशेषता पत्ता लगाएर पुरस्कृत गरे। यसले प्रत्येक खेलाडीलाई एकप्रकारको प्रेरणा, प्रोत्साहन र आत्मसम्मान दियो।
यसबाट हामीले सिक्नुपर्ने पाठ के हो भने शिक्षाको प्रमुख उद्देश्य उनीहरूको प्रतिभा पहिचान गर्नु, उनीहरूमा भएको विशेष दक्षतालाई मलजल र प्रोत्साहन गर्नु हो ।
एसईईको नतिजा र जीपीए आतंक
केही दिनअघि नेपालमा एसईईको नतिजा प्रकाशित भयो। धेरै विद्यालय र अभिभावकहरूले विद्यार्थीले ल्याएका जीपीए सामाजिक सञ्जालमा पोस्ट गर्दै उनीहरूलाई बधाई दिए। अभिभावकहरू मात्र होइन, विद्यालयहरूले पनि राम्रो नतिजा ल्याउने आफ्ना विद्यार्थीको जीपीए सार्वजनिक गर्दै सामाजिक सञ्जालका भित्ताहरू रंगाए। तर, राम्रो नतिजा ल्याउने विद्यार्थीको मात्रै चर्चा गर्दै गर्दा अन्य विद्यार्थीप्रति भएको अन्यायबारे थोरै पनि ख्याल गरेनौं। हामीले अन्य विद्यार्थीप्रति अन्याय मात्र होइन, एक प्रकारको अपराध पनि गरिरहेका छौं। यो आलेख विद्यालय शिक्षाको मूल्य, मान्यता र नयाँ पुस्तालाई देखाउनुपर्ने बाटोको सन्दर्भमा ‘जीपीए आतंक’ किन बन्द गर्नुपर्छ भन्नेबारेमा केन्द्रित हुनेछ।
शिक्षा भनेको व्यक्तिको समग्र विकास हो, न कि अंकको पहाड। विद्यालयमा उच्च अंक ल्याउने विद्यार्थी सधैं सफल हुन्छन् भन्ने होइन। जीवनका धेरै क्षेत्रमा नेतृत्व दिइरहेका व्यक्तिहरूको विद्यालय नतिजा औसत वा असफलतासम्म पनि देखिन्छ। हामीले प्रेरणा लिने गरेका उत्कृष्ट कलाकार, खेलाडी, विभिन्न विधामा नेतृत्वदायी भूमिकामा रहेका व्यक्तिहरूबाट पनि हामीले उनीहरूले विद्यालय जीवनमा राम्रो प्राप्तांक हासिल गर्न संघर्ष गरेको सुनेका छौं।
नेपालमा पछिल्ला ३०-३५ वर्षमा निजी विद्यालयहरूको उल्लेख्य वृद्धि भएको छ। निजी विद्यालयहरूले सामुदायिक विद्यालयभन्दा राम्रा देखाउने आधारको रूपमा विद्यालयको खास गरेर एसईईको नतिजा देखाउने गरेका छन्। अझ गम्भीर कुरा के हो भने विद्यालय सञ्चालन गरेको ३०-३५ वर्षपछि पनि हाम्रा निजी विद्यालयका सञ्चालकहरूले आफ्नो विद्यालयको सफलताको प्रमुख मापदण्ड जीपीएलाई मानेको देखिन्छ।
पश्चिमी मुलुकहरूमा भने विद्यालयबाट अध्ययन पूरा गरेपछि विद्यार्थीले समाज वा राष्ट्रलाई कसरी योगदान गरिरहेका छन्, उनीहरूले कुन क्षेत्रमा नेतृत्व लिएका छन् वा कुनै उद्यम गर्दै कति जनालाई रोजगारी दिएका छन् भन्ने जस्ता महत्त्वपूर्ण सूचकहरू अध्ययन गरेर विद्यालयको सफलता मापन गरिन्छ। तर नेपालमा भने एसईईको नतिजा सार्वजनिक भएको केही दिनसम्म हामीले पढ्ने, हेर्ने गरेका समाचारहरूबाट हामीहरू अझै पनि विद्यार्थीको जीपीएभन्दा माथि उठ्न सकेका छैनौं भन्ने स्पष्ट देखिन्छ।
