+
+

इलामको करफोकमा गुञ्जियो नेपथ्य

अनलाइनखबर अनलाइनखबर
२०८० चैत ४ गते १२:२२

काठमाडौं । चर्चित लोकरक ब्यान्ड नेपथ्य शनिबार इलामको करफोकमा गुञ्जिएको छ । पाँच हजार फिटको उचाइमा धुपी सल्लाले घेरिएको जंगलबीचको फराकिलो चौरमा बनाइएको स्टेजमा नेपथ्यले आफ्ना लोकप्रिय गीतहरुले दर्शकलाई मन्त्रमुग्ध बनायो ।

कन्सर्ट सुरु हुनु केही घण्टा अगाडिबाटै करफोक भएर जाने मेची राजमार्गमा चहलपहल सुरु भइसकेको थियो । तोकिएको समय अर्थात् बेलुकीको ठीक ६ बजे कन्सर्ट सुरु भएपछि मञ्चमा उक्लेका गायक अमृत गुरुङले यसै भेगबाट संकलन गरिएको गीत ‘कोशीको पानी यो जिन्दगानी’बाट थालनी गरेका थिए ।

‘हाम्रोतिर नेपथ्य नआएको धेरै भइसकेकाले नजिकै पर्ने यो ठाउँमा साथीहरुसँग आयौं,’ कन्सर्टकै लागि पश्चिम बंगालको दार्जिलिङदेखि आएका जितेन्द्र रसाइली आफ्नै शैलीमा भनिरहेका थिए, ‘बबाल रमाइलो लाग्यो ।’

कन्सर्टमा गायक अमृतले इलामको सुन्दरता बयान गर्दै कवि भूपि शेरचनको पुरानो भनाइ स्मरण गरे, ‘सक्ने भए अलि अलि इलाम देशभरि लगेर छरिदिन्थें ।’ उनले दर्शकलाई नेपालमा जताततै रमाइला पर्यटकीय स्थल भएकाले स्वदेशको भ्रमण गर्न र आफ्नो भूगोल अनि समाज चिन्न आह्वान समेत गरे ।

इलामको गढीथुम्कामा निर्माणाधीन न्युपी थर्पा छोलिङ गुम्बाको सहयोगार्थ आयोजना भएको यो कन्सर्ट ‘इलाम गुरुङ समाज’ले आयोजना गरेको हो ।

कन्सर्टमा करिब पाँच हजार दर्शक उपस्थित भएको आयोजक एवं गुम्बा निर्माण समितिका अध्यक्ष हरि गुरुङले बताए ।

‘रेशम’, ‘तालको पानी’, ‘रातो र चन्द्रसूर्य’ गरी १७ वटा गीत सुनाएर नेपथ्यले कन्सर्टको बिट मार्‍यो । कन्सर्टमा गायक अमृतलाई ड्रमसेटमा ध्रुव लामा, बेस गितारमा सुविन शाक्य, गितारमा निरज गुरुङ, मादलमा शान्ति रायमाझी र किबोर्डमा दिनेशराज रेग्मीले सघाएका थिए ।

नेपथ्यले नयाँ वर्षको पूर्वसन्ध्यामा झापाको बिर्तामोडमा प्रस्तुति दिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?