+
+

आप्रवासीले अमेरिकालाई विषाक्त बनाउँछन् : ट्रम्प

अनलाइनखबर अनलाइनखबर
२०८० चैत ६ गते १७:३८

सन् २०२४ को राष्ट्रपतीय निर्वाचनका उम्मेदवार डोनाल्ड ट्रम्पले आप्रवासी विरुद्ध आक्रामक अभिव्यक्ति दिएका छन् । फक्स न्युजसँगको अन्तर्वार्तामा उनले आप्रवासीले अमेरिकालाई विषाक्त बनाउने अभिव्यक्ति दिएका हुन् । आप्रवासीहरु मुलुकका लागि निकै घातक रहेको उनको दाबी छ ।

आप्रवासीबारे उनको अभिव्यक्ति उद्धृत गर्दै न्यूयोर्क टाइम्सले लेखेको छ– ‘उनीहरुले मुलुकलाई नै विषाक्त बनाउनेछन् । मुलुक उनीहरुका कारण अप्ठ्यारोमा पर्नेछ ।’

अन्तर्वार्ताकार हावर्ड कर्जले कार्यक्रममा ट्रम्पलाई हिटलर र मुसोलिनीको भाषा बोलिरहनुभएको छ, किन यस्ता विषाक्त शब्दावलीको प्रयोग गरिरहनुभएको हो ? भनेर प्रतिप्रश्न गर्छन् ।  त्यसको जवाफमा ट्रम्पले भनेका छन्, ‘किनभने मुलुक उनीहरुले विषाक्त बनाएका छन् ।’

दक्षिणी सीमाबाट आउने आप्रवासीहरु आपराधिक पृष्ठभूमि र मानसिक समस्यायुक्त रहेको ट्रम्पले आरोप लगाएका छन् । उनीहरु जेल तथा मानसिक सुधार केन्द्रबाट भागेर आएको जिकिर उनको छ । यद्यपि प्राप्त प्रमाणहरुमा ट्रम्पले दावा  गरेझैं कुनै आप्रवासी नरहेको फेला परेको न्यूयोर्क टाइम्सले उल्लेख गरेको छ ।

सीमा क्षेत्रका अधिकारीहरुका अनुसार हिंसा तथा गरिबीका कारण उनीहरु अमेरिका छिर्ने प्रयत्नमा रहेको बताएका छन् । तथ्यांकले पनि आप्रवासीहरुका कारण हुने आपराधिक गतिविधिमा कमी आएको देखाएको न्यूयोर्क टाइम्समा उल्लेख छ ।

आपराधिक पृष्ठभूमि तथा मानसिक अवस्था खलबलिएकाहरुलाई नियोजित रुपमा अमेरिका छोडिएको  ट्रम्पले जिकिर गरेका छन् । ‘आप्रवासीबारे हामी राम्रोसँग कुरा गर्न सक्छौं । यद्यपि मानसिक अवस्था खलबलिएका आपराधिक कृत्य गरेर जेल भुक्तानी गरेका र आपराधिक मनोवृत्तिका आप्रवासीहरुलाई अमेरिका भित्र्याइँदैछ’, उनले भने ।

आप्रवासीको बहानामा आतंककारी घुसाइएको अभिव्यक्ति समेत उनले दिएका छन् । ‘दक्षिणी क्षेत्रबाट छिर्नेहरु उच्च आपराधिक मनोवृत्तिका छन् । मानसिक स्वास्थ्य सुधारका संस्था र जेल रित्ताएर अमेरिकामा उनीहरुलाई ल्याइँदैछ । यो क्रम बढ्ने हो भने अमेरिकामा अहिलेसम्मकै ठूलो संख्यामा आतंककारी भित्रनेछन् जुन हामीले यसअघि कहिल्यै देखेका थिएनौं ।’

अमेरिकामा मुलुकलाई आवश्यक नै नभएका लाखौं मानिस भित्रिएको ट्रम्पको भनाइ छ । ट्रम्पले विश्व शान्तिको पक्षमा रहेकाले इजरायलले तत्काल युद्ध अन्त्य गर्नुपर्ने समेत बताएका छन् ।

‘मध्यपूर्व शान्तिको पक्षमा छ । यो युद्ध तत्कालै अन्त्य हुनैपर्छ । विश्व शान्तिको पक्षमा छ हामीलाई शान्ति चाहिएको छ’, ट्रम्पले भनेका छन् ।

आफू राष्ट्रपति भएको भए यो किसिमको युद्ध नै नहुने जिकिर उनले गरेका छन् । अक्टोबर ७ मा हमासले इजरायलमा हमला गरेपछि पहिलो पटक त्यस मामिलाबारे ट्रम्प बोलेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?