+
+

पैसा दिएर नागरिकताको फोटोकपी संकलन गरेको आरोपमा ३ जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८० चैत १ गते १२:३७

१ चैत, विराटनगर । सर्वसाधारणलाई पैसा दिएर नागरिकताको फोटोकपी र फोटो संकलन गरेको आरोपमा  तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा दुई जना बंगलादेशी र एक जना नेपाली नागरिक छन् ।

बंगलादेश पल्लाबी ढाकाका ४९ वर्षीय महमद महबुर हुसेन, बंगलादेश सीतागञ्ज घर भई काठमाडौं नयाँ बजारमा बस्दै आएका ३७ वर्षीय महमद तानवीर हुसेन र सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका-६ घर भइ काठमाडौंको नयाँ बजारमा बस्दै आएकी २३ वर्षीया सुनिता खत्रीलाई पक्राउ गरेको मोरङ प्रहरी प्रवक्ता रञ्जनकुमार दाहालले बताए । अर्का एक जना फरार छन् ।

उनका अनुसार खत्रीलाई मंगलबार सुन्दरहरैँचा–८ बाट पक्राउ परेका थिए । त्यहाँबाट फरार बनेका ३ जना बंगलादेशी नागरिकमध्ये २ जनालाई भने प्रहरीले सुन्दरहरैँचा-४ बलियाबाट पक्राउ गरेको थियो ।

प्रहरीका अनुसार  तानवीरसँग नेपाली नागरिकता र राहदानी छ । काठमाडौंमा बसेर गार्मेन्टको काम गर्ने बताउँदै आएका उनीसँग रौतहट जिल्लाबाट जारी भएको तानवीर मिया दर्जीको नाममा नेपाली नागरिकता छ ।

‘उसको बंगलादेशी डकुमेन्टमा महमद तानवीर हुसेन देखिन्छ तर तानवीर मिया दर्जी नामको नेपाली नागरिकता र राहधानी पनि लिएको देखिन्छ,’ प्रहरी स्रोतले भन्यो,’ नेपाली नागरिकता कसरी बनाए भन्ने अनुसन्धान गर्दैछौं ।’

पक्राउ परेकाहरुले मोरङको सुन्दरहरैँचा नगरपालिका–८ सलकपुरमा उनीहरुले एक हजार र एक हजार पाँच सय रुपैयाँ दिदै नागरिकताको फोटोकपी र फोटो संकलन गरिरहेका थिए । पक्राउ परेकाहरुले  सलकपुरका ३० जनाभन्दा बढी व्यक्तिको नागरिकताको फोटोकपी र फोटो संकलन गरेको प्रहरीले बताएको छ ।

परोपकारी संस्था डब्लु बी एस सी कम्पनीबाट गरिबलाई सहयोग गर्न आएको भन्दै  पैसा वितरण गर्दा उनीहरुले नागरिकताको फोटोकपी र एउटा फोटो मागेका थिए । एक जनालाई १ हजारदेखि १ हजार ५ रूपैयाँसम्म उपलब्ध गराइएको देखिएको प्रहरीको भनाइ छ ।

यसरी संकलन भएको फोटोकपी र फोटो प्रयोग गरेर डिजिटल वालेट खोलेर ठगी गर्नेगरेको देखिएको प्रहरीले बताएको छ ।

‘उनीहरुको एक मात्र उदेश्य डिजिटल वालेटमा खाता खोलेर ठगी गर्ने देखिन्छ,’ प्रहरी प्रवक्ता दाहालले भने,‘ वालेट खोलेर ठगी गर्ने कुरा स्वीकार पनि गरिसकेका छन् ।’  अन्य क्षेत्रमा पनि ठगी गरेको जस्तो देखिएको बताउँदै उनले अनुसन्धान भइरहेको बताए ।

विना मेहनत पैसा पाएपछि सर्वसाधारणले पनि सहज हिसाबले आफ्नो फोटो र नागरिकताको प्रतिलिपी उपलब्ध गराएका थिए ।

प्रहरीले पक्राउ परेकाको साथबाट एनसेलका १५ वटा सिमकार्ड, सुनीता खत्री र तानवीर मिया दर्जीको नाममा रहेका २ वटा राहदानी, तानवीर मिया दर्जी नामको नेपाली नागरिकताको प्रमाणपत्र, नेपाली ५ हजार १ सय ५० रूपैयाँ, २ वटा एटीएम कार्ड र विभिन्न कम्पनीका ४ वटा मोबाइल बरामद गरेको छ ।

तानवीरको नागरिकताको विषयमा अनुसन्धान भइरहेको उनले बताए । पक्राउ परेका तीनै जनाविरुद्ध प्रहरीले ठगी उद्योग अन्तर्गतको मुद्दा चलाएको छ  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?