+
+

संसदमा ओली : सरकारलाई समर्थन भन्दा प्रतिपक्षलाई घोचपेच बढी

दिपेश शाही दिपेश शाही
२०८० फागुन ३० गते २१:०३

३० फागुन, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सवाल जवाफमा प्रखर मानिन्छन् । त्यसमा पनि विपक्षीमाथि घोचपेच उनको अविच्छिन शैली हो ।

बुधबार प्रतिनिधिसभामा विश्वासको मत लिने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको प्रस्तावमाथि भएको छलफलमा पनि एमाले अध्यक्ष ओलीले प्रधानमन्त्रीको समर्थनमा भन्दा कांग्रेसमाथि घोचपेचमा बढी समय खर्च गरेका छन् ।

एमाले अध्यक्ष ओलीले प्रधानमन्त्रीलाई एक वाक्यमा समर्थन गरे, बाँकी प्रहार कांग्रेसमाथि नै सोझ्याए ।

‘प्रधानमन्त्रीले नयाँ समीकरण बनाउनु पर्नका कारणबारे भनेका कुरा चित्त बुझ्दा छन्, म समर्थनबाट सुरु गर्छु’, विपक्षमा रहेका कांग्रेससँग व्यंग्यात्मक शैलीमा विश्वासको मत मागे, ‘पोहोर साल पनि यस्तै अवस्था थियो । प्रधानमन्त्रीले भोट नै नमाग्दा पनि नेपाली कांग्रेसले हतारिएर, हौसिएर, उत्साहित भएर नयाँ बेटरी हालेजस्तो गरी समर्थन गर्न आएको थियो । परिस्थिति उस्तै, व्यक्ति उही । पोहोर समर्थन गर्न हुने, अहिले नहुने के छ र ?’

४ मंसिर २०७९ मा सम्पन्न आम निर्वाचनपछि माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले कांग्रेस नेतृत्वको चुनावी गठबन्धन छाडेर एमालेको समर्थनमा सरकार गठन गरेका थिए । तर संसदमा विश्वासको मत लिँदा कांग्रेसले पनि मत दिएको थियो । त्यतिबेला ओलीले कांग्रेसलाई भनेका थिए, ‘कसैले ढोक्सा नथापे हुन्छ ।’

विश्वासको मत दिएको दुई महिना नबित्दै प्रधानमन्त्री प्रचण्डले एमालेलाई छाडेर कांग्रेससँग गठबन्धन गरे । कांग्रेस सत्ता पक्ष बन्यो, एमाले प्रतिपक्षमा फर्कियो । एक वर्षपछि सत्ता गठबन्धन फर्काएका ओली उत्साहित देखिए ।

गठबन्धन परिवर्तन भएपछि कांग्रेसले संसदीय दलको बैठकबाट प्रधानमन्त्रीबाट ‘बेइमानी’ भएको प्रतिक्रिया दिएको थियो । कांग्रेसका सांसदहरूले संसदमै बोल्ने क्रममा पनि माओवादीमाथि धोकाको आरोप लगाएका थिए ।

त्यसको जवाफ ओलीले ०७० सालपछि कांग्रेस र एमालेबीच बनेको गठबन्धन सम्झाए ।

०७० सालको दोस्रो संविधानसभा चुनावपछि एमालेको समर्थनमा कांग्रेसका तत्कालीन सभापति सुशील कोइराला प्रधानमन्त्री बनेका थिए । २०७२ असोजमा संविधान जारी भएपछि एमालेले सरकारको नेतृत्व गर्ने सहमति भए पनि अन्तिम अवस्थामा कोइराला आफैं प्रधानमन्त्रीको उम्मेदवार बनेका थिए । यद्यपि माओवादीसहितका दलको समर्थनमा ओली प्रधानमन्त्री भए ।

त्यसतर्फ संकेत गर्दै ओलीले भने, ‘नेपाली कांग्रेसले रोस्टममा उभिएर जुन इमानको कुरा गर्‍यो, त्यसले अचम्म लाग्यो । कसरी भन्न सकेको होला, ढुक्कैले ? एउटा औला अरूलाई देखाउँदा, बाँकी औला आफूतिर फर्किन्छन् भन्ने बिर्सिनु हुँदैन ।’

