+
+
यात्रा संस्मरण :

ऐतिहासिक घले दरबारका तीन गढी पुग्दा

प्रेम बास्तोला, राजु झल्लुप्रसाद प्रेम बास्तोला, राजु झल्लुप्रसाद
२०८० चैत १ गते ११:२१

गोर्खा राज्य स्थापनासँगै शाहकालीन इतिहास पढ्दा धेरै चर्चा गरिएको धादिङको ज्वालामुखी गाँउपालिका वडा नम्बर ४ मा रहेको घले दरबारका तीन गढी पुग्ने इच्छा तीव्र थियो । दोस्रो पटक धादिङ भ्रमण गर्ने क्रममा सो स्थान पुग्ने अवसर प्राप्त भयो ।

हाम्रो दोस्रो पटकको यात्रा पनि पहिलो पटक झैं काठमाडौंबाट धादिङबेंसीसम्म बसमै भयो । बसबाट ज्वालामुखी-३ मैधीमा रहेको उखुबारी डाँडोमा रहेको सहयात्री राजुझल्लु प्रसादकै घरमा बाँस बसियो । भोलिपल्ट बिहानै उठेर भाइ राहुल भट्टको मोटरसाइकल लिएर हामी गढीतर्फ हुइँकियौं ।

गढीबारे जानकार स्थानीय बराहाकालिका माध्यामिक विद्यालयका प्रधानाध्यापक शिवप्रसाद अर्याललाई घरबाट निस्कनुअघि फोन गरेका थियौं । गढी भएको स्थान पुगेर केहीबेर त्यहाँ भेटिएका स्थानीयसँग गफिने क्रममा स्थानीय बालज्योति प्राथामिक विद्यालयका प्रधानाध्यापक सन्तोष अर्यालसँग भेट भयो । गढी भएको स्थान उनै अर्याल दाजुभाइको जमिन समेत रहेछ । उनले ऐतिहासिक गढी संरक्षण र विकासमा स्थानीय सरकारले चासो राखे जग्गा दिन आफूहरु तयार रहेको समेत सुनाए ।

विद्यालय जानुपर्ने समय भएकाले सन्तोष सर केहीबेर मात्रै हामीसँग गफिएर हिंड्नुभयो । हामी एक गढीमा भेटिएका शाहकालीन इँट्टाहरुको अध्ययन सकेर अर्को गढीतर्फ लाग्ने क्रममा मोटसाइकलमा हतारिंदै बराहकालिका माविका प्रधानाध्यापक अर्याल हामी भएको स्थानमा आइपुग्नुभयो । उहाँ आएपछि हामीलाई गढी डाँडाबारे थप कुरा बुझ्न सहज भयो ।

अर्यालले बताएअनुसार वि. सं. १६२७ मा राजा भएका पूर्ण शाहले गोर्खा राज्यलाई विस्तार गर्दै जाँदा  पूर्वतर्फ हमला गर्दै आउने क्रममा विजय प्राप्त गरेको घले राज्यको दरबार क्षेत्र (तत्कालीन मैधी राज्यको राजधानी) ‘गढी डाँडा’ संरक्षण र पुरातात्त्विक अन्वेषणको पर्खाइमा रहेछ ।

कालिका मन्दिर क्षेत्रमा रहेका तीनवटा गढीका थुम्काहरू आजसम्म पनि तेलिया इँट्टाहरू र सैनिकलाई तिर हान्ने तालिम दिने उद्देश्यले स्थापना गरिएका लिङ्गे ढुङ्गा (तामाङ जातकी सुत्केरीले उचालेकी ढुङ्गा) लगायतका पुरातात्त्विक अवशेषहरूसहित संरक्षण र पुरातात्त्विक अन्वेषणको पर्खाइमा बसेका रहेछन । यस स्थानमा पूर्ण शाह (पुरन्दर शाह पनि भनिएको)ले हमला गर्नुअघि घले दरबारको राजधानी रहेको पुष्टि गर्ने आधारहरू त्यस क्षेत्रमा यत्रतत्र भेटियो ।

तत्कालीन समयमा यस उँचो स्थानमा राजधानीको रूपमा रहेका तीनवटा गढी (करिब २०० रोपनी क्षेत्र)हरूमा हालसम्म पनि भेटिने पोलिएका इँट्टाहरू, माटोका पैसाहरू, ढुङ्गाका सिलौटाहरू, जमिनदेखि १० फिट अग्लो लिङ्गे ढुङ्गा र थुम्कोको रूपमा यद्यपि रहिरहेको तीनवटा गढीहरूले यस स्थानमा दरबार रहेको पुष्टि गर्छ ।

