+
+

‘स्टारकास्ट र बिक्ने कुराको पछि लाग्दा फिल्मबाट निर्देशक हराएजस्तो देखियो’

अनलाइनखबर अनलाइनखबर
२०८० चैत ५ गते १२:४३

काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ)मा ‘निर्देशक हराएको सूचना’ शीर्षकको सत्रमा नेपाली निर्देशक र अभिनेताले छलफल गरे । ‘कबड्डी’ निर्देशक रामबाबु गुरुङ, ‘ए मेरो हजुर’ सिरिज निर्देशक झरना थापा र ‘छक्कापञ्जा’ फेम्ड अभिनेता दीपकराज गिरी सत्रमा वक्ताको भूमिकामा थिए ।

अभिनेता गिरीले आफ्ना फिल्ममा काम गर्ने शैलीबारे चर्चा गरे । ‘चालकलाई सहचालकले सहयोग गर्छ, यसको मतलब सहचालक चालक हुँदैन । मैले काम गर्ने सबै निर्देशकसँग निकट हुन्छु । सुरुमै डिस्टर्ब गरिराख्छु है भनेर भन्छु । त्यो हस्तक्षेप होइन, त्यसलाई लिने नलिने निर्देशकको निर्णय हो,’ उनले भने ।

निर्देशक हराइरहेको भनिएको प्रसंगमा उनले भने, ‘हामीले बनाउने सोसल ड्रामामा सबै दैनिक जीवनमा भइरहने दृश्य भएकाले निर्देशक हराएको जस्तो देखिएला । कुनै जनरामा निर्देशकको काम धेरै हुन्छ । त्यस्तोमा हराउने हुँदैन ।’ कहिलेकाहीं सिर्जनात्मकता नपुगे पनि सबै फिल्मलाई एउटै टोकरीमा हालेर हेर्न नहुनेमा पनि उनले जोड दिए ।

गिरीको भनाइमा सहमति जनाउँदै निर्देशक थापाले हराउने र नहराउने कुरा सबैको दृष्टिकोणमा निर्भर हुने बताइन् । ‘टिमवर्क भएकाले कहिले छायांकारको काम बढी देखिन्छ, कहिले एक्टरको काम बढी देखिन्छ । तर सबै कथा विषयवस्तुलाई समेटेर लैजाने निर्देशक नै हो,’ थापाले भनिन् ।

निर्देशक गुरुङले भने, ‘स्टारकास्टमा निर्भर हुँदा, के बढी बिक्छ भन्नेमा केन्द्रित हुँदा राम्रो निर्माता, प्राविधिक र निर्देशक हराएकोजस्तो देखिन सक्छ । सँगै आँखामा पनि भर पर्छ ।’

‘दर्शक, समीक्षकले कसरी हेरिरहेका छन्, निर्देशकले के भनेको छ, के छुटाएको छ, गलत तरिकाले व्याख्या गरेको छ कि । यस्ता कारणले म पनि कुनै फिल्ममा हराएको हुन सक्छु,’ उनले थपे ।

राम्रा फिल्म दर्शक सापेक्ष हुने गिरीको तर्क छ । ‘सबैलाई एउटै कुरा राम्रो नलाग्न सक्छ । दर्शकको हुर्काइ, बुझाइमा भर पर्छ । राम्रोको मापदण्ड व्यावसायिक हो कि कलात्मकता हो ?’ उनले प्रश्न गरे ।

आफूले भन्न खोजेको कथा इमान्दारिताका साथ भन्नुपर्ने र हेर्नेले पनि सबै फिल्म एउटै चस्माले हेर्न नहुनेमा गिरीको जोड छ । फिल्म चल्ने कुरा निर्माताभन्दा दर्शकमै निर्भर हुने थापाको बुझाइ छ ।

‘एक-दुई शो चले पनि झुक्काएको हो भने दर्शकले थाहा पाइहाल्नुहुन्छ । हामी नै एकजुट हुन जरुरी छ । आन्तरिक रुपमा एकअर्काको फिल्म हेरेर प्रतिक्रिया दिने सही मूल्यांकन गरेको देखिंदैन,’ उनले भनिन् ।

नेपाली फिल्मले दर्शकलाई नयाँ स्वाद पस्किन नसक्नुमा व्यावसायिक बोझ प्रमुख कारण रहेको गिरीले बताए । ‘निर्माताले सुरुमा लगानी सुरक्षित होस् भन्ने चाहन्छन् । हाम्रो बजार सानो छ । अलिकति तराई गयो दर्शक कम छन् । माथि गए हिमाली क्षेत्र आउँछ । सीमित ठाउँमा सीमित दर्शक आउँछन्,’ उनले भने ।

कला क्षेत्रलाई गर्ने प्रेमका कारण अहिलेसम्म फिल्मसँग जोडिएको थापाको भनाइ छ । ‘सिनेमा जति अभिनय गरियो, यसलाई कसरी निरन्तरता दिन सकिन्छ ? आफू पनि रहौं, यो क्षेत्रलाई अगाडि पनि बढाऔं भन्ने सोच्दै जाँदा समयले अनुभवले निर्देशनमा आएँ,’ उनले स्मरण गरिन् ।

उनले भनिन्, ‘ए मेरो हजुर व्यावसायिक रुपमा राम्रो हुँदै गर्दा एक भागवद् गीता बनाउने प्रयास गरें । निर्माता खसेपछि उठ्न समय लाग्छ । म नमरुन्जेल यही क्षेत्रमा रहन चाहन्छु । त्यसकै कारण पैसा र समय लगानी गरिरहेकी छु ।’

आगामी पुस्ताका लागि फिल्म मेकिङको सहज वातावरण बनाउनुपर्नेमा समेत उनले जोड दिइन् । निर्देशक गुरुङले कमजोरी पत्ता लगाउँदै जाने र निर्देशकले दर्शकले खोजिराखेको जस्तै फिल्ममात्रै नबनाएर नयाँ स्वाद पस्किने कोसिस गर्नुपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?