 
																			३० फागुन, धनगढी । नागरिक उन्मुक्ति पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिएपछि सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाह आन्तरिक छलफलमा जुटेका छन् ।
माओवादी र नेकपा एकीकृत समाजवादीले समर्थन फिर्ता लिएसँगै आफ्नो पक्षमा बहुमत जुटाउने प्रयासमा नाउपाका थप चार जनालाई मन्त्रीमा नियुक्त गरेका शाहले कांग्रेसका प्रदेशसभा सदस्यसँग छलफल गरेका छन् ।
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा कांग्रेसका प्रदेशसभा सदस्यलाई बोलाएर उनले सम्भावित रणनीतिबारे सुझाव मागेका छन् । ‘केन्द्रमा प्रधानमन्त्रीलाई विश्वासको मत दिएपछि नाउपा नयाँ गठबन्धनमै जाने सम्भावना देखियो,’ छलफलमा सहभागी एक सांसदले भने, ‘सोही विषयमा अब कसरी अगाडि बढ्न सकिन्छ भनेर उहाँले हामीसँग सुझाव माग्नुभएको हो ।’
उनकाअनुसार मुख्यमन्त्री शाहले नाउपामा संरक्षक रेशम चौधरी र अध्यक्ष श्रेष्ठबीच विवाद चलिरहेका बेला प्रधानमन्त्रीलाई विश्वासको मत दिएको विषयलाई गम्भीर रूपमा लिएका छन् ।
छलफलमा नाउपालाई नै सरकारको नेतृत्व दिएर भए पनि अघि बढ्नुपर्ने अवस्था आउनसक्ने बारेमा पनि छलफल भएको अर्का सांसदले बताए ।
तर नाउपा अध्यक्ष श्रेष्ठले चौधरीले सामाजिक सञ्जालमा बुधबार बिहान सार्वजनिक गरेको धारणा आफ्नै उपस्थितिमा दिएको प्रतिक्रिया दिएपछि कांग्रेस झस्किएको छ ।
“उहाँ(रञ्जिता श्रेष्ठ) ले रेशम जीले सामाजिक सञ्जालमा धारणा सार्वजनिक गर्ने बेला सँगै थियौं भन्ने कुरा अर्थपूर्ण छ,’ उनले भने, ‘पहिले पनि संघमा समीकरण फेरिएपछि एउटा मन्त्रालय लिएर नाउपा सरकारमा आएकाले नयाँ गठबन्धनमै जानसक्ने सम्भावना देखिएको छ । हेरौँ ।’
तर नाउपाले समर्थन गरेर मात्र सरकार जोगिन अवस्था नभएकोले सम्भावित सबै विकल्पबारे कांग्रेस खुला हुनुपर्ने सुझाव सांसदहरूले दिएका छन् ।
नाउपाको समर्थन कायम रहेको अवस्थामा पनि राप्रपाकी खेमादेवी विष्ट र स्वतन्त्र सांसद डा.ताराप्रसाद जोशीले विश्वासको मत नदिए उनको पक्षमा बहुमत पुग्दैन ।
कांग्रेसका १८ र नाउपाका ७ जना गरेर अहिले शाहलाई २५ जनाको समर्थन छ । राप्रपा र स्वतन्त्र सांसदले विश्वासको मत दिएमा मात्र शाहको पक्षमा बहुमत सांसद २७ पुग्नेछन् । तर नाउपाकै किचलोका कारण राप्रपा र स्वतन्त्र सांसद पर्ख र हेरको रणनीतिमा छन् ।
नाउपामा अध्यक्ष श्रेष्ठको असहमतिबीच चौधरीको जोडबलमा मुख्यमन्त्री शाहले चार जनालाई मन्त्री बनाएका थिए ।
तर श्रेष्ठले सरकारबाट फिर्ता हुन निर्देशन दिएकी थिइन् ।
बहुमत संस्थापक केन्द्रीय सदस्यले अध्यक्ष श्रेष्ठको उपस्थिति बिना संघमा प्रधानमन्त्री प्रचण्डलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेका थिए भने अध्यक्ष श्रेष्ठले ह्वीप जारी गरेपछि नाउपाका सबै सांसदले प्रचण्डलाई विश्वासको मत दिएका छन् ।
चौधरीले बुधबार बिहान सामाजिक सञ्जालमा धारणा सार्वजनिक गर्दै रञ्जितालाई सम्झाउन नसकेको बताएका थिए ।
 
                









 
                     
                                     
                                 
 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4