प्रधानाध्यापक अर्याल कालिका मन्दिरदेखि ठीक माथि रहेको थुम्को (हाल खानेपानीको ट्याङ्की रहेको) मा अन्य दुई थुम्को भन्दा थोरै अग्लो रहेकाले यहाँ राजा बस्न सक्ने र वारिपारिका दुई थुम्कोमा सैनिक रहन सक्ने अनुमान गर्छन् । लिङ्गे ढुङ्गा रहेको गढीमा तारो हान्ने र परेड खेलाउने गरेको, ट्याङ्की रहेको थुम्कोमा राजदरबार र गोर्खा दरबार समेत देख्न सकिने डुँडे भन्ज्याङदेखि ठिक्क माथिको थुम्कोमा सुरक्षाका निम्ति सैनिक राखिएको हुनसक्ने आजको भौगोलिक अवस्थाले पनि बताउँछ ।

अर्यालले यस भेगमा पाइएका डुँड र जाँतो भने आफूहरूले संरक्षण गरिराखेको हामीलाई सुनाए । ‘१०-१५ वर्षअघिसम्म हामीले र हाम्रा बाउबाजेले यहाँ मकै गोड्दा, घैयाँ गोड्दा ढुङ्गाका डुँड, ढुङ्गा–माटाका पैसा भेटिन्थे । कतिपय पैसाहरू हाम्रा बाउपुस्तासँग सुरक्षित पनि होलान् । अझ लिङ्गे ढुङ्गामा बस्ती रहेको प्रमाणस्वरूप आफ्नै जग्गामा मकै खन्दा गहिरो खल (सिलौटो) भेटियो,’ पिंध्न प्रयोगमा ल्याइएको एक माना अटाउने सो सिलौटो आफ्नो घरमा अझै रहेको हामीलाई जानकारी दिए ।

गढीको पर्यटकीय सम्भावना

तीनवटा गढी रहेको क्षेत्र करिब २०० रोपनीमा फैलिएको छ । बराबरी उचाइमा रहेका तीन गढी वरिपरि रहेका खेतीयोग्य जमिन भोगचलन गरिरहेका स्थानीय बालज्योति प्राथमिक विद्यालयका प्रधानाध्यापक सन्तोष अर्यालका अनुसार राज्यका निकायले ऐतिहासिक घले दरबार क्षेत्रमा रहेका गढी संरक्षणका लागि आवश्यक योजना ल्याए जग्गाधनीहरू पनि सकारात्मक रहेका छन् । गएको आर्थिक वर्षमा संरक्षणका लागि केही योजना आएको भएपनि प्राविधिक विवाद भएका कारण योजना कार्यान्वयन गर्न नसकिएको उनले सुनाउन भ्याए ।

गढी क्षेत्र पुरातात्त्विक दृष्टिले महत्त्वपूर्ण रहेकाले उत्खननको गर्न जरुरी रहेको उनको बुझाइ रहेको पाइयो । यो क्षेत्रको अध्ययन र खोज गरी यसको संरक्षण गर्न सके पर्यटकीय हिसाबले उत्कृष्ट नयाँ गन्तव्यका रूपमा विकास गर्न सकिने आधारहरू धेरै नै पायौं हामीले पनि । सो ऐतिहासिक गढी क्षेत्र वरिपरि होमस्टे सञ्चालन गरेर स्थानीयो जीवनस्तर उकास्न सकिने प्रशस्त सम्भावना देखियो ।

गढीको इतिहास

इतिहास समाजका गणनीय घटनाहरूको अभिलेखन हो, तर अगणित घटनाहरू पनि इतिहास हुन् र लेखिनुपर्ने इतिहास ‘नलेखिएको कुरा’कै हो । यसैकारण चौतारा, मठमन्दिर तथा सत्तल, पौवा, गुफाचित्र, ग्रन्थचित्र, संस्कृति तथा परम्पराका अवशेष र झलकहरूको अनुशीलन तथा उत्खनन् आवश्यक छ ।

