+
+

प्रतिबन्धपछि धनबहादुरको शानदार पुनरागमन

भुपेन्द्र जि.सी. भुपेन्द्र जि.सी.
२०८० चैत ३ गते २०:०९

३ चैत, काठमाडौं । आठ महिनाअघि सातौं प्रधानमन्त्री कप एनभिए राष्ट्रिय क्लब लिगमा त्रिपुरेश्वरमा रहेको राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्डहलमा त्रिभुवन आर्मी क्लब र गण्डकी प्रदेशबीचको खेलमा अप्रत्याशित घटना भयो ।

दर्शकले आर्मीका खेलाडीलाई अपशब्द प्रयोग र बोतल हानेपछि खेलाडीले त्यसको प्रतिकार गरेका थिए ।

तेस्रो सेटमा आर्मी २४–२३ ले अगाडि रहेका बेला तनाव सिर्जना भएको थियो । त्यसमा पनि चेक आउटको विषयलाई लिएर गण्डकीले असन्तुष्टि जनाएको समयमा उक्त घटना भएको थियो ।

त्यसै क्रममा नेपालका स्टार स्पाइकर धनबहादुर भट्टले दर्शक दीर्घामै पुगेर समर्थकलाई एक मुक्का हाने । कप्तान हरिहजुर थापाले आक्रोशमा दर्शकलाई गाली गरे भने राजेन्द्र विष्ट, शरण सामरी र धनपति कुँवर कोर्ट बाहिर गएर समर्थकलाई पिट्न खोजेका थिए ।

उक्त घटनाको चौतर्फी आलोचनापछि नेपाल भलिबल संघले धनबहादुरलाई ६ महिना प्रतिबन्ध र हरिहजुरलाई हटाउँदै मानबहादुरलाई नेपाली राष्ट्रिय भलिबल टोलीको कप्तान नियुक्त गरेको थियो । राजेन्द्र विष्ट र धनपति कुँवरले ३ महिनाको प्रतिबन्ध सामना गरे ।

धनबहादुरको त्यो स्वभाव पत्याउनै गाह्रो हुन्छ । किनभने उनी निकै शान्त र अनुशासनमा बस्ने खेलाडी हुन् । तर त्यस दिन उनले संयमा गुमाउँदा आर्मीका खेलाडीको अनुशासनमै गम्भीर प्रश्न उठ्यो । ६ महिना प्रतिबन्ध भोगेपछि धनबहादुर कोर्टमा फर्किएका छन् ।

शनिबार आठौं आरबीबी एनभीए राष्ट्रिय महिला तथा पुरुष भलिबल च्याम्पियनसिपमा गण्डकी प्रदेशविरुद्ध खेल्दै पुनरागमन गरे । काठमाडौं बाहिर केही प्रतियोगिता खेलेपनि राष्ट्रिय स्तरको प्रतियोगितामा यो नै उनको पुनरागमन खेल थियो ।

संयोगवश पूनरागमन कोर्ट र विपक्षी टोली एकै थिए । अनि उनको जोश र शक्तिशाली स्पाइकमा पनि कुनै कमी थिएन । गण्डकी प्रदेशलाई ३–० को सोझो सेटमा हराउन धनबहादुरले शानदार प्रदर्शन गरे ।

पहिलो सेट २७–२७ को बराबरी हुँदा धनबहादुरले शक्तिशाली स्पाइकमा लगातार दुई अंक बटुल्दै जितको सुरुवात दिलाएका थिए । आर्मी २९–२७, २५–१९ र २५–१८ ले विजयी हुँदा धनबहादुरको प्रदर्शन महत्वपूर्ण थियो ।

६ महिनाअघिको घटना सम्झिँदै धनबहादुर समर्र्थककै व्यवहारका कारण आफूले संयम गुमाएको बताउँछन् । ‘त्यो घटनामा दर्शकको पनि गल्ती छ । खेल्दा प्रेसर हाई नै हुन्छ । हाम्रो कुनै गल्ती नहुँदा पनि दर्शकले मुख छाडेर बोतल हान्दा कन्ट्रोल नै गर्न सकिएन । त्यो बोतल हान्ने मान्छेलाई बाहिर लगेको भए घटना नहुन सक्थ्यो’, शनिबारको खेलपछि धनबहादुरले अनलाइनखबरसँग भने ।

धनबहादुर त्यतिबेला आफूबाट गल्ती भएको स्वीकार गरेका छन् । ‘त्यो घटनामा मेरो पनि गल्ती भएको हो । त्यस्तो नहुनु पर्ने थियो । तर अचानक त्यस्तो भयो, अब हुदैन । ६ महिना (प्रतिबन्धको अवधि) भनेको मलाई त ६ वर्ष जस्तो भयो । मलाई कति बेला सकिन्छ जस्तो लाग्यो’, भावुक हुँदै उनले भने ।

नेपाली भलिबलमा धन र मानबहादुरको जोडी स्पाइकमा लोकप्रिय मानिन्छ । शक्तिशाली स्पाइक प्रहार गर्ने यी दुई खेलाडीलाई नेपाली भलिबलमा नचिन्ने कमै होलान् ।

‘मलाई माया गर्ने समर्थक धेरै हुनुहुन्छ । कहिले फिल्डमा देख्न पाइन्छ भनेर धेरैले सोध्नुभयो, म्यासेज गर्नुभयो, आजको खेलमा राम्रो पनि खेलियो’, उनले भने ।

धनबहादुरले लगातार घरेलु भलिबलमा शानदार प्रदर्शन गर्दै आएका छन् । त्यसको मुख्य कारण उनको फिटनेस हो । प्रतिबन्धपछि उनले भारतमा गएर अभ्यास गरेका थिए ।

‘प्रतिबन्धको समयमा म भारतमा गएको थिएँ । सबै फिट राख्न रेफ्री र कोचिङमा सबै गरेर पनि आए । त्यसपछि विदामा नबसी मैले लगातार आफैं अभ्यास पनि गरे’, धनबहादुरले भने ।

लेखकको बारेमा
भुपेन्द्र जि.सी.

जिसी अनलाइनखबरको खेलकुद ब्युरोमा कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?