+
+

खेलाडीसँगै १० पदाधिकारीको विदेश भ्रमणबारे राखेपले माग्यो एन्फासँग जवाफ

अनलाइनखबर अनलाइनखबर
२०८० चैत २ गते १४:४९

२ चैत, काठमाडौं । राष्ट्रिय खेलकुद परिषद (राखेप) खेलाडीसँगै पदाधिकारीहरु पनि विदेश भ्रमण गएको विषयमा अखिल नेपाल फुटबल संघ (एन्फा) सँग स्पष्टीकरण मागेको छ ।

राखेपले अनुमतिबिना अनावश्यक पदाधिकारीलाई फुटबल टोलीसँग विदेश पठाउनुको कारणसहित २४ घण्टाभित्र स्पष्टीकरण दिन एन्फालाई पत्र लेखेको हो ।

‘हामीले एन्फासँग १० पदाधिकारी कसरी र किन मलेसिया गएका हुन् । उनीहरुको प्रक्रियाको सम्पूर्ण स्पष्टीकरण माग गर्दै बिहीबार एन्फालाई पत्र पठाएका छौं’, राखेप शाखा प्रमुख चन्द्रबहादुर राईले अनलाइनखबरसँग भने ।

विश्वकप छनोट अन्तर्गत मलेसियामा नेपाल र बहराइनबीचको खेलका लागि खेलाडीहरु गएका बेला एन्फाका पदाधिकारी पनि सँगै गएका थिए । मलेसिया जानेमा एन्फाका उपाध्यक्ष दीपक खतिवडा, केन्द्रीय सदस्य महेन्द्र क्षेत्री, प्रमुख कार्यकारी अधिकृत सीईओ इन्द्रमान तुलाधर, भरत घिमिरे, बुद्धिबहादुर गुरुङ, सुनील लोप्चन, जयकृष्ण श्रेष्ठ, प्रवीण श्रेष्ठ, सुविनकुमार श्रेष्ठ रहेका थिए ।

राष्ट्रिय खेलकुद ऐन २०७७ विपरीत पदाधिकारीहरु खेलाडी र अफिसियलको टोलीसँगै मलेसिया प्रस्थान गरेको राखेपले जनाएको छ । यस विषयमा खेलकुद मन्त्रालयले विज्ञप्ति जारी गरी राखेपलाई एन्फामाथि कारबाही गर्न आग्रह गरेको थियो ।

नेपाली टोली भने हाल मलेसियामा रहेको छ । टोलीले मलेसियामा मैत्रीपूर्ण खेलसँगै केही दिनको अभ्यासपछि उतैबाट विश्वकप छनोटको दोस्रो चरणको खेल खेल्न बहराइन प्रस्थान गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?