गोरखा राज्यमा लिगलिगकोट, सिरानचोक, अजिरगढ, बारपाकसमेत सामेल गरी नेपाल एकीकरणको आधारस्तम्भ खडा गरेका द्रव्य शाहका छोरा नाति पुस्ताले सल्यान (सल्यानटार), मैधी, थरी, खरी, धादिङ, त्रिशूली र सेम्जुङ हुँदै नेपाल खाल्डो (काठमाडौं उपत्यका)मा आँखा पुर्‍याएका थिए । बारपाक, स्यार्तान, अठार सयखोला, सल्यान, बसेरी, चरङ्गे, खरी, मैधी एवम् धादिङका घले राज्यहरूमा पूर्ण शाह, राम शाह र राम शाहपछि पुन घले मुखिया थापेर बसेका धादिङ, कटुन्जे, बसेरी, साम्रीँका घले राज्यहरू नरभूपाल शाहले कब्जा गरे (सं. योगी, नरहरिनाथ-गोरखा वंशावलीका विभिन्न पृष्ठहरू) ।

गोरखा राज्यको संस्थापक द्रव्य शाहका छोरा पूर्ण (पुरन्दर) शाह वि. सं. १६२७ सालमा राजा भएपछि पूर्वतर्फ राज्य विस्तार गर्ने सिलसिलामा बूढीगण्डकी तरी सर्वप्रथम सल्यान (सल्यानटार) को घले राज्यमा हमला गरी विजय प्राप्त गरे । त्यसपछि खरी, मैधी, धादिङ, चरङ्गे आदि थुमथुममा रहेका स्वतन्त्र घले राज्यहरूमाथि हमला गर्न गोरखाबाट फौज पठाई अन्य स्वतन्त्र थुम्का राज्यहरूलाई समेत गोरखा राज्यमा मिलाएर उनीहरूको स्वतन्त्र अस्तित्व गुमाइदिए । तर पूर्ण शाहले जितेका राज्यहरूले पुनः विद्रोह गरेपछि राम शाहले ती राज्यमा कोट निर्माण गरी गोरखा राज्य अधिनस्थ बनाएको शाहकालीन इतिहासमा भेटिन्छ ।

यस्ता छन् आधारहरू

गढी डाँडाबारे बताउनुपूर्व हामीले ढोला र मैधीको ऐतिहासिक अवस्था बुझ्नुपर्छ । ढोलाको इतिहास खोज्दै जाँदा मैधीसँगै जोडिन आउँछ वा भनौं मैधीको इतिहास लेखिरहँदा ढोलालाई छुटाउन मिल्दैन । यिनीहरूको नङ र मासुको जस्तो सम्बन्ध छ । साविकको ढोला गाविस र मैदी गाविसलाई पहिले ‘मैधी राज्य’कै रूपमा चिनिन्थ्यो । यस सम्बन्धमा विष्णुप्रताप शाहले लेखेका छन्- ‘श्री ३ रणोद्दीप सिंह राणाको समयसम्म (पश्चिम एक नम्बर जिल्ला बन्नुभन्दा अगाडि) मैधी गोर्खाको तालुक (मातहत) अन्तर्गत थियो ।

उक्त जिल्ला बनेपछि मैधी नुवाकोटको अन्तर्गत भयो । मैधी श्री ३ चन्द्र शमशेरको समयमा प. १ नुवाकोट गोश्वारा (बडाहाकिमको कार्यालय) अन्तर्गत धादिङमा माल र अदालत रहने गरि धादिङ छोटी जिल्ला गठन भएपछि मैधी पनि धादिङ छोटी जिल्ला अन्तर्गत हुन पुग्यो । २०२२ सालमा धादिङले पनि जिल्लाको दर्जा पायो । जस अन्तर्गत मैधी रहेको छ हाम्रो मैदी, विष्णुप्रताप शाह, आफ्नो माटो, भाग–१) ।’

घलेहरू मगर कि गुरुङ ?

