+
+

गोरखामा मोटरसाइकल चोरीको आरोपमा ११ जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८० चैत १ गते २०:२४

१ चैत्र, गोरखा । मोटरसाइकल चोरेको आरोपमा जिल्ला प्रहरी कार्यालयले ११ जनालाई पक्राउ गरेको छ । बिभिन्न स्थान र मितिमा पक्राउ परेका उनीहरुलाई कार्यालयले बिहीवार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ ।

चोरी भएको मोटरसाइकल सहित उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी प्रमुख एसपी बासुदेव पाठकले बताए ।

उनका अनुसार पक्राउ पर्नेमा आरुघाट गाउँपालिका–३ निबोटका सुकबहादुर गुरुङ, सुजन कार्की, वडा नम्वर ६ कल्लेरीका रामकुमार श्रेष्ठ, वडा नम्वर ४ थुमी बराम गाउँका रोनिस भन्ने पदमबहादुर बराम र बारा जिल्लाको गढीमाई नगरपालिका घर भई हाल आर्खेतमा बि आर ब्रर्दश वर्कशपमा काम गर्दै आएका शंकर शाह सोनार रहेका छन् । उनीहरुलाई यही फागुन २७ गते पक्राउ गरिएको एसपी पाठकले जानकारी दिए ।

पक्राउ परेकाहरुसँगको अनुसन्धानबाट चोरीमा संलग्न थप ६ जनालाई पक्राउ गर्न सफल भएको उनले बताए । आरुघाट गाउँपालिका वडा नम्वर ३ निबोटका सन्तोष गुरुङ, सोमे भन्ने उत्तम गुरुङ, देउवा गुरुङ, वडा नम्वर २ का अन्जन घले, वडा नम्वर ३ का टेकबहादुर आले र कमल आले मगरलाई फागुन ३० गते पक्राउ गरिएको उनले जानकारी दिए ।

उनीहरुको साथबाट चोरीका नौवटा मोटरसाइकल बरामद भएको डीएसपी रमेशकुमार श्रेष्ठले बताए । ‘सबै बाइक कालो रातो रंगको २२० सिसिको पल्सर छन्,’ उनले भने, ‘पाँच वटा धादिङबाट र चार वटा गोरखाबाट चोरेका रहेछन् ।’

डिएसपी श्रेष्ठका अनुसार चोरी भएका बाइकमध्ये चार वटा उनीहरुले बिक्री गरिसकेका थिए । चार वटा उनीहरु आफैले प्रयोग गर्दै आएका थिए भने एउटा वेवारिसे अवस्थामा फालिएको थियो ।

पक्राउ परेकाहरुमध्ये ६ जना चोरीमा संलग्न रहेको, ४ जना चोरीको मोटरसाइकल खरिद गरेको र एक जना चोरीको मोटरसाइकलको पार्टपुर्जाहरु फेर बदल गर्ने कार्यमा संलग्न रहेको बताइएको छ । उनीहरु बिरुद्ध चोरी कसूर शीर्षकमा मद्दा दर्ता गरी आवश्यक अनुसन्धान भइरहेको बताइएको छ ।

२२० सिसिको पल्सर बाइकलाई टार्गेट गरी उनीहरुले चोरी गर्ने गरेको अनुसन्धानबाट खुल्न आएको प्रहरीले जनाएको छ । चोरी गरेको बाइकहरु १५ देखि ३० हजारसम्म बेच्ने गरेको र उक्त बाइकहरु उत्तरी गोरखाका दुर्गम भेगमा चल्ने गरेको पाइएको डिएसपी श्रेष्ठले बताए ।

‘घटनाको थप अनुसन्धान गरिरहेका छौं, चोरीमा संलग्न अन्य व्यक्तिहरु पनि पक्राउ पर्न सक्ने सम्भावना छ,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?