+
+

राष्ट्रिय सभाका २ समिति सभापति आज निर्विरोध निर्वाचित हुँदै

अनलाइनखबर अनलाइनखबर
२०८० चैत ४ गते ९:३८

४ चैत, काठमाडौं । राष्ट्रिय सभाका दुई वटा विषयगत समितिले आज सभापति पाउँदैछन् । दिगो विकास तथा सुशासन समितिको सभापति र राष्ट्रिय सरोकार तथा समन्वय समितिले आज सभापति पाउन लागेको हो ।

ती समितिहरुका सभापतिका लागि शनिबार मनोनयन दर्ता भएको थियो । दिगो विकास तथा सुशासन समितिको सभापति पदमा नेपाली कांग्रेसकी कमला पन्त र राष्ट्रिय सरोकार तथा समन्वय समितिको सभापतिमा एमालेका सोनाम ग्याल्जेन शेर्पाको मात्र उम्मेदवारी परेको छ ।

उनीहरु एकल उम्मेदवार भएकाले आइतबार निर्विरोध निर्वाचित भएको औपचारिक घोषणा गरिनेछ ।

प्रमुख चार दल कांग्रेस, एमाले, माओवादी केन्द्र र एकीकृत समाजवादीले राष्ट्रिय सभाका चार समितिहरुमध्ये एक-एक वटाको सभापति भागबन्डा गरेर लिएका छन् ।

राष्ट्रिय सभाकै प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको सभापतिमा माओवादी केन्द्रका मायाप्रसाद शर्मा र विधायन व्यस्थापन समिति सभापतिमा एकीकृत समाजवादीका जयन्तीदेवी राई सभापति छन् । उनीहरुको कार्यकाल बाँकी भएकाले समितिको सभापतिमा निरन्तरता पाएका छन् ।

दिगो विकास तथा सुशासन समितिको सभापतिमा यसअघि कांग्रेसका प्रकाश पन्थ सभापति थिए । उनको कार्यकाल गत २० फागुनमा सकिएपछि कांग्रेसकै भागबाट कमला पन्तको एकल उम्मेदवारी दर्ता भएको हो ।

शनिबार मनोनयन दर्ता गर्दा कांग्रेस सांसद पन्तको प्रस्तावकमा कांग्रेस सांसद नारायणदत्त भट्ट र समर्थकमा एमाले सांसद शारदादेवी भट्ट रहे ।

यसैगरी राष्ट्रिय सरोकार तथा समन्वय समितिको सभापतिमा यसअघि नेकपा एमालेकी दिलकुमारी रावल (थापा) सभापति थिइन् । उनको पनि कार्यकाल पनि २० फागुनमै सकिएकाले सो समितिको सभापतिमा एमालेकै सोनाम ग्याल्जेन शेर्पाको एकल उम्मेदवारी दर्ता भयो ।

शेर्पाको प्रस्तावकमा माओवादी केन्द्रका सांसद गोपीबहादुर अछामी तथा समर्थकमा नेपाली कांग्रेसका दुर्गा गुरुङ र एमालेका इन्दिरादेवी गौतम छन् ।

राष्ट्रिय सभामा एमाले संसदीय दलका नेता देवेन्द्र दाहालका अनुसार यसअघि सभापति रहेकाहरुलाई निरन्तरता दिएर बाँकी दुइटामा यसअघि जसका थिए सोही दलले पाउने गरी उम्मेदवारी दर्ता गराइएको हो ।

एकल उम्मेदवारी परेकाहरु स्वतः निर्वाचित भएको घोषणा आइतबार हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?