पूर्वप्रशासक स्वर्गीय विष्णुप्रसाद शाहले मैधी राज्य मगर जातिहरूको भएको र मगर जातिका सेनाहरूले वीरतापूर्वक लडाइँ लडेको उल्लेख आफ्नो ऐतिहासिक खोज (हाम्रो मैदी, आफ्नो माटो स्मारिका–१) मा लेखेपनि सो स्थानमा मगर नभई गुरुङ जातिहरूको घले राज्य नै रहेको स्थानीय बराहकालिका माध्यमिक विद्यालयका प्रधानाध्यापक शिवराज अर्यालको दाबी छ । उनको गढीको पूर्वतर्फको भूभागमा बाक्लो गुरुङ समुदायको बसोबासलाई आधार लिएका छन् ।

शाहले यहाँ किटानका साथ पूर्ण शाहसँग लड्ने घलेहरू ‘मगर जाति’ नै रहेको बताएपनि  प्रधानाध्यापक अर्यालका अनुसार यस क्षेत्रका मूल आदिवासी  गुरुङहरू नै हुन्  । ‘हामी ३०० सय वर्ष अगाडि मात्रै यहाँ आई गुरुङसँग जग्गा किनेको हुनाले गुरुङ जात यहाँ पहिल्यैदेखि रहेको र उनीहरूले नै यहाँ राज्य चलाएको अनुमान गर्न सकिन्छ,’ उनले भने ।

अझ, वराहथान र कालिका (वराहकालिका क्षेत्र) मन्दिरमा आजसम्म पनि गुरुङ जातका कुमार युवकहरु नै पुजारी रहनुले पनि अर्यालका दाबीलाई थप प्रामाणिक बनाउँछ । बसाहा ढोला मण्डली माईको स्थापना वि. सं. १७५० मा भएको पाइनाले र त्यहाँ दर्लामी मगर पुजारी हुनाले एवं साविकको मैधी गाविस (उखुबारी क्षेत्र)मा मगरहरूको बाहुल्य रहनाले र मैधीकोटको पुजारी आले मगर हुनुले यस सम्बन्धमा यहाँका घलेहरू मगर हुन् कि भन्ने संशय समेत व्यक्त भइरहेको पाइन्छ, तर यसै आधारमा तात्काली मैधी राज्यमा मगरहरूको राज्य थियो भन्न सकिन्न तर मगरहरू यहाँका आदिवासी रहेको कुरामा भने शंका गर्न सकिंदैन । गढी डाँडाको ऐतिहासिक एवं पुरातात्त्विक खोजीमा भएमा तत्कालीन यसप्रकारको विवादको हल पनि हुने देखिन्छ ।

जथाभावी ट्टा निकालियो

घलेहरूको राज्य रहेको ऐतिहासिक तीन वटा गढी रहेको क्षेत्रबाट वर्षौंदेखि स्थानीयहरूले त्यसको महत्त्व नबुझ्दा जथाभावी जमिनबाट इँट्टा उत्खनन् गरी निकाल्ने कार्य गर्दै आएको पाइयो । जथाभावी इँट्टा निकालेर आ–आफ्ना घर, शौचालय र दिवालहरू निर्माण कार्यमा संलग्न स्थानीयहरूसँग सोधपुछ गर्दा यस ठाउँमा ‘राजा बस्थे अरे’, ‘दरबार थियो रे’, ‘पानीको अभाव भएर न्याउली चरीले यहाँ नबस्नु भनेपछि राजा काठमाडौं वा गोरखा गएका हुन् भन्छन्’ भन्ने खालका भनाइहरू भने व्यक्तिपिच्छे नै भेट्न सकिन्छ ।

स्थानीय ७२ वर्षीय तेजबहादुर आले मगरका अनुसार हिजोआज पनि स्थानीयहरूले आवश्यक परे गढी क्षेत्रबाट इँट्टाहरू उत्खनन गरी घर लैजाने गरेका छन् । स्थानीयहरूले खेतबारीमा त्यसै बेवारिसे अवस्थामा रहेका इट्टाहरू घर, शौचालय र दिवाल निर्माणका लागि लग्ने गरेको पाइयो । वैज्ञानिक सर्वेक्षण विधिमार्फत अन्वेषण गर्ने हो भने लिङ्गे ढुङ्गाको वास्तविक प्रयोजन र गढी डाँडाबारे वास्तविक जानकारी प्राप्त गर्न सकिने रहेछ ।

यसरी पुगिन्छ गढी डाँडा

धादिङबेंसीबाट मुरलीभन्ञ्याङ हुँदै पाल्पाभन्ञ्याङ आउने र सो स्थानबाट सातभञ्याङ हुँदै कालिका थान (बराहकालिका) पुगेपछि पाँच मिनेटमै गढी डाँडा पुग्न सकिन्छ । सबै खालका सवारी साधनबाट त्यहाँ सहजै पुग्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?