कांग्रेससँग भनाभन गर्न मन नभए पनि आफू चाहिँ साह्रै वाचावन्धनमा अडिएको भन्दा आश्चर्य लागेको भन्दै उनले भने, ‘यसो बाउलो तान्दिएको मात्रै हो ।’

कांग्रेसले अहिलेको गठबन्धन परिवर्तनलाई अस्थिरता भनेकोमा पनि ओलीले प्रतिवाद गरेका छन् । ‘पोहोर दुई महिनामा सरकार परिवर्तन गर्दा अस्थिरता लागेन, अहिले एक वर्ष–१४ महिनापछि सरकार परिवर्तन गर्दा के को अस्थिरता भयो ?’ उनले भने, ‘पोहोर अस्थिरता भएको थिएन त ? पोहोर साल दुई महिना पनि नपुगिकन शान्त, स्थिरता नभई सरकार परिवर्तन गरेको हो ?’

माओवादीसँगको गठबन्धन टुट्नुअघि एमालेले छलफलको प्रस्ताव गर्दा कांग्रेसले नचाहेको भन्दै ओलीले आक्रोश व्यक्त गरे ।

‘वर्णाश्रम व्यवस्थामा पानी चल्दैन, दाल चल्दैन, भात चल्दैन भन्ने सुनेको थिएँ । कुरा चल्दैन भन्ने नेपाली कांग्रेसबाट सुनियो’ एमाले अध्यक्ष ओलीले भने, ‘कुरा गरौं, हामी पुराना मित्र हौं भन्दा कांग्रेसले एमालेसँग कुरा चल्दैन भन्यो ।’

ओलीले फेरि पनि कांग्रेससँग संवादका लागि आह्वान गरे । ‘अहिलेको संसदमा कसैको पनि बहुमत छैन । छलफलका गरौं, भ्रष्टाचार, कमिसनतन्त्र, तस्करी रोक्नु पर्नेछ, तर नेपाली कांग्रेस दुधकुण्डमा नुहाएर आएजस्तो गरिरहेको छ’, उनले भने ।

उनले बाहिर १३–१३ महिनाको आलोपालो प्रधानमन्त्री हुने भनेर चर्चा भइरहेको कुरामा कुनै सत्यता नरहेको भन्दै आफूलाई प्रधानमन्त्री हुने इच्छा नरहेको समेत बताए ।

बरु ओलीले कांग्रेसलाई परिपक्कता देखाउन सुझाव दिए । ‘हामी साच्चै रचनात्मक प्रतिपक्ष, सिर्जनात्मक सहिष्णु र उदार सत्ता पक्ष भएर चल्नुपर्छ । कांग्रेस अस्ति सत्ता पक्षमा हुँदा त्यो भूमिकामा कमी भयो । यो रियलाइज गर्दा हुन्छ’, उनले भने, ‘अहिले प्रतिपक्षमा हुँदा यत्तिको छिप्पिएको कांग्रेसले म्याचुरिटी देखाउनुपर्छ ।’

नयाँ गठबन्धन निर्माणमा बाह्य शक्तिको हस्तक्षेप रहेको चर्चाको पनि ओलीले खण्डन गरे । कांग्रेसले राम्रो कामको जस आफूले मात्र लिने गरेको भन्दै उनले भने, ‘कांग्रेस मात्रै होइन, अरूअरू छरछिमेकका मित्र पनि, यत्तिको काम त हामीले गरेको भनेर हामीलाई जस दिए हुन्छ नि ! सरकार परिवर्तन यताउता, खत्र्याखुत्रुक, हाम्रो देशभित्रका सानातीना काम त हामीले गरेको भन्दा हुन्छ । को देश आयो, कुन आयो, कसले गर्‍यो भनेर कहाँ अरूलाई जस दिएको ?’

अहिले गठबन्धन निर्माण हुनुमा प्रचण्ड मुख्य पात्र भएको र आफूले साथ दिएको उनले बताएका छन् ।

लेखकको बारेमा
दिपेश शाही

शाही अनलाइनखबरका लागि कूटनीति, राष्ट्रिय राजनीति तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?