केही महिनाअघि, ललितपुरस्थित नेक्सस इन्स्टिट्युट अफ रिसर्च एण्ड इनोभेसन (निरी) नेपालले डा. उमेद पुनको नेतृत्वमा गरेको अनुसन्धानमा, अपवाद बाहेक अधिकांश नेपालीले आफूले अध्ययन गरेको संस्थालाई कुनै सहयोग नगरेको देखियो। अझ दु:खलाग्दो त के भने सामुदायिक विद्यालयमा अध्ययन गरेर देश वा विदेशकै उत्कृष्ट ओहदामा कार्यरत रहेका र राम्रो आर्थिक अवस्था हासिल गरेका व्यक्तिहरूमा पनि आफूले अध्ययन गरेका पूर्व विद्यालयहरू (अलमा म्याटर) लाई केही सहयोग गरौं भन्ने भावनाको विकास नै नभएको भेटियो।
विदेशमा भने सार्वजनिक विद्यालयका पूर्व विद्यार्थीले आफूले अध्ययन गरेको विद्यालयको लागि आर्थिक सहयोग मात्र नभएर आफूले सिकेको सीप, ज्ञान र अनुभवले आफ्नो विद्यालय र समुदायको लागि सक्दो योगदान दिने प्रचलन छ। उनीहरूमा विद्यालय जीवनदेखि नै सामुदायिक योगदान, स्वयंसेवा र आफ्ना सीप, ज्ञान र अनुभवको उपयोग गरेर समाज रूपान्तरणमा सक्दो भूमिका खेल्नुपर्छ भन्ने सिकाइन्छ। विभिन्न क्षेत्रका खासगरी उच्च ओहदामा छनोट हुनकै लागि व्यक्तिहरूले आफ्नो समाजलाई कसरी योगदान गरिरहेका छन् भन्ने खुलाउनुपर्छ। यसैले शिक्षा भनेको आफूले राम्रो जीपीए प्राप्त गर्नु र पढेर योग्यता हासिल गर्नु मात्र होइन, आफ्नो व्यक्तित्वको विकास गर्नु र समाज रूपान्तरणमा योगदान दिनु पनि हो।
विद्यालयमा हुने औपचारिक अध्ययनको मापन गर्ने विधिमध्ये विद्यार्थीले ल्याउने जीपीए पनि महत्वपूर्ण विधि हो। यसलाई नकार्न मिल्दैन। तर यो आलेखले चर्चा गर्न खोजेको विषय जीपीए मात्र विद्यार्थी र विद्यालयको सफलताको मापन गर्ने विधि होइन भन्ने हो। नेपालको शिक्षा प्रणाली आफैं युग सुहाउँदो नभएको हुँदा जीपीएको मापन गर्ने विधिमै पनि अत्यन्त ठूलो खोट छ जसलाई तुरुन्त सुधार्ने सुझबुझ अहिले जिम्मेवारीमा रहेका राजनीतिक नेतृत्व र कर्मचारीहरूमा देखिंदैन।
यसैगरी, एउटै परिवारका सबै सन्ततिले राम्रो जीपीए प्राप्त गर्ने भन्ने हुँदैन। त्यसैले पनि अभिभावकको रूपमा हाम्रो जिम्मेवारी आफ्ना सन्ततिहरू बीच वा उनीहरूको साथी सर्कल बीच जीपीएको आधारमा मात्र तुलना गर्नु राम्रो होइन। जीपीएलाई मात्र आफ्ना सन्ततिको सफलताको आधार मानेर हामीले हाम्रा नयाँ पुस्ताहरूको आत्मसम्मान र आत्मविश्वासमा चोट पुर्याइरहेका मात्र छैनौं, शिक्षाको मूल्य-मान्यतामा गलत भाष्य निर्माण गरिरहेका छौं, जसलाई हामीले तुरुन्त रोक्नुपर्छ।
(पंगेनी, अमेरिकाको नोभा साउथइस्टर्न विश्वविद्यालय तथा नेपालस्थित नेक्सस इन्स्टिट्युट अफ रिसर्च एण्ड इनोभेसन (निरी) सँग आबद्ध छन्।)
प्रतिक्रिया 4