+
+

१० अन्तर्राष्ट्रिय फिचर फिल्म, जसलाई निफमा हेर्न सकिनेछ

अनलाइनखबर अनलाइनखबर
२०८० चैत १ गते १२:३५

काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलको सातौं संस्करण बिहीबारदेखि काठमाडौंमा सुरु हुँदैछ । पाँचदिने फेस्टिभलमा ४० मुलुकका ८८ फिल्म प्रदर्शन गरिने जनाइएको छ ।

वर्ल्ड पानोरमा, नेपाल पानोरमा, डक्स, नेसनल डक्स, सर्ट्स इन्टरनेसनल र सर्टस् नेसनल विधामा फेस्टिभल हुनेछ । फेस्टिभलमा केही रोचक लाइनअप छ, जुन दर्शकका लागि दर्शनीय हुनसक्छन् ।

ओपनिङ फिल्मको रुपमा गायिका आनीछोइङ डोल्माको ‘आनी बन्ड : छोइङ डोल्मा’ छ । फिल्मको कुल लाइनअपबाट अनलाइनखबरले १० फिल्म छनोट गरेको छ, जुन दर्शनीय हुनसक्छन् ।

. बुएलवा : एन अफरिङ (भुटान)

चार्मी नेमचन्द छेडाद्वारा निर्देशित यो फिल्मले एक खेन्पो टेम्पाको बारेमा भन्छ, जसलाई मुख्य लामा (लोपेन रिन्पोछे)ले युवाहरूसँग काम गर्न गुम्बाबाट बाहिर पठाउँछ । यो फिल्म भुटानको देशप्रेमबाट प्रेरित छ, जुन त्यहाँको राजाले युवालाई दिने सन्देशबाट प्रेरित छ । फेस्टिभलमा यो मार्च १६ मा स्क्रिनिङ हुनेछ ।

. गुड अटम, ममी (चीन)

शिझोङ चेनद्वारा निर्देशित यो फिल्मले एक उखु किसान फोङ-ताईको कथालाई चित्रण गरेको छ, जसको नवजात छोरीलाई एकाएक बेपत्ता पारिन्छ । हराएकी छोरीको खोजीका लागि उक्त पात्रले गर्ने खोज यात्राको कथा यसमा छ । निर्देशक चेनका अनुसार जादुयी वर्षामा नवजात शिशु रहस्यमय रूपमा बेपत्ता भएको कथाको फिल्मले दर्शकलाई पर्याप्त सस्पेन्स र प्रेरणा दिन्छ । मार्च १८ मा यो फिल्म स्क्रिनिङ हुनेछ ।

. रिमेम्बरिङ एभ्रिनाइट (जापान)

युई कियोहारा निर्देशित यो फिल्मको कथावस्तु विभिन्न पुस्ताका तीन महिलाको वरपर घुम्छ । ती महिला जो टोकियो सहरमा विगतका सम्झना सम्झना गर्दै हिंड्छन् । यो फिल्म मार्च १४ बिहीबार स्क्रिनिङ हुँदैछ ।

. चेरी जुस (जर्मनी)

मेर्सिहा हुसागिक निर्देशित यो फिल्मले युद्ध समाप्त भएपछि के कुरा बाँकी छ भन्ने प्रश्नको उत्तर खोज्छ । साराजेभो सोल्मा नामक एक ठाउँमा एक जवान बोस्नियाली पटकथा लेखक र निकलस नामक जर्मन अभिनेतासँग अप्रत्यासित जम्काभेट हुन्छ । ‘युद्धले के छोड्छ र योसँग कसरी व्यवहार गर्ने भन्ने प्रश्नबाट प्रेरित भएर मलाई फिल्म बनाउन प्रेरित भएको छ,’ निर्देशक मेर्सिहा हुसागिक भन्छिन् । यो फिल्म मार्च १६ मा स्क्रिनिङ हुनेछ ।

. कोली एसरु (भारत)

चम्पा शेट्टी निर्देशित यो फिल्मले १० वर्षीया छोरीको चिकेन करीको चाहना पूरा गर्न त्याग र चुनौती सहने गरिब महिलाको कथालाई समेट्छ । सन् १९९० मा मिजोर नजिकको एक गाउँको कथा यसमा समेटिएको छ । मार्च १५ मा यो फिल्म स्क्रिनिङ हुने तयारीमा छ ।

. लुटो (आयरल्याण्ड र मेक्सिको)

एन्ड्रेस आरोची टिनाजेरो निर्देशित यो ११० मिनेट लामो फिल्मले प्रेमिकाको मृत्युले शोकमा डुबेको पात्र डेमियनको मेक्सिकोको यात्राको कथा पेश गर्छ । सम्झना र पश्चातापले सताएको उसले अपरिचितसँग कुराकानीमार्फत सान्त्वना खोज्छ । मार्च १८ मा यो फिल्म स्क्रिनिङ हुनेछ ।

. लाजरस पथ (सर्विया)

इभान जोभिक निर्देशित यो फिल्म लाजरस पाथ, लाजर नामक पात्रको वरपर घुम्छ, जसले सडक कलाकार र मूर्तिकारको रूपमा वर्षौंको यात्रापछि आफूलाई एउटा सानो भूमध्य टापुमा भेट्टाउँछ । उक्त टापुको प्रशासनसँग कुराकानी गर्न नसकेपछि त्यहाँबाट निस्कने उसको योजना जटिल बन्न पुग्छ । मार्च १५ मा यो फिल्म स्क्रिनिङ हुनेछ ।

. पिफउल (दक्षिण कोरिया)

सुङबिन ब्यून निर्देशित यो फिल्मले एक ट्रान्सजेन्डर पात्र म्युङको कथालाई चित्रण गरेको छ । उनको परिवारले उनलाई स्वीकार गर्दैनन् । त्यसैले उनी छुट्टिएर बस्छिन् । स्वीकार गराउन उनीसँग शल्यक्रियाको मात्र उपाय छ । तर शल्यक्रियाका लागि पैसा कमाउने एउटै माध्यम भनेको नृत्य प्रतियोगिता जित्नु हुन्छ । तर उनको योजनाअनुसार काम अघि बढ्दैन । यो फिल्म मार्च १६ मा स्क्रिनिङ हुँदैछ ।

. भगवान भरोसे (भारत)

यो फिल्मका निर्देशक शिलादित्य बोरा हुन् । यसले दुई प्रभावशाली बच्चाको कथा बताउँछ । द्रुतरूपमा परिवर्तन भइरहेको सामाजिक-राजनीतिक परिदृश्यलाई यसको कथावस्तुले समेटेको छ । यो फिल्म मार्च १७ मा स्क्रिनिङ हुँदैछ ।

१०. वाइल्ड स्वान्स (भारत)

रजनी बसुमातारी निर्देशित यो फिल्मले दशकौंको सशस्त्र द्वन्द्वबाट मुक्ति पाएको पितृसत्तात्मक समाजमा महिलाको जीवनको चित्रण गर्छ । यो ९५ मिनेट लामो फिल्म उत्तरपूर्वी भारतको बोडोल्याण्डको फेदमा सेट गरिएको छ । मार्च १५ मा यो फिल्म स्क्रिनिङ हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?